काठमाडौं। ह्वावे, आसियान फाउन्डेसन र दक्षिणपूर्व एसियाका शिक्षामन्त्रीहरूको संगठन (सिमइयो) ले 'सिड्स फर द फ्युचर समिट–२०२३' आयोजना गरेको छ।
सिमइयोले डिजिटल क्षेत्रलाई सुधार गर्ने लक्ष्य साथ सिड्स फर द फ्युचर समिट–२०२३ आयोजना गरेको हो। यसमा नेपालका चार विजेतासहित १९ देशका कूल ९१ जना ‘सिड्स फर द फ्युचर समिट २०२३’ मा सहभागी छन्।
समिटमा सूचना प्रविधि र सांस्कृतिक आदानप्रदान कार्यक्रम ह्वावेको विश्वस्तरीय अनुसन्धान तथा विकास केन्द्र तथा मुख्यालय भ्रमण र परम्परागत तथा आधुनिक चीनको अनुभव समावेश गरिएको छ।
समिटमा ह्वावे र अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु)ले आइसिटी नीति र नियमन, संयुक्त अनुसन्धान, समावेशी पूर्वाधार, डिजिटल क्षमतासहित एसिया–प्रशान्तभरि डिजिटल सहकार्यका ६ वटा प्रमुख क्षेत्रहरूमा केन्द्रित रहेर संयुक्त साझा घोषणा तयार गरेका छन्।
समिटमा विषयवस्तुबारे स्पष्ट पार्दै ह्वावे एशिया प्यासिफिकका अध्यक्ष सिमोन लिनले भने, ‘ह्वावेले भविष्यको शिखर सम्मेलनको लागि एसिया प्यासिफिक सिडको आयोजना गरेको यो तेस्रो वर्ष हो। हरेक वर्ष हामी यसमा केही नयाँ कार्यक्रम राख्ने र नयाँ साझेदार हामीसँग सामेल गर्ने काम गर्छौं। तर, हाम्रा साझेदारी, प्रतिबद्धता र युवा सशक्तिकरणक भने अपरिवर्तित छन्।’
समिट चीनको सेन्जेन र डोङगुआनमा ह्वावेको क्याम्पसमा भएको थियो। जहाँ सहभागीहरुले सूचना सिद्धान्त, डिजिटल शक्ति, अटोमोबाइल प्रविधि र साइबर सुरक्षाजस्ता क्षेत्रहरूमा अनुभव बटुलेका छन्। समिटमा दक्षिण कोरिया, जापान, बंगलादेश, नेपाल, श्रीलंका, माल्दिभ्स, फिजी, सोलोमन टापुलगायतका देशहरूबाट सहभागी विद्यार्थीलाई ह्वावे, आसियान फाउन्डेसन र आइटियुद्वारा सामूहिकरूपमा चुनिएको थियो।
कार्यक्रममा आसियान फाउन्डेसनका कार्यकारी निर्देशक डा. पिटी श्रीसंगनमको नेतृत्वमा प्यानल छलफल भएको थियो। यसमा नेसनल युनिभर्सिटी अफ सिंगापुरका विज्ञहरू, ह्वावे र ‘सिड्स फर द फ्युचर’ का प्रतिनिधिहरू सम्मिलित प्यानलले डिजिटल सीप प्रयोग गरेर यस क्षेत्रको भविष्यका नेतृत्वकर्ताको डिजिटल कौशल उपयोग गर्दै क्षमता अभिवृद्धि गर्ने र कौशल उपयोग गर्ने विधिबारे छलफल भएको थियो।