काठमाडौं। ग्लोबल आइएमई बैंकको सिनियर डेपुटी सिइओमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन्। यसअघि रेग्मी बैंकको डेपुटी सिइओ थिए।बैंकको सञ्चालक समितिले रेग्मीलाई २०८० असोज १ गतेदेखि लागू हुने गरी वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो।
श्रवणलाल मास्केले राजीनामा गरेपछि बैंकको सिनियर डेपुटी सिइओ पद खाली थियो। रेग्मी २०६५ वैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए।
ग्लोबल आइएमईमा १५ वर्षदेखि कार्यरत रेग्मी यसअघि नायव प्रमुख कार्यकारी अधिकृत थिए। उनीसँग बैंकिङ्ग क्षेत्रको ३५ वर्ष लामो अनुभव छ।
बैंकमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ्ग अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, एसएमई, खुद्रा व्यापार र मर्जर व्यवस्थापनलगायत समग्र बैंकिङ्गको सुपरिवेक्षण तहमा काम गरिसकेका रेग्मी एक अब्बल बैंकरका रुपमा परिचित छन्।
रेग्मीले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तथा बेलायतको युनिभर्सिटि अफ वेल्सबाट एमबीएसम्मको अध्ययन गरेका छन्।
रेग्मी बैंकको प्रतिनिधित्व गर्ने फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षको रुपमा पनि काम गरिसकेका छन्।