काठमाडौं। सेयर बजारमा महिलाहरुको आकर्षण बढ्दै गएको छ। लगानीप्रति चासो बढ्दै जाँदा सेयर बजारमा आवद्ध हुने महिलाको संख्या २४ लाख ७३ हजार बढी पुगेको छ।
गत आर्थिक वर्षसम्म सिडिएस एन्ड क्लियरिङ लिमिटेडको अभिलेखअनुसार खुलेका डिम्याट (सेयर अभौतिकीकरण) खाताका आधारमा नेपाल धितोपत्र बोर्डले गरेको अध्ययनमा सेयर बजारमा ५७.५ प्रतिशत पुरुष र ४२.५ प्रतिशत महिला सहभागी भएको देखाएको छ।
उक्त अवधिमा कूल ५८ लाख २१ हजार डिम्याट खाता खुलेका थिए। जसमा ५७.४ प्रतिशत पुरुष, ०.०१ प्रतिशत संस्थागत र बाँकी महिलाले डिम्याट खाता खोलेको बोर्डद्वारा उपलब्ध तथ्यांकले देखाएको छ।
अन्य क्षेत्रमा पनि जोखिम मोलेर आर्थिक उपार्जनमा लागेका महिलाहरुले यस क्षेत्रमा लगानीमा अवसर देखेर आवद्धता बढाउन थालेका हुन्। अवसरसँगै जोखिम मूल्यांकन गरि सानो लगानीबाट पनि यो क्षेत्रमा प्रवेश गर्न सकिने भएपछि महिलाहरुको सहभागिता पुरुष सो–सरह हुँदै गएको देखिन्छ।
विषेश गरी धितोपत्र बोर्डले प्राथमिक सेयर निष्काशनमा १० कित्ता नीति लागू र अनलाईन सेवा सुरु भएपछि महिलाहरुमा सेयर बजार सम्बन्धि सचेतना वृद्धि भएर प्राथमिक सेयर बजारबाट प्रवेश गर्ने महिलाको संख्या वृद्धि भएको नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन्।
बजारमा महिलाको संख्या बढ्दै जानु सकारात्मक पक्ष हो। तर, अझै पनि प्राथमिक बजारमार्फत् प्रवेश गर्ने कतिपय महिलाहरु यस क्षेत्रको जोखिम मूल्यांकन अर्थात् ‘फन्डामेन्टल एनालाइसिस’ गरेर लगानी गर्न सक्षम छैनन्। यस्ता विषयलाई ध्यानमा राखेर सरकारलगायत नियामकहरुले महिलाको लागि मात्रै छुट्टै तालिम तथा सचेतना कार्यक्रम राख्नु पर्ने अध्यक्ष पोखरेल बताउँछिन्।
‘महिलाको लगानी चासो बढ्दै गएको पक्कै हो, संख्याकै आधारमा मात्रै महिला सेयरप्रति जानकार भन्ने होइन यस क्षेत्रमा हुने जोखिम मूलयांकन गरेर लगानी गर्न सक्ने बनाउनु बोर्ड र सरकारकै तर्फबाट केही भएको छैन,’ अध्यक्ष पोखरेलले क्यापिटल नेपालसँग भनिन्, ‘सहरदेखि गाउँसम्म जनचेतना फैलाउने काम हामीले गर्दै आएका छौ, यसको आवश्यकता अझै छ। बोर्ड र सरकारले नै महिलाका लागि छुट्टै सचेतना कार्यक्रम र पुँजी बजारमा लगानी र जोखिम सम्बन्धि तालिम दिनु पर्छ।’
पुँजी बजार जोखिम मूलयांकनमा आधारित लगानीको क्षेत्र भएको हुँदा यस क्षेत्रमा महिलाकै लगानी बढी हुँदा यस क्षेत्रमा स्थायित्व आउँने उनको बुझाइ छ। बजार बढ्दा नमातिने र घट्दा नआतिने धैर्य शक्ति महिलामै हुने हुँदा यस क्षेत्रमा यस्ता क्षमता भएका लगानीकर्ताको सहभागिता बढाएर स्थात्वि ल्याउनु पर्ने उनको भनाइ छ।
‘हिजोको दिनमा बजार बढ्दा आत्तिएर बेच्ने धेरै पुरुष लगानीकर्ताहरु नै थिए, आज बजार ओरालो लाग्दा प्यानिक भएर बेच्ने पनि उनीहरु नै छन्, बजारमा स्थिरता ल्याउन महिलाको सहभागिता ८५ प्रतिशत हुन आवश्यक छ, यसका लागि सरकारले नै पुँजी बजारमा महिलालाई संरक्षणको व्यवस्था गर्न सक्नु पर्छ’ उनले भनिन्। घरजग्गा, कर्जालगायतका क्षेत्रमा महिलाका लागि दिइएको जस्तै छुट सेयर बजारमा पनि महिलालाई दिनु पर्ने उनको भनाइ छ।
‘सरकारले महिलालाई पुँजीगत लाभमा छुट दिएमा सहभागिता र स्वामित्व बढ्ने र बोर्डले पनि प्राथमिक सेयर (आइपिओ) मा महिलालाई कोटा छुट्याउनु पर्छ’ उनले भनिन्।यसले गर्दा महिलालाई सेयर कारोबारमा अझ बढी प्रोत्साहन र हौसला मिल्ने उनको बुझाइ छ।
सेयर बजारमा उमेरगत र क्षेत्रगत सहभागिता
२०७९ मा कुल ५३ लाख ४६ हजार, ०७८ मा ३७ लाख ८९ हजार, ०७७ मा १७ लाख ५३ हजार, ०७६ मा १५ लाख ७० हजार डिम्याट खाता खुलेका थिए।
उमेर समुहको आधारमा भने १८ वर्षसम्मका १४.५ प्रतिशत, १८ देखि ३० वर्षका ३५.७ प्रतिशत, ३१ देखि ४० वर्षसम्मको २४.२ प्रतिशत,४१ देखि ६० वर्षसम्मका २६.६ प्रतिशत, ६१ देखि माथि २.६ प्रतिशतको डिम्याट खाता खुलेको बोर्डद्वारा प्राप्त प्रतिवेदनमा उल्लेख छ।
गत आर्थिक वर्षको असार मसान्तसम्म खुलेका डिम्याट खातामा सबैभन्दा बढी बागमती प्रदेशको ३८.१ प्रतिशत अर्थात् २२ लाख १६ हजार, कोशी प्रदेशमा १८.९ प्रतिशत अर्थात् १० लाख ९९ हजार, गण्डकी प्रदेशमा १३.३ प्रतिशत अर्थात् ७ लाख ७२ हजार, लुम्बिनी प्रदेशमा ११.४ प्रतिशत अर्थात् ६ लाख ६१ हजार, मधेश प्रदेशमा १०.३ प्रतिशत अर्थात् ६ लाख १ हजार, सुदुरपश्चिम प्रदेशमा ५.८ प्रतिशत अर्थात् ३ लाख ३७ हजार र सबैभन्दा थोरै कर्णाली प्रदेशमा १ लाख ३४ हाजारले डिम्याट खाता खोलेका छन्।