काठमाडौं। बैंक तथा वित्तीय संस्थाले प्रवाहित कर्जाको दुई तिहाई घर जग्गा धितोमा नै प्रवाह गरेका छन्। चालू आर्थिक वर्षको साउनसम्म बैंक तथा वित्त कम्पनीले कूल ४८ खर्ब ६१ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्।
जसको ६७.१२ प्रतिशत अर्थात ३२ खर्ब ६३ अर्ब ३३ करोड रुपैयाँ कर्जा घर जग्गा धितोमा कर्जा प्रवाह भएको छ। बाँकी लगानीमा रहिरहेको कर्जामध्ये १२.१ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणमा प्रवाह भएको छ। २०७९ साउन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.४ प्रतिशत र ६६.६ प्रतिशत रहेको थियो।
२०८० साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.७ प्रतिशत र ३६.३ प्रतिशत थियो।
समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ०.१ प्रतिशत र विकास बैंकहरुको ०.२ प्रतिशतले घटेको छ भने वित्त कम्पनीहरुको कर्जा प्रवाह ०.९ प्रतिशतले बढेको छ।
आर्थिक वर्ष २०८०÷८१ को पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १.१ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १.५ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.७ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ०.९ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.९ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १.५ प्रतिशतले र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १.३ प्रतिशतले घटेको छ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २.४ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ०.३ प्रतिशतले, नगद प्रवाह कर्जा ७.६ प्रतिशत, मार्जिन प्रकृतिका कर्जा ०.१ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ५ प्रतिशत बढेको छ। अधिविकर्ष कर्जा २८.९ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत), र हायर पर्चेज कर्जा १६.८ प्रतिशतले घटेको छ।