काठमाडौं। नेपालको इतिहासमै पहिलोपटक द्रुत बस सेवा सञ्चालनमा आएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संविधान दिवसको अवसर पारेर बुधबारदेखि काठमाडौं उपत्यकामा पहिलो पटक द्रुत बस सेवा सञ्चालनमा ल्याएको हो।
भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म चल्ने उक्त बस बुधबार उद्धघाटन भएपनि यात्रुका लागि भने बिहीबारबाट मात्रै चल्ने मन्त्रालयले जनाएको छ। बुधबार २ वटा बस उद्धघाटन गरेको मन्त्रालयले बिहीबारदेखि भने २५ वटा बस चल्ने जनाएको छ।
यातायात व्यवस्था विभागका अनुसार द्रुत बसका लागि १९ स्थानमा बस स्टप बनाइएको छ। त्यसबाहेक अन्य ठाउमा यात्रु चढाउने तथा ओराल्ने छन्। द्रुत बसका लागि रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँबानेश्वर, शान्तिनगर, तीनकुने, कोटेश्वर जडीबुटी, लोकन्थली, कौशलटार, गठ्ठाघर, चारदोबाटोलगायत स्थानमा बस स्टप बनाइएको छ। अन्य स्थानमा भने द्रुत बस रोकिने छैनन्।
द्रुत सेवाका बसहरु रत्नपार्क र सूर्यविनायक दुबैतर्फबाट ५–५ मिनेटको फरकमा छुट्ने यातायात व्यवस्था विभागले जनाएको छ। उक्त बसहरु रातो रङले पोतिएको लेनमा मात्र चल्नेछन्।
हरेक दिन बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछन्। मन्त्रालयले यातायात व्यवस्था विभागलाई द्रुत सेवाका लगि २५ वटा बस व्यवस्थापन गर्ने जिम्मेवारी दिएको छ।
‘रिङ रोड, नागढुंगा, बनेपा, धुलिखेललगायतका अन्य स्थानमा पनि द्रुत बस सेवा विस्तार गरिनेछ’ उद्धघाटन कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले भने, ‘बागमती प्रदेशको यातायातमा अनलाइन सिस्टम अब छिट्टै सुरु हुनेछ।’
त्यस्तै मन्त्रालयका सचिव केशवकुमार शर्माले द्रुत बस सञ्चालनको तयारी अझै पुरा नभएकाले यसलाई सफल बनाउन सबैको सहयोग गर्न आवश्यक भएको बताए।
द्रुत बस सेवाको उद्धघाटन कार्यक्रममा भौतिक मन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल सहित सडक तथा यातायात विभागका कर्मचारीहरू सहभागी थिए। त्यस्तै सो कार्यक्रममा यातायात व्यवसायी महासंघका प्रतिनिधिको पनि सहभागीता थियो।