काठमाडौं। मुलुकको आर्थिक अवस्था सुधारको बाटोतर्फ लम्किएको नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक ताजा तथ्यांकले देखाएको छ।
चालू आर्थिक वर्ष पहिलो महिना साउनमा चालू खाता, विदेशी विनिमय सञ्चिति र शोधनान्तर स्थिति सबै सुधारको बाटोमा गएको केन्द्रीय बैंकद्वारा सार्वजनिक देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदनले देखाएको हो।
विदेशी विनिमय सञ्चिति
सार्वजनिक तथ्यांकअनुसार २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोडबराबर रहेको कूल विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले वृद्धि भई साउन मसान्तमा १५ खर्ब ७३ अर्ब १२ करोड रुपैयाँ पुगेको छ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा साउन मसान्तमा १.२ प्रतिशतले वृद्धि भई ११ अर्ब ८५ करोड पुगेको छ।
कूल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा साउन मसान्तमा २.९ प्रतिशतले वृद्धि भई १३ खर्ब ८५ अर्ब २४ करोड पुगेका छ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा साउन मसान्तमा २.९ प्रतिशतले कमी आई १ खर्ब ८७ अर्ब ८९ करोड कायम भएको छ।
चालू आर्थिक वर्ष पहिलो महिनाको आयात आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.५ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।
साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कूल गार्हस्थ उत्पादन (जिडिपी), कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः २९.२ प्रतिशत, ८५.७ प्रतिशत र २६.३ प्रतिशत छन्।
शोधनान्तर स्थिति
समीक्षा अवधिमा शोधनान्तर स्थिति ३२ अर्ब ९० करोड रुपैयाँले बचतमा छ। अघिल्लो वर्ष सोही अवधिमा शोधनान्तर स्थिति १९ अर्ब ७६ करोड रुपैयाँले घाटामा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १५ करोड ५२ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २४ करोड ९५ लाखले बचतमा छ।
चालू खाता
समीक्षा अवधिमा चालू खाता १२ अर्ब ९९ करोड रुपैयाँले बचतमा छ। अघिल्लो वर्ष सोही अवधिमा चालू खाता १५ अर्ब १३ करोड रुपैयाँले घाटामा थियो।
अमेरिकी डलरमा अघिल्लो वर्ष सोही अवधिमा ११ करोड ८८ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा ९ करोड ८५ लाखले बचतमा छ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ६५.९ प्रतिशतले कमी आई २७ करोड २६ लाख रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ६५ करोडले धनात्मक छ। अघिल्लो वर्ष सोही अवधिमा पुँजीगत ट्रान्सफर ८० करोड ३ लाख रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४० करोड रुपैयाँ ऋणात्मक थियो।