ढाका,सिन्ह्वा। एसियाली विकास बैंक (एडिबी) ले बंगलादेशका तीन विश्वविद्यालयमा कम्प्युटर विज्ञान, सफ्टवेयर इञ्जिनीयरिङ र सूचना प्रविधि (आइटी) कार्यक्रम सुधारका लागि १० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ।
‘चौथो औद्योगिक क्रान्तिको प्रविधि अवलम्बनलाई गति दिन र डिजिटल बंगलादेशको परिकल्पनालाई साकार पार्न उच्च शिक्षामा सफ्टवेयर इन्जिनियरिङ कार्यक्रमलाई माथि उकास्नु समयको माग हो। यो परियोजनाले बङ्गलादेशको आईटी उद्योगलाई अगाडि बढाउन मद्दत गर्न सक्ने अधिक सक्षम र प्रविधि–प्रेमी स्नातक र उद्यमीहरू उत्पादन गर्न मद्दत गर्नेछ,’ एडिबीका सामाजिक क्षेत्रका अर्थशास्त्री रयोतारो हयाशीलाई उद्धृत गर्दै शुक्रबार जारी विज्ञप्तिमा छ।
परियोजनाले बंगलादेशको अग्रणी सरकारी विश्वविद्यालय बंगलादेश युनिभर्सिटी अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी, ढाका विश्वविद्यालय र जशोर युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीको कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ, सफ्टवेयर इञ्जिनियरिङ र सूचना प्रविधि कार्यक्रमको उन्नयन गर्नेछ।
यी कार्यक्रमहरूले मिश्रित शिक्षण प्रविधिहरू अपनाउनेछन् र कृतिम बौद्धिकता, यान्त्रिकता र इन्टरनेटबाट जोडिएका सबै ज्ञानजस्ता नवीनतम प्रविधिहरू एकीकृत गर्नेछन्। यी कार्यक्रमले विद्यार्थीले अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्ने अद्यावधिक पाठ्यक्रमहरू प्राप्त गर्न सुनिश्चित गर्न अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नेछन्।
एडिबीले तीनै विश्वविद्यालयमा आधुनिक कक्षाकोठा र प्रयोगशाला स्थापना, सहकार्य र स्टार्ट–अप स्पेस र सहायक सुविधाको स्थापनामा सहयोग गर्ने जनाएको छ।
यी सुविधाहरूमा जलवायु र प्रकोप प्रतिरोधी नमुना, ऊर्जा र पानी बचत सुविधा समावेश हुनेछन् र महिला–मैत्री सुविधा र सेवा समावेश हुनेछन्।