काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबार १० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र खुलाउने भएको छ।
केन्द्रीय बैंकले ५ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ञ’ बोलकबोल प्रक्रियाबाट निष्कासन गर्न लागेको हो।
उक्त ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा सर्वसाधारण नागरिकले यो विकास ऋणपत्र खरिद गर्न पाउनेछन्। यो ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनसमेत पाइने छ।
असोज ५ गते मध्याह्न साढे १२ बजेसम्म बोलकबोल हुने ऋणपत्र असोज ७ मा निष्कासन हुनेछ। ५ वर्ष अवधिको यो ऋणपत्रको साँवा भुक्तानी २०८५ असोज ७ गते हुनेछ।
बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ‘कट–अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम गरी ब्याजदर र ब्याजदरभन्दा तलका सबै बोलवालालाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइने छ।
घटीमा ५० हजार रुपैयाँ र बढीमा कूल निष्कासित रकमको सीमामा नबढाइ ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न पाइने राष्ट्र बैंकले जनाएको छ।
प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरूलाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात ८ अर्ब ५० करोड र १ अर्ब ५० करोड रुपैयाँ छुट्टयाइएको छ।
अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्टयाइएको रकमका लागि पूरा बोल प्राप्त नभए बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरूलाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ। ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमार्फत मात्र हुनेछ।