काठमाडौं। नेपालमा यतिखेर मुख्य पर्यटकीय सिजन सुरु भएको छ। मनसुन सकिएर पर्यटकीय सिजन सुरु हुनै लाग्दा पर्यटन क्षेत्रमा चहलपहल बाक्लिएको छ।
यस वर्ष गत जेठ ३१ गते प्रवेश गरेको मनसुन यही असोज १५ गते सकिँदैछ। मनसुनपछि पर्यटकीय गतिविधि बढ्नुका साथै दसैं, तिहार, छठलगायत महत्वपूर्ण पर्वले पर्यटन क्षेत्रमा बेग्लै रौनक ल्याउने गर्छ।
अहिले पदयात्राका लागि उपयुक्त मौसम पनि हो। मनास्लुलगायत हिमाल तथा चुली आरोहणमा स्वदेशी तथा विदेशी आरोही गन्तव्यमा लम्किरहेका छन्। पदयात्राका लागि विभिन्न मुलुकबाट आउने विदेशी पर्यटकको संख्या विस्तारै बाक्लिदै छ।
प्रमुख पर्यटकीय क्षेत्र काठमाडौं ठमेल, पोखरा, चितवनलगायत गन्तव्यमा आन्तरिक तथा वाह्य पर्यटक गन्तव्यमा निस्किन चाँजोपाँजो मिलाइरहेका छन्। यस सिजनमा मुख्यगरी पदयात्री पर्यटकका अत्यावश्यक सामग्रीको व्यापार बढी हुने व्यापारीहरू बताउँछन्। पदयात्रामा चाहिने सामग्री र उपकरण खरिद गरी आवश्यक बन्दोबस्ती गर्नेको भीड लाग्ने गर्छ।
साहसिक पर्यटनलाई लक्षित गर्दै आवश्यक पोसाक, उपकरणलगायत सामग्री एकै थलोबाट उपलब्ध गराउने उद्देश्यले नेपालमा चिनियाँ ब्रान्ड ‘होम्तो’ आउटडोर स्पोर्टस काठमाडौंमा सुरु भएको छ ।
नयाँसडकस्थित नेपा कम्प्लेक्समा आज शुभारम्भ गरिएको उक्त ब्रान्डको नेपाली अल्ट्रा धाविका मीरा राई, तेक्वान्दो खेलाडी आयशा शाक्य र राष्ट्रिय फुटबल टोलीका सदस्य बिकेस कुथुले उद्घाटन गरे।
चर्चित ‘केलमी’ नेपालमा भित्र्याएको आधिकारिक विक्रेता ‘कुमारी इङ’ प्रालिले होम्तो ब्रान्ड भित्र्याएको हो। कुमारी इङमार्फत जाल्पा इन्टरनेसनल विजनेस ग्रुपले उक्त ब्रान्डको व्यवस्थापन गर्नेछ। विश्वका ४० भन्दा बढी मुलुकमा आफ्नो उपस्थिति जनाइसकेको होम्तोले नेपालमा पनि सेवा विस्तार गरेको हो।
दरबारमार्ग ठमेल, पोखरालगायत स्थानमा ब्रान्डको शाखा विस्तार गरिने योजना रहेको होम्तो नेपालका अध्यक्ष सुदर्शन न्यौपानेले बताए। उचित मूल्यमा गुणस्तरीय अन्तर्राष्ट्रिय ब्रान्ड नेपाली उपभोक्तालाई पुर्याउने उद्देश्यले नेपालमा होम्तो भित्र्याइएको उनले बताए। उनका अनुसार कम्पनीले विशेष गरेर पदयात्राका लागि आवश्यक जुत्ता, कपडा, बोतल, पाललगायत सामग्री उत्पादन गर्ने गरेको छ।