काठमाडौं। आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना (साउन) मा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको मूल्य सुचकांक ४५.५६ प्रतिशतले बढेको छ।
नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार खाद्य तथा खाद्यजन्य पदार्थको मूल्य सुचकांक १३.२० प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १२.१९ प्रतिशत, रेस्टुरेन्ट तथा होटलको ११.०५ प्रतिशत र तरकारीको १०.८० प्रतिशतले बढेको छ।
तर, घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य १५.१३ प्रतिशतले घटेको छ।
साथै, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १५.५५ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ६.९३ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ६.७९ प्रतिशतले बढेको छ भने यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ०.८१ प्रतिशतले घटेको छ।
त्यस्तै साउनमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५० प्रतिशत, तराईको ६.७० प्रतिशत, पहाडको ७.५० प्रतिशत र हिमालको ११.४६ प्रतिशत रहेको छ।
२०७९ साउन महिनामा उक्त क्षेत्रको यस्तो मुद्रास्फीति क्रमशः ७.३९ प्रतिशत, ८.७२ प्रतिशत, ८.६४ प्रतिशत र ६.६४ प्रतिशत रहेको थियो।
२०८० साउन महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.३४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १२.५८ प्रतिशत थियो।
त्यस्तै साउनमा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ८ प्रतिशत, २.५५ प्रतिशत र २.७२ प्रतिशत रहेको छ।