चितवन। चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जंगल नजिकै घर भएकी कुमारी विकको दैनिकी आजभोलि पूर्व–पश्चिम राजमार्गको किनारामा बित्ने गर्छ। टिकौली जंगल कटेपछि राजमार्ग छेउमा बसेर निउरोलगायत जंगली तरकारी बिक्री गर्दै आएकी उनले तीन वर्षदेखि यही पेसा अंगालेकी छन्।
विकसँगै अन्य आठ–दसजना राजमार्ग छेउमा लस्करै बसेर दैनिक निउरो, सालको पात, बेतलौरीका टुसा बिक्रीका लागि ग्राहक कुरिरहेका देख्न सकिन्छ। २०६१ मा गोरखाबाट चितवन झरेकी विक सुरुआती समयमा घर तथा अन्य निर्माण कार्यमा ज्यामीको काम गर्दै आएकी थिइन्। त्यस काममा समयमा पैसा नपाउने र स्वास्थ्यमा पनि समस्या आएपछि उनले निउरो बिक्री गर्न थालेकी हुन्। ‘दैनिकी चलाउनकै लागि भए पनि निउरो बेच्नु परेको छ,’ उनले भनिन्।
दैनिक १५ देखि ३० मुट्ठासम्म निउरो बिक्री हुने बताउँदै विकले यही कमाईले घर र छोरालाई पढाउने खर्च पुगेको बताइन्। ‘घामपानी नभनी जंगल गएर निउरो टिपेर ल्याउनु पर्छ, दुःख छ,’ उनले भनिन्, ‘दुःखै गरेर भए पनि आफ्नो दैनिकी सजहरूपमा चलेको छ।’
५० वर्ष पुगेकी विकले जंगलमा निउरो टिप्न जाँदा कहिलेकाहीँ जंगली जनावरसँगको जम्काभेटमा अब घर फर्किइन्न कि जस्तो अनुभूति हुने गरेको बताइन्। ‘अगाडि नै गैँडा भेटिँदा त मुटुले ठाम छोड्छ, आजसम्म त बाँचिरहेकै छु,’ उनले भनिन्।
मासिक ३ सय रुपैयाँको टिकट काटेर सामुदायिक वनमा निउरो टिप्न जानुपर्ने विकले बताइन्। उनले भनिन्, ‘ज्यानको बाजी थापेर निउरो टिपेर बेच्न बस्यो तर किन्नेले मूल्य घटाउँछन्।’ १ सय रुपैयाँको निउरो किन्दा १० रुपैयाँसम्म भए पनि घटाएर लैजाने गरेको उनको गुनासो छ।
रत्ननगरकी लक्ष्मी पुलामी मगर अहिले ६० वर्ष पुगिसकेकी छन्। उनको दैनिकी पनि अहिले जंगली तरकारी बिक्रीमै जाने गरेको छ। पहिला–पहिला हाटबजारमा तरकारी तथा फलफूल बेच्दै आएकी मगर कोरोनासँगै हाटबजारमा तरकारी बिक्री गर्न नपाएपछि सडक छेउमा बसेर व्यापार गर्छिन्।
‘अहिले उमेर ढल्किँदै गयो। अरु काम गर्न सकिँदैन। दिनभरि सडक छेउमा निउरो, सालको पात र टुसा बेच्छु,’ उनले भनिन्, ‘सके आफैँ जंगलमा टिप्न जान्छु, अरूले टिपेर ल्याएको पनि बिक्री गर्ने गरेको छु।’ आफैँले टिपेर ल्याउन सके फाइदा हुने भन्दै अरूसँग किनेर बेच्दा खासै बचत नहुने उनको भनाइ थियो।
‘चिल्ला गाडीमा गुडेर आउने ग्राहकले महँगा होटेलमा खाँदा पैसा थपेर दिन्छन भन्ने सुन्छु। हामी ताजा तरकारी बेच्नेसँग १० रुपैयाँमा चित्त नबुझे फालेर हिँड्छन्,’ उनले गुनासो पोखिन्। सरदरमा दैनिक १ हजारदेखि १ हजार २ सय रुपेयाँसम्म कमाउँदै आएकी मगरले साँझ ७ः३० बजेसम्म सडक पेटीमा नै बसेर निउरो बेच्ने गरेको सुनाइन्।
भरतपुर महानगरपालिका–८ का ताराबहादुर तामाङ पनि टिकौली सडक छेउमा निउरो बिक्री गर्दै आएका छन्। विगत ६ महिना अघिदेखि यो पेसामा लागेका तामाङ आफैँ निउरो, टुसा र सालको पात टिपेर बिक्रीका लागि ल्याउँछन्। घरपरिवार चलाउनकै लागि यो व्यवसायमा लाग्नु परेको उनले बताए। उनले भने, ‘काम भनेको सानो ठूलो केही हुँदैन। पेट पाल्न काम त गर्नै पर्यो।’
पूर्व–पश्चिम राजमार्गको टिकौली जङ्गल चितवन राष्ट्रिय निकुञ्ज बरण्डाभार क्षेत्रमा पर्दछ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बरण्डाभार जंगल क्षेत्रमा पर्ने सडकमा बसेर निउरो बिक्री गर्न नपाइने बताए। उनले जंगल कटेपछिको सडकमा बिक्री गर्दा निकुञ्जले कुनै अवरोध नगरेको बताए। अहिले निकुञ्जमा नभई सामुदायिक वनमा मात्रै निउरो टिप्नका लागि अनुमति दिइने गरेको उनको भनाइ थियो।