काठमाडौं। बैंकका ऋणीलाई ब्याजदरको भार घटेको छ। वाणिज्य बैंकहरुबाट कर्जा लिने ऋणीलाई ब्याजको भार एक महिनामै ०.०६ प्रतिशत बिन्दुले घटेको हो।
गत असारमा वाणिज्य बैंकहरुको कर्जाको औषत ब्याजदर १२.३० प्रतिशत थियो। साउनमा आइपुग्दा यस्तो ब्याजदर १२.२४ प्रतिशतमा झरेको नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक तथ्यांकले देखाएको छ।
असारमा वाणिज्य बैंकहरुबाट कर्जा लिएका ऋणको औषत ब्याज भार सोही परिमाणमा घटेको हो। उक्त अवधिमा विकास बैंकहरुमा औषत कर्जाको ब्याजदर १३.८८ प्रतिशत र वित्त कम्पनीहरुमा १४.६६ प्रतिशत छ।
राष्ट्र बैंकले निक्षेपको खर्च जोडेर प्रत्येक महिना नयाँ आधारदर निर्धारण गर्नुपर्ने व्यवस्था मिलाएको छ। बैंकहरुले यसरी आएको आधारदर अघिल्लो महिनाकोभन्दा बढी आएमा आफ्नो सहुलियतमा बढाउन सक्छन्। तर, घटेको भएमा अनिवार्य घटाउनु नै पर्ने प्रावधान राष्ट्र बैंकले गरेको छ।
आधार दरमा आधारित भएर कर्जाको औषत ब्याजदर निर्धारण गर्नुपर्ने र थप÷घट हुँदा सोहीअनुसार गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन हो।
साउनमा वाणिज्य बैंकहरुको औषत आधारदर १०.११ प्रतिशत छ। गत असारमा १०.०३ प्रतिशत थियो। औषत आधारदर बढे पनि वाणिज्य बैंकहरुको औषत कर्जाको ब्याजदर भने घटेको छ।
यता २०८० साउनमा विकास बैंकहरको औषत आधारदर ११.८६ प्रतिशत र वित्त कम्पनीहरुको १३.२८ प्रतिशत छ। बैंक तथा वित्त कम्पनीहरुले आधार दरमै केही प्रतिशत प्रिमियम जोडेर कर्जाको ब्याजदर तय गर्छन्।
यस्तै, चालु आर्थिक वर्षको पहिलो महिनामा वाणिज्य बैंकहरुको निक्षेपमा औंषत ब्याजदर ८ प्रतिशत छ। गत असारमा यस्तो ब्याजदर ७.८६ प्रतिशत थियो।
एक महिानाकोबीच वाणिज्य बैंकहरुले निक्षेपकर्तालाई दिने ब्याजदर औषतमा ०.१४ प्रतिशत विन्दुले बढेको हो। २०८० साउनमा विकास बैंकहरुमा निक्षेपको औषत ब्याजदर ९.२८ प्रतिशत र वित्त कम्पनीहरुमा १०.१३ प्रतिशत कायम थियो।
२०८० साउनमा ९१–दिने ट्रेजरी बिलको ५.९२ प्रतिशत, र औषत अन्तर बैंक ब्याजदर ५.८७ प्रतिशत कायम छ। गत असारमा ९१–दिने ट्रेजरी बिलको ६.३५ प्रतिशत, र औषत अन्तर बैंक ब्याजदर २.९८ प्रतिशत थियो।