काठमाडौं। होण्डा एलिभेट नेपाली बजारमा आउने भएको छ। होण्डा चारपांग्रे सवारी साधनका लागि नेपालको आधिकारिक वितरक स्याकार ट्रेडिङले मिडसाइज एसयुभी होण्डा एलिभेट नेपाली बजारमा ल्याउन लागेको हो। कम्पनीले यसको ८ वटा भेरिएन्ट बजारमा ल्याउने तयारी गरेको छ।
१.५ लिटर पेट्रोल इन्जिनयुक्त यो गाडीमा ६ स्पिड म्यानुअल र ७ स्पिड कन्टिनियसली भेरिएबल ट्रान्समिसन (सिभिटी) छ।यसको म्यानुअल ट्रान्समिसन इन्जिनले प्रतिलिटर १५.३१ र सिभिटीले १६.९२ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ।
होण्डा एलिभेटको हुन्डाई क्रेटा, मारुती सुजुकी ग्रान्ड भिटारा, किया सेल्टोसलगायत गाडीसँग सिधा प्रतिस्पर्धा हुनेछ।
कम्पनीले यसको मूल्य एसभिएमटीको ५६ लाख ३५ हजार, भिएमटीको ६० लाख ३५ हजार, भिएक्सएमटीको ६६ लाख ९५ हजार, जेडएक्सएमटीको ७३ लाख ४४ हजार, भिसिभिटीको ६५ लाख ७० हजार, भिएक्ससिभिटीको ७१ लाख ९५ हजार, जेडएक्ससिभिटीको ७८ लाख ७० हजार, जेडएक्ससिभिटी (डिटी)को ७९ लाख ४४ हजार निर्धारण गर्ने तयारी गरेको छ।
भावी योजना
एलिभेट सार्वजनिक गरेसँगै होण्डाले सन् २०३० सम्म पाँचवटा एसयुभी ल्याउने तयारी गरेको छ। कम्पनीको यो रणनीतिले लोकप्रिय बनिरहेको एसयुभी सेग्मेन्टमा होन्डाको बलियो प्रस्तुति रहने छ।
कम्पनीले एलिभेटको इलेक्ट्रिक भेरिएन्ट पनि ल्याउने तयारी गरेको छ। अबको तीन वर्षभित्र एलिभेटको विद्युतीय भेरिएन्ट पनि बजार आउने अपेक्षा गरिएको छ।
भारतको समग्र प्यासेन्जर भेइकल बिक्रीमा ४३ प्रतिशत एसयुभी रहेकोमा २०२२ मा ४८ प्रतिशतभन्दा धेरै पुगेको छ। एलिभेट बजारमा आएपछि बजार हिसाबले सबैभन्दा ठूलो सेग्मेन्टमा होण्डाले प्रवेश गरेको छ।
निर्माता कम्पनीले ग्राहकलाई समयमै डेलिभरी दिन राजस्थानस्थित प्लान्टको दैनिक उत्पादन क्षमता ६ सय ६० युनिट पुर्याएको छ।