काठमाडौं। नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल (ब्रोकर) शुल्क यही साताभित्रै घटाउने भएको छ। ब्रोकरको तल्लो सीमा हटाएर माथिल्लो सीमामात्रै संशोधनको तयारी बोर्डले गरेको थियो। तर, बोर्डले माथिल्लो सीमा घटाएर तल्लो सीमा यथावत राख्न लागेको बोर्ड अध्यक्ष रमेशकुमार हमालले बताए।
बोर्डले ब्रोकर शुल्कलाई समयसान्दर्भिक बनाउने गरी पुनरावलोन गर्न अध्ययन कमिटी गठन गरेको थियो। कमिटीले सुझाव प्रतिवेदन बुझाइसकेको छ। उक्त कमिटीलगायत अन्य सरोकारवाला पक्षहरुले धितोपत्र दलालको तल्लो सीमा हटाउँदा कर छली हुने प्रवल सम्भावना औंल्याएको हुँदा बोर्ड आफ्नो निर्णयबाट पछि हटेको अध्यक्ष हमाल बताउँछन्।
‘धेरै छलफल तल्लो सीमा खुला गर्दा राजस्व छली हुन सक्ने भनिएपछि हामी त्यसमा सजक भएका छौं, तल्लो सीमा नहुँदा बाहिर एउटा देखाएर भित्र अर्को कारोबार गर्ने प्रवृत्ति मौलाउन सक्ने र राजस्व छली हुने जोखिम भएर पनि हामी पछि हटेका हौं’अध्यक्ष हमालले क्यापिटल नेपालसँग भने।
ग्राहक र सेबोनलाई थोरै शुल्क लिएको देखाएर व्यवसाय गर्ने ब्रोकरहरुले अन्य माध्यमबाट ग्राहकलाई यस्तो शुल्क असुल गर्ने तर, उक्त कारोबारमा परदर्शिता नहुँदा राजस्व छली हुन सक्ने भएर बोर्डले तल्लो सीमा यथावत राख्ने भएको उनको भनाई छ।
खुला प्रतिस्पर्धा ब्रोकर व्यवसायमा बोर्डले ल्याउन खोजेको हो। तर,अहिलेको अवस्थामा नेपालको माटो सुहाउँदो ब्रोकर शुल्क नीति र ब्रोकर व्यवसायमा तल्लो सीमा तत्काल हटाउँदा जोखिम आइपर्ने हुँदा सो पाटोबाट बोर्ड पछि हटेको अध्यक्ष हमालको भनाइ छ।
‘हामीले हरेक पक्षलाई हेरे नयाँ नीति बनाउँने वा पुरानोलाई संशोधन गर्नुपर्ने हुन्छ, राजस्व छली हुन सक्ने सम्भावना भए बोर्ड त्यो बाटो जाँदैन,’ उनले भने, ‘भोलीका दिनमा सञ्चालक समितिले राख्नुपर्छ भनेमा तल्लो सीमा हट्न सक्छ, बोर्डले ब्रोकर शुल्क सम्बन्धि नयाँ व्यवस्थाको मस्यौदा २÷४ दिनमै अर्थ मन्त्रालय पठाउँछ।’
अर्थ मन्त्रालयबाट स्वीकृत भएर आएमा बोर्डले यही साता नै ब्रोकर शुल्कको माथिल्लो सीमा हटाएर नयाँ शुल्क लागू गर्ने उनको भनाइ छ।
हाल ब्रोकर शूल्कको माथिल्लो सीमा ०.४० प्रतिशत र तल्लो सीमा ०.२७ प्रतिशत तोकिएको छ। अहिले सेयर ब्रोकरले लिने माथिल्लो र तल्लो सीमा नै निर्धारण गरिएको छ। बोर्डले २०७७ पुस १० गते ०.४ देखि ०.६ प्रतिशतसम्म रहेको ब्रोकर कमिसनलाई ०.२७ देखि ०.४ प्रतिशतसम्म शुल्क लाग्ने बनाएको थियो।
उक्त व्यवस्थाअनुसार हाल ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४ प्रतिशत ब्रोकर कमिसन लाग्छ। त्यस्तै ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत शुल्क लाग्छ। ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोडभन्दा बढी रकमको कारोबार गर्दा ०.२७ प्रतिशत ब्रोकर कमिसन लाग्छ।
शुल्क कति घटाउने एकिन भने सञ्चालक समितिले नै गर्छ। तर, समितिको सुझावअनुसार विद्यमान शुल्कमा ०.२० प्रतिशतसम्म घटाउन सकिने सुझाइएको छ। बोर्डले नयाँ ब्रोकर शुल्क ०.१० प्रतिशतदेखि ०.३५ प्रतिशतसम्म निर्धारण गर्ने तयारी गरेको हो।
बोर्ड सञ्चालक समितिले उक्त अंकमा हेरफेर नगरे अर्थ मन्त्रालयमा ब्रोकर शुल्क यही प्रस्ताव भएर जानेछ। मन्त्रालयबाट स्वीकृत भएर आउँदा आगामी दिनमा नेपालका धितोपत्र दलाल व्यवसायीहरुले न्यूनतम ०.१० प्रतिशतदेखि अधिकतम ०.३५ प्रतिशतसम्मले कमिशन लिन पाउँछन्।