एजेन्सी। आउँदो सन् २०२५ सम्म अधिकांश युरोपेली विद्युतीय (इलेक्ट्रिक) कार कम्पनीहरुले आकर्षक नाफा गर्ने एक अध्ययनले देखाएको छ। ट्रान्सपोर्ट एन्ड इन्भारोमेन्ट (यातायात र वातावरण) द्वारा प्रकाशित एक रिपोर्टले यस्तो देखाएको हो।
रिपोर्टअनुसार सन् २०२५ मा युरोपेली कार निर्माताहरुले ठूलो मात्रामा इलेक्ट्रिक कारबाट ठूलो नाफा कमाउने वर्ष देखाएको छ। रिपोर्टमा पुराना गाडी निर्माताहरु बिएमडब्लु, भोल्भो, मर्सिर्डिज बेन्ज, रेनो, स्टेलान्टिस, फक्सवानले सन् २०१९ र २०२० को बीचमा आफ्नो कूल मार्जिन नाटकीय रुपमा बढाएको पनि उल्लेख गरेको छ।
यो अवधिमा गाडी निर्माताले १७ देखि ३४ प्रतिशत मूल्य वृद्धि गरेको रिपोर्टमा देखाइएको छ। यसबाहेक हालैको समयमा युरोपेली ब्रान्डहरूले ठूला र बढी लाभदायक कारहरूमा ध्यान केन्द्रित गरेका छन्। सन् २०१० मा ९ प्रतिशत बजार हिस्सा रहेको एसयूभीको बजार हिस्सा सन् २०२२ मा आइपुग्दा ४७ प्रतिशत पुगेको छ।
चार दशकभन्दा बढी समय युरोपमा रहेर सबैभन्दा बढी बिक्रेताहरुमध्य एकमा रहेका फोर्ड फिस्टा जस्ता साना र किफायती सवारी साधनहरूले यो समयमा आफ्नो उत्पादन बन्द गरेका छन्। यातायात र वातावरणको अध्ययनले गरेको विश्लेषणअनुसार एसयूभीहरु आठ देखि ३० प्रतिशतको बीचमा एक समान परम्परागत यात्रु कार भन्दा महँगो छन्।
फ्रान्स, जर्मनी, इटाली, स्पेन, पोल्याण्ड र बेलायतमा गरिएको सर्वेक्षणमा संकलन गरिएको तथ्यांकले २५ हजार युरो (करिब ३५ लाख ५० हजार)मा साना विद्युतीय कारहरू लन्च गर्दा यसले आफ्नो बजार हिस्सा ३५ प्रतिशतमा पुर्याउने देखाएको छ।
अध्ययनले युरोपेली उत्पादकहरूले २०२५ बाट यस मूल्य दायरामा विद्युतीय उपयोगिता सवारी साधनहरू प्रस्ताव गर्न सम्भव छ कि छैन भनेर मूल्यांकन गर्न विश्लेषणका आधारमा तीनवटा परिदृश्य मोडेल देखाएको छ।
यसले देखाएको परिदृश्यमा सबैभन्दा अनुकुल बजार अवस्थाको समयमा २५ हजार युरोमा ४ प्रतिशतको मार्जिनमा खण्ड बी इलेक्ट्रिक कार बजारीकरण गर्न सम्भव देखाएको छ। यसमा ४० किलोवाट (लिथियम–फ्लोरोफोस्फेट) ब्याट्री हुनेछ र यसले २५० देखि ३०० किलोमिटरको दायरा प्रदान गर्नेछ।
अध्ययन प्रतिवेदनले प्राविधिक र आर्थिक रूपमा यस प्रकारका सवारी साधनहरू लन्च गर्न सम्भव भए पनि युरोपेली संघ, सदस्य राष्ट्रहरू र निर्माताहरू आफैंले चिनियाँ प्रतिद्वन्द्वीहरूसँग प्रतिस्पर्धा गर्न आवश्यक गति हासिल गर्न समन्वय गर्नुपर्ने देखाएको छ।
यसपछि मात्रै उत्पादन सुनिश्चित गर्नुपर्ने अध्ययनमा उल्लेख छ। महँगो एसयूभीको सट्टा साना इलेक्ट्रिक कारलाई प्राथमिकता दिइनुपर्ने पनि अध्ययनको निश्कर्ष छ।