काठमाडौं। नाडा अटो शोमा ४ हजार सवारी साधन बुकिङ भएका छन्। आयोजकसँग यकिन तथ्यांक नभए पनि ४ हजार सवारी साधन बुकिङ भएको नाडाका अध्यक्ष ध्रुब थापाले जानकारी दिए।
‘बुकिङ भएका सबै बिक्री हुन्छ भन्ने त छैन। स्टल हरुमा बुझ्दा करिब ४ हजार सवारी साधन बुकिङ भएका छन्’ उनले क्यापिटल नेपालसँग भने।
त्यस्तै टिकटबाट मात्र नाडाले ५० लाख रुपैयाँ कमाएको छ। ‘अटो शोमा ७६ हजार १ सय जनाले अवलोकन गरेका छन्। त्यसमा ३० हजार पास वितरण भएको थियो। त्यो हिसाबले ५० लाख रुपैयाँको टिकट बिक्यो होला’उनले भने।
गत भदौ २६ देखि नाडा अटो शो राजधानीको भृकुटीमण्डपमा सुरु भएको थियो। अटो शो आइतबार सम्पन्न भएको छ।
प्रदर्शनी सोचे भन्दा राम्रो भएको अध्यक्ष थापाले बताए। नाडा अटो शोको शीर्ष प्रायोजक टाटा मोटर्सको जेनुइन आयल र सहप्रायोजकमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड थियो।
यसैगरी शोको डोर प्राइजमा याडिया, टिकट पार्टनर खल्ती, अफिसियल इन्टरनेट पार्टनर वल्र्डलिंक, फायर सेफ्टी सपोर्ट हिटको प्रालि र व्यवस्थापनमा ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेस रहेको थियो।
शोमा ठूला तथा साना गरी करिब १ सय २० स्टल र ब्लक रहेको थियो। शोमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका सवारीसाधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकको सहभागिता रहेको थियो।
शोमा १६ ब्रान्डका चारपांग्रे तथा २२ ब्रान्डका दुईपांग्रे, सात ब्रान्डका लाइट कमर्सियल भेहिकल, नौ वित्तीय संस्था तथा ३० लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीको सहभागिता थियो।