काठमाडौं। नेपाली रुपैयाँ अमेरिकी डलरसँग झनै कमजोर हुन पुगेको छ। अब १ डलर किन्न १३३.५४ रुपैयाँ खर्चिनुपर्ने भएको छ। डलरको यो मूल्य अहिलेसम्मकै उच्च हो।
नेपाल राष्ट्र बैंकले मंगलबारलाई १ डलर बराबर १३३.५४ रुपैयाँ बिक्रीदर तोकेको छ। यस्तै खरिद दर १३२.९४ रुपैयाँ छ। १० महिनादेखि केही सामान्य उतारचढाव आए पनि अघिल्लो सातादेखि डलरको भाउ पुनः उकालो लागेको छ।
भारतीय मुद्रा (भारु) कमजोर भएपछि यसको असर नेपाली मुद्रामा परेको हो। मंगलबार १ डलरबराबर ८३.२४ भारु पुगेको भारतीय रिजर्भ बैंक (आरबीआई) ले जनाएको छ। डलरसँग भारु हालसम्मकै कमजोर बनेको छ।
भारु र नेपाली रुपैयाँबीच स्थिर विनिमयदर (फिक्स पेग) भएका कारण भारु अवस्थाअनुसार नेपाली रुपैयाँको भाउ निर्धारण हुने गरेको छ। भारु बलियो हुँदा नेपाली रुपैयाँ पनि मजवुत हुने र कमजोर हुँदा यसको असर पर्ने गरेको छ। नेपाल र भारतमा मात्र हैन विश्व बजारमा डलर बलियो हुँदा अन्य मुद्रा कमजोर बन्दै गएको देखिएको छ। विश्वमा ८० प्रतिशत भन्दा बढी व्यापार डलरमा हुने गरेको छ।
गत असारको तुलनामा साउनमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १ प्रतिशतले अवमूल्यन भएको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ०.३ प्रतिशतले अधिमूल्यन भएको थियो। २०८० साउन मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १३२.४३ रुपैयाँ थियो। २०८० असार मसान्तमा उक्त विनिमय दर.१३१.१७ रुपैयाँ थियो।
डलर बलियो हुँदा दैनिक उपभोग्य वस्तुहरूको मूल्यवृद्धि भइरहेको छ। वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीतिको ग्राफ साउनमा ७.५२ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ।
रूस–युक्रेन युद्धका कारण अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएपछि विश्वबजारमा डलर महँगो बन्दै गएको हो। डलर मजबुत भएपछि भारु कमजोर हुँदै गएको छ। डलर महंगो बन्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ पनि उकालो लागेर ब्रेन्ट क्रुडमा ब्यारेलको ९४.८६ डलर पुगेको छ।
यता मूल्यवृद्धि नियन्त्रण गर्न अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ बैंकले ब्याजदर बढाएपछि उदीयमान अर्थतन्त्रबाट लगानी अमेरिकातर्फ गएको छ। यसबीचमा अमेरिकामा ब्याजदर बढेर ५ प्रतिशत माथि पुगेको छ। उदीयमान अर्थतन्त्रबाट अमेरिकातिर लगानी प्रवाह होउन्जेल विश्वबजारमा डलर महँगो भइरहनेछ । गत साउनसम्म नेपालको कूल विदेशी विनिमय सञ्चिती बढेर ११ अर्ब ८५ करोड डलर पुगेको राष्ट्र बैंकले जनाएको छ।
अहिले डलरका कारण विश्व बजारमा सुन र खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य वस्तुको भाउको ग्राफ उकालो लागेको छ। पेट्रोलियम पदार्थको मूल्य पनि बढेको छ। सुनको भाउ पनि तोलाको १ लाख १० हजार रुपैयाँमाथि छ। अहिले भारत, चीन, अमेरिका र युरोप मूल्य वृद्धिको चपेटामा छन। अमेरिकामा मूल्य वृद्धिदर दुई अंक नजिक छ। मूल्यवृद्धि घटाउन अमेरिकाले ब्याजदर बढाएको हो।
डलर महँगो हुँदा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आप्रवाहमा वृद्धि हुन्छ। यसबेला रेमिट्यान्स पठाउनेले नेपालमा बढी मूल्य पाउँछन्। रेमिट्यान्स आप्रवाह बढ्दा विदेशी मुद्राको सञ्चिति वृद्धिमा सघाउ पुग्नेछ। घटिरहेको विदेशी मुद्रा सञ्चिति बढाउन यसले सहयोग गर्नेछ। पर्यटन क्षेत्रबाट डलर आउने भएकाले नेपाललाई फाइदा हुनेछ।
यस्तै वस्तु निर्यात गर्ने उद्योगी र पर्यटन व्यवसायीलाई फाइदा हुन्छ। विदेशी बजारमा वस्तु निकासी गरेर डलर आर्जन हुने भएकाले बढेका बेला फाइदा हुन्छ। डलर बढेका बेला निर्यात बढाएमा उद्योगीले बढी नाफा कमाउने अवसर पाउनेछन।
डलर महँगो हुँदा मुलुकलाई फाइदाभन्दा बेफाइदा बढी हुन्छ। डलर महँगो भएपछि बजारभाउ बढ्छ र आयात गरिने वस्तु महँगो हुन जान्छ।
यस्तै विदेशी कच्चा पदार्थमा निर्भर उद्योगको उत्पादन लागतमा पनि वृद्धि हुन्छ। डलर बढ्दा सरकारलाई विदेशी ऋण र सावाँ भुक्तानीमा अतिरिक्त भार पर्छ भने नेपालले तिर्नुपर्ने दायित्व बढी हुनेछ।
यसैगरी विदेशी कम्पनीहरूले लाभांश फिर्ता लैजाँदा बढी दिनुपर्छ। लाभांश लैजानेलाई फाइदा हुनेछ। विदेशमा अध्ययन गर्न, औषधोपचार, पर्यटक भएर विदेश भ्रमण जानेहरुलाई डलरको भाउ बढेपछि असर पर्नेछ।