काठमाडौं। नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयरधितो कर्जामा १२ करोड रुपैयाँको सीमा हटाउने हल्ला चलेपछि सेयर बजारमा उछाल आएको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले १२ करोड रुपैयाँको सीमा हटाउने संकेत गरेका छन्। गत साता अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि १२ करोडको सीमालाई बढाएर १८ करोड रुपैयाँसम्म पुर्याउनुपर्ने अभिव्यक्ति दिएपछि लगानीकर्तामा उत्साह जाग्दा सेयर बजारमा हरियाली छाएको हो।
साताको अन्तिम दिन बिहीबार सेयर बजार ४४ अंक बढेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २ हजार २९.७८ अंकमा पुगेको छ।
आइतबार ४२.१४ अंकको उच्च गिरावट भएको नेप्से सोमबार र मंगलबार भने बढेको थियो । मंगलबार १९८४.४३ को विन्दुमा बन्द भएको नेप्से बिहीबार २.२३ प्रतिशतले बढेर बन्द भएको छ।
यस दिन जलविद्युत कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा नेप्से सूचक बढाउन सहयोग पुगेको हो। नेप्सेका सबै उपसूचकमा वृद्धि हुँदा हाइड्रोपावर उपसूचक ५.३१ प्रतिशतले बढेको छ। यस्तै वित्त कम्पनी उपसूचक ४.३८ प्रतिशत र विकास बैंक उपसूचक ३.७७ प्रतिशतले वृद्धि भएको छ।
बिहीबार भने ३ अर्ब २९ करोड रुपैयाँमाथिको कारोबार भएको छ। १ लाख १९ हजार ३५९ वटा कारोबारमा १ करोड १२ लाख ६४ हजार ३०९ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ३ अर्ब २९ करोड ३९ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।
बिहीबार सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर सर्वाधिक कारोबार भएको छ। सन नेपालको २० करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ। रिलायबल लाइफ इन्स्योरेन्सको १३ करोड ९७ लाख र शिवम् सिमेन्टको १० करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
बिहीबार नेप्सेमा कुल २३० सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये २१७ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ११ कम्पनीको गिरावट भएको छ। यस्तै २ कम्पनीको सेयरमूल्य भने स्थिर छ ।