काठमाडौं। मिलेनियम च्यालेन्ज एकाउन्ट विकास समिति (एमसिए नेपाल) ले ४ सय केभी प्रसारण लाइन निर्माणमा कम लागत प्रस्ताव गर्ने दुई भारतीय कम्पनीहरुसँग ‘निगोसिएसन’ (वार्ता) गर्ने भएको छ।
एमसिएले कम दर प्रस्तावक ट्रान्सरेल लाइटिङ लिमिटेड र टाटा प्रोजेक्ट्स लिमिटेडसँग वार्ता गरेर मूल्य घटाउन लागेको हो। पहिलो लटमा ट्रान्सरेलले सबैभन्दा कम रकम १३ करोड १५ लाख डलर प्रस्ताव गरेको छ।
त्यस्तै दोस्रो र तेस्रो लटका लागि भने टाटा प्रोजेक्ट्सले सबैभन्दा कम मूल्य प्रस्ताव गरेको छ। टाटाले दोस्रो र तेस्रो लटका लागि क्रमशः १० करोड ५४ लाख र १२ करोड ९० लाख डलर प्रस्ताव गरेको एमसिए नेपालले जनाएको छ।
अमेरिकी सहयोग परियोजना (एमसिसी) ले नेपालमा ३ सय १५ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्न लागेको छ। प्रसारण लाइन बनाउन आह्वान गरिएको ठेक्कामा परियोजनाले अनुमान गरेभन्दा निर्माण कम्पनीले ६६ प्रतिशत बढी रकम प्रस्ताव गरेपछि ठेक्का प्रक्रियामा प्रश्न उठेको छ।
रि–टेन्डर गर्ने वा निर्माण कम्पनीसँग वार्ता गर्ने भन्ने विषय उठिरहेको छ। यसैबीच रि–टेन्डर गर्दा रि–डिजाइन गर्नुपर्ने तथा समय पनि ६ महिनादेखि एक वर्ष बढी लाग्ने र उक्त समयसम्म बजार मूल्य बढेर लागत रकम अझ बढ्ने देखिएपछि सिइओ खड्गबहादुर विष्टले वार्ता गर्न चासो देखाएको एमसिए स्रोतको भनाइ छ।
पूर्वतयारीको काम पूरा नगरी र प्रसारण लाइनको बोलपत्र नखोली परियोजनालाई ‘इन्ट्री इन्टु फोर्स’ (इआइएफ/दिनगन्ती सुरु) को चरणमा पुर्याएर सिइओ विष्टले आफैंलाई चुनौती थपिसकेका छन्। साथै, निर्माण कम्पनीले पनि परियोजनाले आँकलन गरेभन्दा ६६ प्रतिशत बढी बजेट प्रस्ताव गरेपछि झनै चुनौती बढेको हो।
योसँग सिइओ विष्टको आलोचना हुन थालेपछि उनले जसरी हुन्छ, अहिले सबैभन्दा कम दर प्रस्ताव गरेका कम्पनीलाई नै बजेट घटाउन अनुरोध गरेर जिम्मेवारी दिन छलफल तयारी गरेका स्रोतले क्यापिटल नेपाललाई बतायो।
एमसिएले तीन लटमा प्रसारण लाइन बनाउन २२ करोड ६ लाख अमेरिकी डलर खर्च हुने अनुमान थियो। तर, तीनवटै लटमा सबैभन्दा कम प्रस्ताव भएको रकम जोड्दा ३६ करोड ५९ लाख ४८ हजार १ सय १६ डलर हुन्छ। उक्त बजेट अनुमान गरिएभन्दा १४ करोड ५३ लाख डलल अर्थात ६६ प्रतिशत बढी हो।
प्रसारण लाइनका लागि ६ भारतीय कम्पनीले चासो देखाए पनि एउटा अयोग्य भएर ५ को आर्थिक एवं प्रविधिक मूल्यांकन गरिएको एमसिएले जनाएको छ।
यसैबीच एमसिएले लट संख्या घटाउने विषयमा पनि छलफल गरिरहेको पाइएको छ। परियोजनाले तीन लटमा ४०० केभी प्रसारण लाइन बनाउन अन्तर्राष्ट्रिय ठेक्का (ग्लोबल टेन्डर) आह्वान गरेको थियो। तर, छुट्टाछुट्टै ठेक्का सम्झौता गर्दा बजेट व्यवस्थापन गर्न समस्या भएपछि लट संख्या घटाएर दुई लटमात्रै बनाउने विषयमा पछि छलफल सुरु भएको स्रोतले जानकारी दियो।
एमसिसीले डकुमेन्टेसन राम्रो नगरी तथा सुपरभिजन इन्जिनियर नराखी ठेक्का प्रक्रियामा जाँदा पनि अनुमान गरेभन्दा निर्माण कम्पनीले प्रस्ताव गरेको लागत रकममा धेरै फरक परेको हो।
स्रोतका अनुसार एमसिए नेपालले टेन्डर आह्वान गर्दा प्रसारण लाइनको टावर, तारलगायत उपकरण अमेरिकी मापदण्डको हुनुपर्ने र अनुमानित लागत विद्युत प्राधिकरणका आधारमा राख्दा लागत एक्कासि बढेको हो।