काठमाडौं। नेपाल बिमा प्राधिकरणको आयोजनामा बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौंडामा ‘प्रदेश सरकार र बिमा’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशका दुर्गम स्थानमा रहेका पालिकाहरूमा बिमासम्बन्धी जनचेतना अभिवृद्धि र पहुँच विस्तारका लागि सहकार्यका साथ अघि बढ्न आग्रह गरे।
जम्कट्टेलले ग्रामीण क्षेत्रका नागरिकसम्म बिमाको पहुँच पुरयाउन र बिमा दाबी भुक्तानी प्रक्रियालाई सरल एवम् सहज बनाउन ध्यानाकर्षण गराए।
प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेश बिमा नीति निर्माणका साथै बिमासम्बन्धी जनचेतना अभिवृद्धिका लागि प्रदेश सरकारसँग सहकार्य गर्न प्राधिकरण तयार रहेको बताए।
अध्यक्ष सिलवालले प्रदेश सरकारले अनुदानको रकम घटाएर विपन्न बर्गको बिमा गर्नु उपयुक्त हुने सुझाव दिदै बिमाबाट विपन्न बर्गको आर्थिक रक्षावरण हनुका साथै गरीबी न्युनीकरणमा समेत योगदान पुग्ने उनको भनाइ छ।
कार्यक्रममा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बिमासम्बन्धी समग्र विषयमा प्रस्तुत गरेका थिए।
प्रदेश सरकारले नै लोपोन्मुख जातिको बिमा गर्नु उचित हुने, बिमा दाबी भुक्तानी प्रक्रिया सरल एवम् सहज हनुपर्ने, बिमा कम्पनीहरू गाउँ गाउँमा जानुपर्ने, बिमा कम्पनीले निर्जीवन बिमा खुशी भएर गर्ने तर बिमा दाबी दिँदा भने दुःख दिने प्रवृत्ति हटानुपर्ने उनको भनाइ थियो।