काठमाडौं। सरकारले सूचना प्रविधि क्षेत्रमा छोटो प्रकृतिका व्यावसायिक तालिम दिने भएको छ।
सूचना प्रविधि क्षेत्र विकास गर्न सरकारले यस्ता प्रकृतिका व्यावसायिक तालिम दिने तयारी गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
‘सरकारले सूचना प्रविधि क्षेत्रको विकासका लागि प्रतिस्पर्धी क्षमता विकास, व्यावसायिकता वृद्धि, उच्च गतिको भरपर्दो इन्टरनेट सेवा, सूचना प्रविधि पूर्वाधार, आवश्यक नीति र कानुन, सरोकारवालाबीच समन्वय र सहकार्यमा जोड दिएको छ,’ काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री शर्माले भनिन्, ‘यो वर्षदेखि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मातहतका निकायको सहयोगमा सूचना प्रविधि क्षेत्रमा छोटो प्रकृतिका व्यावसायिक तालिम दिने तयारी थालेको छ। यसले उद्यमशीलता र नवप्रवर्तनको बाटो खोल्ने मन्त्रालयको अपेक्षा छ।’
अहिले नेपालमा बौद्धिक पलायन ठूलो समस्याका रूपमा देखिन थालेको उनको भनाइ छ। नेपाली युवालाई आयआर्जनसहित देशभित्र बस्ने अवसर सुनिश्चित गर्ने क्षेत्र नै सूचना प्रविधि हुने उनले बताइन्।
‘एकातिर हामी डिजिटल नेपाल निर्माणको अवधारणा कार्यान्वयन गर्दै जाँदा सुशासन, विकास र समृद्धिको बाटो तीव्रतासाथ अघि बढ्ने छौं भने अर्कातिर देशभित्र लाखौं युवा उद्यमशीलता र नवप्रवर्तनमा लाग्दा राष्ट्रिय तथा सामाजिक एकता कायम गर्न सफल हुनेछौं,’ उनले भनिन्, ‘तसर्थ, आजको यो महत्वपूर्ण कार्यक्रममार्फत म युवालाई सूचना प्रविधिका माध्यमबाट उद्यमशीलता र नपप्रवर्तनका काममा प्रवेश गर्दै आफ्नो भविष्यसँगै देशको समृद्धिमा योगदान गर्न विशेष आग्रह गर्न चाहन्छु।
सूचना प्रविधि अध्ययन अनुसन्धानमा लागेका संस्था र व्यक्तिलाई आविष्कार र नवप्रवर्तनमा थप आकर्षित गर्ने गरी देशभरिबाट हजारौं प्रतिभा सहभागी हुने गरी राष्ट्रियस्तरको प्रतिस्पर्धा गराउने डिजिटल च्याम्पियनजस्ता कार्यक्रम गर्ने पनि मन्त्री शर्माले उल्लेख गरिन्।
आइटी एक्जिबिसन गरेर सूचना प्रविधि क्षेत्रमा भइरहेका गतिविधि एउटै थलोबाट सार्वजनिक गर्ने, यो क्षेत्रमा दक्ष जनशक्तिको आकर्षण बढाउनुका साथै उपलब्ध जनशक्तिको क्षमता अभिवृद्धि गर्न छात्रवृत्ति, तालिमलगायत कार्यक्रम पनि अघि सारिएको उनको भनाइ छ।