जानकी। जुम्ला कनकासुन्दरी गाउँपालिका–६ सातबडाकी ४९ वर्षीया कर्मकन्या बुढा क्षेत्रीलाई यतिबेला आफ्नै बारीमा फलेको स्याउ बिक्री गर्न भ्याइनभ्याइ छ।
गत भदौ २६ देखि उनलाई नेपालगन्जमा ल्याइएको स्याउ बिक्री गर्न भ्याइनभ्याइ भएको हो। किलोको १ सय १० देखि १ सय ४० रूपैयाँसम्म जुम्लाको हावापानीमा फलेको स्याउ खान पाइने भन्दै स्याउ किन्न ग्राहक बिहानैदेखि नेपालगञ्जको धम्बौझीमा भेटिन्छन्।
बिहान मर्निङ वाक गर्नेदेखि मन्दिर जानेले समेत प्राङ्गारिक स्याउ किन्ने भएकाले कर्मकन्या नेपालगञ्ज धम्बौझी चोकमा कार्टुनमा स्याउ बिक्री गर्न बस्छन्। बिहानदेखि बेलुकासम्म स्याउ बिक्री हुने भएकाले आफूले खाना पनि ग्राहक नआएका बखत मेसो मिलाएर खाने गरेको उनी बताउँछिन्।
‘बिहानदेखि बेलुकासम्मै स्याउ बिक्री गर्न बस्नुपर्छ खाना खाने समयको टुंगो हुँदैन। ग्राहक नआएको मौका छोपेर खाना खाने गर्छु,’ कर्मकन्या भन्छिन्। असोजको दोस्रो सातासम्म स्याउ बिक्री गरेर जुम्ला फर्कने योजना रहेको बताएकी उनले अझै ४० कार्टुन स्याउ जुम्लाबाट मगाएकी छन्।
अहिलेसम्म २० कार्टनु स्याउ बिक्री गरी सकेकी कर्मकन्या स्याउ बिक्री गर्न बाँकी नै भएकाले नाफा कति भयो भन्ने हिसाब नगरेको बताउँछिन्। ‘स्याउ बिक्री गर्न अझै बाँकी नै भएकाले अहिलेसम्म कति नाफा भयो भनेर हिसाब गरेको छैन। यता स्याउ झार्नका लागि जुम्लामा स्याउ टिप्न लगाएको छु। नाफा घाटाको हिसाब असोज दोस्रो साता गर्ने हो,” उनको भनाइ छ।
कर्मकन्याजस्तै सोही गाउँपालिका–६ गोरुचौरकी राजकन्या रोका पनि जुम्लाबाट स्याउ बिक्री गर्न नेपालगन्ज झरेकी हुन्। उनले भदौको २५ गते ३ सय ४३ पेटी स्याउ लिएर नेपालगञ्ज आएकी हुन्। हालसम्म ३ सय ३ पेटी स्याउ बिक्री गरी सकेको राजकन्या बताउँछिन्।
एउटा पेटीमा २० किलो स्याउ हुने भएकाले उनले १२ दिनमा लगभग ६० क्विन्टल स्याउ बिक्री गरिसकेकी छन्। अझै ४० पेटी स्याउ बिक्री गर्न बाँकी नै रहेको र थप २० देखि २२ पेटी स्याउ जुम्लाबाट मगाउने योजना जानकारी दिँदै राजकन्या स्याउ बिक्री गर्न बाँकी भएकाले नाफाको हिसाब नगरेको बताउँछिन्।
यो समयमा नेपालगन्जको मुख्य चोक धम्बौझी, कारकाँदो, सेतु विक, पुप्पलाल, गणेशमान, बसपार्कलगायत स्थानमा जुम्लाबाट स्याउ लिएर महिला व्यापारी आफैँ बिक्री गर्न आएका हुन्। जाजरकोटका महिला व्यापारीले पनि जुम्लाको खरिद गरेर बिक्री गरिरहेका छन्।