काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले २५ अर्ब लगानीमा थप ७ वटा अस्पताल खोल्ने भएका छन्। महतोले सर्वसाधारणलाई सुलभदरमा उत्कृष्ट स्वास्थ्य सेवा दिने उद्देश्यसाथ सन् २०२६ भित्र काठमाडौं उपत्यकासहित सबै प्रदेशमा एक–एक अस्पताल सञ्चालनमा ल्याउन लागेका हुन्।
काठमाडौं उपत्यकामा ५ र प्रत्येक प्रदेशमा १/१ अस्पताल निर्माण गरी सञ्चालनमा ल्याउने अभियान लिएर अगाडि बढाएको उनले बताए। सन् २०२४ भित्रै १२ वटा अस्पताल सञ्चालन गर्ने योजना बनाए पनि विश्वमा जारी आर्थिक मन्दीको प्रत्यक्ष प्रभाव आफूलाई पनि परेकाले २०२६ सम्मको लक्ष्य बनाएको उनको भनाइ छ।
हाल उनले ५ अस्पताल सञ्चालनमा ल्याइसकेका छन्। उनीमातहत हाल ७ सय ५० शैयाको मेडिसिटी अस्पताल, १ सय शैयाको मेडिसिटी बयोधा (बयोधा नारायणी हस्पिटल), २ सय शैयाको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, १ सय शैयाको मेडिकेयर नेसनल हस्पिटल एन्ड रिसर्च र १ सय शैयाको फूलकुमारी महतो मेमोरियल अस्पताल सञ्चालनमा छ।
मेडिसिटी निर्माण गर्न १५ अर्ब रुपैयाँ लगानी गरेको उनले बताए। अब विस्तार हुने अस्पतालका लागि एउटामा करिब साढे ३ अर्ब जति खर्च हुने र ७ वटाका लागि २५ अर्ब जति लगानी हुने अनुमान गरिएको उनले बताए।
नयाँ सञ्चालनमा आउने ७ अस्पताल मेडिसिटीकै नाममा सञ्चालनमा आउने जनाएको छ। ‘मेडिसिटी काठमाडौंमा मात्र भएर भएन, विराटनगरमा भएका बिरामीले काठमाडौं आउन जति दुःख पाउँछ, काठमाडौंबाट दिल्ली जानेले पनि उत्तिकै दुःख पाउँछ,’ महतोले क्यापिटल नेपालसँग भने, ‘त्यसकारण मेडिसिटीजत्रै बनाउन नसके पनि १ देखि २ सयसम्म बेड भएको सुविधासम्पन्न अस्पतालहरू बनाउने अभियानमा लागेको छु।’
उपत्यका बाहिर सञ्चालनमा आउने अस्पतालका लागि हाल सञ्चालनमा रहेकासँग पनि समन्वय गरेर काम गर्ने योजना उनले बनाएका छन्। भवन निर्माण भएर पनि राम्रोसँग सञ्चालनमा आउन नसकेका अस्पताल लिएर व्यवस्थापनसहित जिम्मेवारी लिने समेत उनले बताए। यसरी सञ्चालनमै रहेका अस्पताल लिन पाए निर्माणका लागि लाग्ने समयको बचत हुने र छिट्टै सेवा सञ्चालन गर्न सकिने उनको भनाइ छ।
पुराना अस्पताल लिँदा पनि सेवा र उपकरण भने मेडिसिटी ‘लेभल’ कै राख्ने उनले बताए। यसले गर्दा अस्पतालकै लागि भनेर काठमाडौंसम्म आउनुपर्ने बाध्यता अन्त्य गर्न सकिने उनले बताए। ‘मेरो ड्रिम प्रोजेक्ट भनेकै नेपाललाई कसरी मेडिकल र एजुकेसन हब बनाउने भन्ने हो।
त्यसका लागि आवश्यक पूर्वाधार नेपालमै ल्याउन सकिन्छ,’ महतोले भने, ‘त्यसका लागि आवश्यक डाक्टरहरूको कुरा गर्दा नेपालमा विदेशीसरह नै एकदमै राम्रा छन्। ती डाक्टरलाई एक ठाउँमा बस्न सक्ने वातावरण निर्माण गरिदिनुपर्छ र नेपाल मेडिकल काउन्सिलले विदेशी विज्ञलाई नेपालमा काम गर्ने मौका भने दिनुपर्छ।’