काठमाडौं। सौरभ ग्रुपको जगदम्बा स्पिनिङ मिल्स लिमिटेडको धागो व्यापार बढेको छ। सन् २०२३ को ९ महिनामा उद्योगले पौने ३ अर्ब रुपैयाँको धागो व्यापार गरेको छ। जगदम्बाले भारत र टर्कीमा धागो निर्यात गरेर ९ महिनामा २ अर्ब ७८ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ।
२०२२ मा जगदम्बाले २ अर्ब ३२ करोड ८० लाख रुपैयाँको धागो व्यापार गरेको थियो। गत वर्षको भन्दा ९ महिनामा उद्योगको धागो व्यापार बढी देखिएको छ। २०२१ मा १ अर्ब ५६ करोड ४० लाख, २०२० मा १ अर्ब २७ करोड ६० लाख र २०१९ मा २ अर्ब १७ करोड २० लाख रुपैयाँको धागो व्यापार गरेको थियो।
पाँच वर्षको विवरण हेर्दा उद्योगको धागो व्यापार बढ्दै गएको देखिन्छ। जगदम्बाले पलिस्टर धागो, पोलिस्टर भिस्कोज मिश्रित धागो र एक्रिलिक धागो जस्ता फाइबरमा आधारित धागो उत्पादन गर्दछ।
उद्योगले कूल उत्पादनको ९२ प्रतिशत भारत र टर्कीमा निर्यात गर्दै आएको छ। उद्योगको आम्दानी निर्यातमा आधारित छ। यो वर्ष कूल आम्दानीको ९३.४ प्रतिशत र अघिल्लो वर्ष ९२.१ प्रतिशत आम्दानी निर्यातबाट भएको छ।
जगदम्बाले ३ अर्ब ८ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ।
२००५ मा स्थापना भएको जगदम्बा स्पिनिङ मिल्स २०२१ मा आएर पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएको हो। उद्योग रुपन्देहीको कर्मरियामा छ। उद्योगमा दुर्गाप्रसाद न्यौपानेको सबैभन्दा बढी ४० प्रतिशत सेयर छ। यस्तै विष्णुप्रसाद न्यौपानेको २२ र वैभव न्यौपानेको १६ प्रतिशत स्वामित्व छ। उद्योगको अध्यक्ष विष्णु न्यौपाने हुन्।
उद्योगका प्रमोटरहरूसँग उत्पादनमा २५ वर्षभन्दा बढी अनुभव छ। सौरभ समूहको सिमेन्ट र स्टिल जस्ता धेरै ठूला उद्योगहरूमा लगानी छ। समूहले लगानी विविधिकरण गरी चिया, धागो र सिंथेटिक बुनेका कपडाको उत्पादन गरिरहेको छ।