काठमाडौं। पर्यटकीय नगरी पोखरामा निजी लगानीमा निर्माणधिन ‘ले ग्ल्यामर’ लक्जरी रिसोर्ट र वेलनेस स्पा प्राइभेट लिमिटेड एक वर्षभित्र सञ्चालनमा आउने भएको छ।
आगामी सन् २०२४ को सेप्टेम्बरमा रिसोर्ट सञ्चालनमा ल्याउने तयारी लगानीकर्ताको छ। रिसोर्ट पाँचतारे होटल स्तरको हुनेछ। ले ग्ल्यामर रिसोर्ट बनाउन १ अर्ब ५५ करोड ८० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
जसअनुसार ८० करोड रुपैयाँ बैंकको ऋण र बाँकी ७५ करोड ८० लाख रुपैयाँ संस्थापकको स्वपुँजी (इक्विटी) लगानी हुनेछ। रिसोर्टमा ४९ प्रतिशत स्वपुँजी (इक्विटी) ५१ प्रतिशत बैंकको ऋण हुने गरी लगानी संरचना तयार पारिएको छ।
रिसोर्टले अहिलेसम्म ६२ करोड रुपैयाँ ऋण प्राप्त गरिसकेको छ। बाँकी १८ करोड रुपैयाँ सम्झौताको अवस्थामा छ। ऋण सम्झौता छिट्टै हुने ले ग्ल्यामसले जनाएको छ। अहिलेसम्म ७४ प्रतिशत वित्तीय प्रगति भएको रिसोर्टले जनाएको छ। ले ग्ल्यामर रिसोर्टले ८६ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ।
रिसोर्टमा महंगा पर्यटकलाई लक्षित गरी २७ वटा कोठा र ३ वटा भिल्ला हुने भएको छ। जसमा सबै आधुनिक सुविधाहरू समावेश हुने छन्। पौडी पोखरी, जाकुजी, पुस्तकालय, ध्यान हल, बच्चाहरुको प्ले स्टेशन, सम्मेलन, बैंक्वेट हल र स्पालगायत अन्य पाँचतारे स्तरको सुविधाहरु हुने छ।
रिसोर्टले आफ्नो प्रवद्र्धकबाट बल प्राप्त गरेको छ। रिसोर्टमा कैलाश ग्रुप अफ कम्पनीको पनि एक हिस्स छ। ग्रुपको पर्यटन क्षेत्रमा उपस्थिति राम्रो छ। कैलाश समूह टुर एण्ड ट्राभल एजेन्सी, हेली सेवा र बुटिक होटल व्यवसायमा संलग्न छ। यस्तै पर्यटन क्षेत्रसँगै यो समूह निर्माण सामग्रीको व्यवसायमा पनि संलग्न छ।
रिसोर्टको व्यवस्थापन तासी गुरुङले गर्ने भएका छन्। उनी कैलाश ग्रुपको संस्थापक अध्यक्ष पनि हुन् भने ले ग्ल्यामरको प्रवन्ध सञ्चालन छन्।
ले ग्ल्यामर रिसोर्ट सन् २००९ मा स्थापना भएको हो। महंगा पर्यटकलाई लक्षित गरी खोलिन लागेको रिसोर्ट १ लाख ३१ हजार ३ सय ५१ वर्गमिटरमा फैलिएको छ।
रिसोर्ट सराङकोट, पोखराको मेथलाङ पहाडमा छ। लक्जरी रिसोर्ट पोखरा विमानस्थलबाट ८ किलोमिटर दुरीमा छ। पछिल्लो समयमा होटल खुल्ने क्रम बढेको छ। संख्या बढेसँगै प्रतिस्पर्धा पनि बढेको छ। विशेष गरी पोखरामा अझै धेरै प्रतिस्पर्धा छ।