काठमाडौं। व्यापारिक घराना दुगड ग्रुपको भगिनी कम्पनी दुगड पावर प्रालि र भारतको टाटा पावर नवीकरणीय उर्जा लिमिटेड (टिटिआरइएल) बीच नवीकरणीय ऊर्जा विकासमा सहकार्य गर्ने सहमति भएको छ।
नेपालमा विकास भइरहेको नवीकरणीय ऊर्जा विकासमा टिटिआरइएलको रणनैतिक प्रवेशलाई यो सहमतिले बढावा दिने र दिगो विकासमा नेपालले चालेको कदमलाई मात्रात्मकरूपमा बढाउने आधार तयार गर्ने दुगड ग्रुपले जनाएको छ।
टिटिआरइएल भारतका पावर कम्पनीमध्ये सबैभन्दा ठूलो टाटा पावरको भगिनी कम्पनी हो। दुई कम्पनीबीचको एकताले दुगड पावरलाई नेपालमा सुरुदेखि अन्त्यसम्म दिगो ऊर्जा उत्पादनमा कोसेढुंगा बन्न मद्दत गर्ने जनाइएको छ।
दुगडका अनुसार यो साझेदारी ग्रिड ऊर्जा समाधानको सौर्य प्रविधि रूपान्तरणका लागि हो। यो सहमति नेपालमा आवश्यक विविध प्रकारका ऊर्जा आवश्यकता समाधानका लागि १ किलोवाटदेखि मेगावाटसम्मको हो। सेल्स तथा मोडुल्स, इन्जिनियरिङ, खरिद र निर्माणलगायत नेपालभित्र हुने कार्य सञ्चालन र मर्मतसुधारमा टिटिआरइएलले प्रदान गर्ने सेवाको विविधिकरणका लागि नयाँ ढोका खोल्ने छ।
‘दुगड पावरसँगको यो साझेदारी नेपालको उर्जा क्षेत्रको इन्जिनियरिङलाई पुनर्परिभाषित गर्ने रणनैतिक एकता हो। जब हामी नेपालको ऊर्जाको सम्भाव्य बजार प्रवेश गर्छौं, तब एउटा परिवर्तनशील प्रभाव रहोस् भन्ने चाहन्छौं,’ टाटा पावर नवीकरणीय ऊर्जा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष खन्नाले भने, ‘दुवै कम्पनीसँग रहेका स्रोत र विज्ञताको एकताले यस क्षेत्रमा दिगो ऊर्जा खपतमा रहेको प्रणालीमा नयाँ परिस्थिति सिर्जना गर्ने छ।’
त्यसैगरी दुगड पावरका व्यवस्थापकीय निर्देशक अभिषेक दुगडले टाटा पावर नवीकरणीय ऊर्जा लिमिटेडसँगको सहकार्यले नेपालको उर्जा क्षेत्रको आवश्यकतालाई दीर्घकालीन, आत्मनिर्भर र नवीकरणीय बनाउने रणनैतिक एकता भएको बताए।
‘आर्थिक विषयमा हाम्रा साझा सरोकार पनि छन्। नेपालका हरेक कुनामा स्वच्छ ऊर्जा पुर्याउने कुरामा हामी प्रतिबद्ध छौं,’ दुगडले भने, ‘नेपालको दिगो ऊर्जा भविष्यलाई थप मद्दत गर्ने हाम्रो प्रतिबद्धतालाई उजागर गर्ने दस्तावेज यो साझेदारी हो।’