काठमाडौं। प्रक्रिया पूरा गरेका १० लाखभन्दा बढीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नपाएका बेला छपाइ भने एक महिनादेखि हुन सकेको छैन।
स्मार्ट कार्ड सकिँदै गएपछि यातायात व्यवस्था विभागले एक महिनाअघि आपतकालीनबाहेक अन्य सबै लाइसेन्स छपाइ बन्द गरेको थियो।
हाल विदेशमा पढ्न जाने विद्यार्थी, वैदेशिक रोजगारीमा जान लागेका श्रमिक, मिसनमा जाने सेना/प्रहरी लगायत अत्यावश्यकलाई मात्र लाइसेन्स छपाइ गरिएको विभागका प्रवक्ता इश्वरीदत्त पनेरुले जानकारी दिए।
यस्ता लाइसेन्स दैनिक ३ सयदेखि ४ सयथान छपाइ हुने गरेको छ। नयाँ कार्ड आइपुग्न अझै डेढ महिना लाग्ने पनेरुले जानकारी दिए।
दैनिक ट्रायल पास गर्ने र नवीकरणका लागि दैनिक करिब ७ हजार लाइसेन्सको माग छ। नयाँ कार्ड आउन अझै डेढ महिना लाग्ने उनले बताए।
‘हामीले ठेक्का लगाएको करिब १२ लाखमध्ये पहिलो लटको ६ लाख लाइसेन्स डेढ महिनाभित्र आउँदै छ। त्यसपछि छपाइ सुचारु हुन्छ,’ उनले भने।
विभागले २०७९ माघमा १२ लाखथान कार्डको ठेक्का लगाएको थियो। सम्झौताअनुसार तीन महिनामा कार्ड आपूर्ति गर्नुपर्नेमा ७ महिना पुग्दासम्म ठेकेदारले कार्ड उपलब्ध गराएको छैन।
लाइसेन्सको ‘पर्सनलाइज’ गर्नुपर्ने भएकाले केही ढिलाइ भएको पनेरुले बताए। ‘कार्ड ल्याएरमात्रै हुँदैन। मेसिनलाई कार्ड चिनाउनुपर्छ। लाइसेन्सको प्रिन्टर भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्स (एमएसपी) को हो र अहिले कार्डको ठेक्का म्युहलबौयर आइडी सर्भिस ‘जिएमबिएच’ ले पाएको छ। भारतीय प्रिन्टरमा जर्मन कार्ड फिट गराउन पर्सनलाइज गर्नुपर्छ। त्यसको लागि केही ढिलाइ भएको हो,’ उनले भने।
प्रिन्टरको ठेक्का दसैंअघि आह्वान गरिने
लाइसेन्स छाप्न प्रिन्टरको ठेक्का दसैंअघि आह्वान गरिने भएको छ। लाइसेन्स छपाइमा भएको ढिलासुस्ती हटाउन विभागले विगतमा निकालेको तीनवटा ठेक्का लाग्न सकेको थिएन।
प्रिन्टर खरिदका लागि विभागले दुईपटक राष्ट्रियस्तरको बोलपत्र आह्वान गर्दा दुईपटक नै एउटा पनि आवेदन परेन। दुईपटक आह्वान गरिएको बोलपत्रमा कुनै पनि आवेदन नपरेपछि विभागले २०७९ चैत ८ मा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो।
यसमा चार कम्पनीको आवेदन परे पनि सबै आवेदन अस्वीकृत भएको थियो। दसैंअघिसम्म बोलपत्र अह्वानको तयारी भइरहेको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिए।