काठमाडौं। ‘नेपाल टी कलेक्टिभ’ यो नाम केही समयअघि देखि नै बजारमा सुनिएको हो। नेपाली चियाको पहिचान अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने मुख्य उद्देश्यका साथ स्थापना भएको नेपाल टी कलेक्टिभले अहिले काठमाडौंको ठमेलस्थित काठमाडौं गेस्ट हाउसबाट आफ्नो चियाको स्वाद चखाउन सुरु गरेको छ। यसले नेपाली बजारमा प्रचलनमा रहेका दूधको र कालो चियाभन्दा फरक अन्य विभिन्न प्रकारका चियाको स्वाद पस्कने गरेको छ।
काठमाडौं गेस्ट हाउसमा ‘चिया बार’ स्थापना गरेर चियाका अनेकन स्वाद चखाउने नेपाल टी कलेक्टिभको यो कार्य नेपाली बजारका लागि नौलो अभ्यास हो। यसो त, नेपाल टी कलेक्टिभ, यसको उद्देश्य र अबको योजना पनि निकै चाखलाग्दो छ। यसका बारेमा नेपाल टी कलेक्टिभका संस्थापकहरु मध्येका प्रतिक रिजाल र अमिगाे खड्काले क्यापिटल नेपाललाई सविस्तार जानकारी गराएका छन्।
अमिगाे खड्काले प्लस टु सम्मको अध्ययन नेपालमै सकेका थिए। त्यसपछि उनी अध्ययनका लागि अमेरिका गए र केही वर्ष काम गरे नेपाल फर्किए। नेपाल फर्किएपछि उनले उपाय नामक कम्पनी खोले। यो कम्पनी स्थापना गरेपछि उनी पुनः लन्डन गए। त्यहाँ खड्काले लन्डन स्कुल अफ इकोनोमिमा मास्टर्स सकेर नेपाल फर्किएर चियाको व्यवसायमा आवद्ध भए।
त्यस्तै प्रतिक रिजाल पनि कलेज सकेर अमेरिका गएका थिए। करिब चार वर्ष त्यहाँ रहेर विभिन्न क्रियाकलापमा सहभागि भएका उनमा नेपालमै केही काम गर्ने इच्छा थियो। सो इच्छा पुरा गर्न उनले चियालाई व्यवसायको रुपमा अपनाए। उनको परिवार ४० वर्षदेखि चिया उत्पादनको काममा संलग्न हुँदै आएको थियो। सो कुराको मौका उठाउँदै रिजालले सुरुमा आफ्नो परिवारको चियालाई नै निर्यात गरे।
त्यसपछि हाल करिब ७/८ वटा फार्मसँग समन्वय गरेर नेपाली चियालाई कसरी विश्व बजार (ग्लोबल मार्केट) मा पुर्याउन सकिन्छ भनेर उनीहरुले काम गरिरहेका छन्। नेपाली चियालाई विश्वविख्यात कसरी बनाउने भन्ने सोचका साथ उनीहरुले काम गरिरहेका हुन्। उनीहरुका अनुसार नेपालमा उत्पादन हुने चियामध्ये ९६ प्रतिशत भारतीय बजारमा जाने गरेको छ। सो चियालाई ब्रान्ड गरेर भारतबाट नै उनीहरुले विश्व बजारमा निर्यात गर्ने गरेका छन्।
तर, नेपाली चिया भनेर विश्वमा कतै पनि चिनाइएको छैन। यहि अवस्थालाई परिवर्तन गर्न उनीहरुले ‘नेपाल टी कलेक्टिभ’ सञ्चालनमा ल्याएका हुन्। किसानहरुले राम्रो र गुणस्तरीय चिया उत्पादन गर्दागर्दै पनि बजारीकरण हुन नसक्ने अवस्थाको बारेमा उनीहरु जानकार थिए। चिया उत्पादन भइरहेको र त्यसको उचित बजारीकरण नभएको अवस्था अन्त्य गर्ने सोचमा उनीहरु पुगे।
उनीहरुले फ्रान्स, जर्मनी लगायतका ठाउँमा नेपाली चिया नै खाइरहेका हुन्थे जसको जानकारी भने उनीहरुलाई थिएन।
विभिन्न मुलुकहरुमा उनीहरुले खाएको चिया हिमाल टीलाई दार्जिलिङ टी नामाकरण गरिएका थिए। अमिगो खड्का र उनका साथीहरुले करिब पाँच वर्ष अगाडिदेखि बोरा–बोरामा लगेर होलसेलमा चिया बेच्ने काम गरेका थिए। होलसेलमा बिक्री गर्दै गर्दा चियाको माग पनि आउन थाल्यो। यद्यपि यो बीचमा उनीहरुको चियाले हालसम्म १२ वटा अवार्ड जित्न सफल भयो।
होलसेलमा चिया बेच्दै गर्दा नेपाल र उनीहरुको पहिचान कतै खुल्न सकेको थिएन। त्यसपछि उनीहरुले किन आफ्नै ब्रान्ड नराख्ने? भनेर काम गर्न थाले। सो सोचका साथ उनीहरुले नेपाल टी कलेक्टिभ नामक ब्रान्डमा नेपालीका विभिन्न ठाउँका चियाका फार्महरुको चियालाई बटुलेर बेच्ने काम गरे। उनीहरुले अमेरिका, अमेजन लगायतका विभिन्न ठाउँहरुमा यो व्यवसाय गरिरहेका थिए। अमेरिकामा अहिलेसम्म १० हजार भन्दा बढी ग्राहक रहेका छन्। साथै प्रयोगकर्ताले दिने प्रतिक्रिया राम्रो भएको उनीहरु बताउँछन्।
यसरी विदेशका विभिन्न ठाउँमा चियालाई प्रवद्र्धन गर्दै गर्दा नेपाली बजारलाई मात्रै किन दूधको चियामा मात्रै सीमित राख्ने भन्ने उनीहरुको सोचले यसतर्फ अगाडि बढ्न थप प्रेरित गर्यो। तीन महिना अगाडि उनीहरुले नेपालका लागि भनेर अनलाइन बजार विस्तार गरे। त्यसपछि उनीहरुले काठमाडौं गेस्ट हाउसमा ‘टी बार’ सुरु गरेका छन्।
नेपालमा प्रयाप्त चिया उत्पादन हुँदाहुँदै पनि निर्यात हुन सकेन। साथै अन्तर्राष्ट्रिय बजारमा पनि पहिचान नबनेको अवस्था रह्यो। यसको मुख्य कारण नेपालमा एउटा पनि चियाको होम ब्रान्ड नहुनु थियो। सबैले बोराबोरामा हालेर बेच्ने काम भइरहेका समयमा उनीहरुले २०१६ देखि २०२२ सम्म आफ्नो परिवारको उत्पादनलाई अध्ययनका क्रममा विभिन्न प्रयास गर्न सुरु गरे।
सो क्रममा उनीहरु अहिलेको अवस्थामा आइपुगेका छन्। उनीहरुले आफ्नो कम्पनीको एक प्रतिशत टपलाइन आम्दानी कारखानामा काम गरेका तथा किसानलाई दिने गरेका छन्। उनीहरुले नेपाल टी कलेक्टिभको तर्फबाट प्रत्येक वर्ष २१ विद्यार्थीलाई पढाउने काम पनि गर्दै आएका छन्।
उनीहरुले फार्मबाट सिधा चिया लिएर अमेरिकामा बिक्री गर्ने काम गर्दै आएका छन्। यसका साथै उनीहरुले नेपालमा चिया देखाउन विदेशीहरु ल्याउने गरेका छन्। यो वर्षमात्रै उनीहरुले २६ जना व्यक्तिहरु ल्याएका छन्। यी २६ जना ल्याउँदा उनीहरुले तीन हजार तीन सय अमेरिकी डलर लिने गरेका छन्। बाहिरका मानिस यसरी ल्याइरहेको समयमा काठमाडौं गेस्ट हाउसले उनीहरुलाई चियामा के गर्ने योजना छ भनेर सोध्यो।
उनीहरुले विदेशमा होलसेलमा बिक्री गर्ने, आफ्नै प्याकिङमा रिटेल गर्ने र चिया पर्यटन अर्थात् चिया देखाउनका लागि विदेशी ल्याउने गरेका थिए। यो कुराको जानकारी गेस्ट हाउसलाई गराएपछि नेपालमा किन नगर्ने भन्ने किसिमको कुरा भयो। त्यसपछि गेस्ट हाउसले चिया बार खोल्न भनेर अफर गर्यो। सोही अफरलाई स्वीकार गर्दै उनीहरुले हाल काठमाडौं गेस्ट हाउसमा चिया बार सञ्चालनमा ल्याएका हुन्।
‘यो पेसामा लाग्नुको मुख्य कारण भनेको ‘प्यासन’ नै हो जस्तो लाग्छ। यसमा हात हालिसकेकाले जसरी पनि गरेर नै देखाउनुपर्ने छ। अर्को भनेको बाहिर देखेको सिकेको र जानेको कुरालाई अध्ययन गरेर आफैंले गरौं भन्ने पनि हो’ खड्काले भने। उनका अनुसार नेपालमा २६ हजार टन चिया उत्पादन हुने गरेको छ। १३ हजार टन निर्यात हुने गरेको छ।
खड्काले आफ्नो मुख्य उद्देश्य भनेको नेपाली चियाको पहिचान कायम गर्ने भएको बताए। हाल नेपाली चिया कोबाट किन्ने? भन्दा नेपाल टी कलेक्टिभबाट किन्नुपर्छ भन्ने माहोल बनेको उनको भनाइ छ। उनीहरुले अहिले विभिन्न विदेशीलाई चियाका विभिन्न परिकारहरु चखाउने र विभिन्न इभेन्ट्स गर्ने काम पनि गर्ने गरेका छन्।
नेपाल टी कलेक्टिभले हाल कालो, सेतो, हरियो, उलोङ चियाका साथै जडिबुटी मिश्रण गरिएका चियाहरु पस्कदै आएको छ। यसले पछिल्लो छ वर्षको अवधिमा विश्वका ४२ भन्दा बढी देशमा अर्गानिक र अर्थोडक्स चिया वितरण गर्दै आएको छ।