काठमाडौं। नेपाल बिमा प्राधिकरणले बिमा सर्भेयर (बिमा मध्यस्थकर्ता) को अनलाइन परीक्षा सञ्चालनमा ल्याएको छ।
बिमा ऐनमा ‘बिमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गरेको हनुपर्नेछ’ भन्ने व्यवस्था बमोजिम प्राधिकरणले पहिलो पटक बिमा सर्भेयरको अनलाइन परीक्षा सञ्चालन गरेको हो।
प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणको केन्द्रीय कार्यालयमा बिमा सर्भेयरको अनलाइन परीक्षा सञ्चालनको सुभारम्भ गरेका हुन्।
अध्यक्ष सिलवालले प्राधिकरणबाट सञ्चालित परीक्षामा सफल भइ इजाजत प्राप्त गर्ने बिमा सर्भेयरहरुको कार्य गुणस्तरयुक्त एवम् प्रभावकारी हुने र त्यसबाट बिमा दाबी भुक्तानीमा समेत सहजता हुने विश्वास व्यक्त गरे।
प्राधिकरणको केन्द्रीय कार्यालयबाट सञ्चालित परीक्षामा भागलिन प्राधिकरणबाट यसअघि आयोजित बिमा सर्भेयर तालिममा सहभागी भएका तर इजाजत नलिएका सर्भेयरहरुमध्ये ३९ जनाले अनलाइन आवेदन दिएका थिए। तीमध्ये २८ जनाले सञ्चालित बिमा सर्भेयरको अनलाइन परीक्षामा अनलाइन पेश गरेका थिए।
सर्भेयरको अनलाइन परीक्षाको रिजल्ट सात दिनभित्र प्रकाशन गरिनेछ र परीक्षामा उत्तीर्ण भएकाहरुलाई बीमा सर्भेयरको इजाजत प्रदान गरिनेछ।
अनलाइन परीक्षा सञ्चालनको सुभारम्भ कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक कमलप्रसाद रेग्मी, निर्देशक सुशीलदेव सुवेदी, निर्देशक पुजन ढुङ्गेल (अधिकारी) र निर्देशक दिनेशकुमार लालको उपस्थिति थियो।