काठमाडौं। व्यावसायिक घराना लक्ष्मी ग्रुप आफैंले बिलेट उत्पादन गर्ने भएको छ। ग्रुपले समृद्धि मेटालिक्स प्रालिमार्फत बिलेट उत्पादन गर्ने भएको हो।
बिलेट उत्पादन गर्न मेल्टिङ प्लान्ट पूर्वाधारको काम भइरहेको छ। नयाँ मेल्टिङ प्लान्ट स्थापना गर्न ग्रुपले १ अर्ब ७२ करोड ३३ लाख रुपैयाँ लगानी गर्ने भएको छ। जसमध्ये ७२ प्रतिशत बैंक ऋण र बाँकी २८ प्रतिशत स्वपुँजी (इक्विटी) लगानी हुनेछ।
उद्योगले २ अर्ब ७१ करोड ५५ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ। दीर्घकालीन ऋण १ अर्ब २४ करोड १० लाख र अल्पकालीन ऋण १ अर्ब ४७ करोड ४५ लाख रुपैयाँ छ।
मेल्टिङ प्लान्ट परियोजना उन्नत चरणमा पुगेको छ। सन् २०२३ भित्रै उद्योगबाट बिलेट उत्पादन थाल्ने योजना रहेको ग्रुपले जनाएको छ। प्लान्टबाट वार्षिक १ लाख २० हजार टन बिलेट उत्पादन हुनेछ। ग्रुपले सिद्धिलक्ष्मी स्टिल सञ्चालन गररहेको छ। नयाँ मेल्टिङ प्लान्ट पनि सिद्धिलक्ष्मी परिसरमा छ।
समृद्धि मेटालिक्स २०२१ मा स्थापना भएको हो। उद्योगले डन्डी उत्पादनका लागि आवश्यक बिलेट उत्पादन गर्ने छ। सिद्धिलक्ष्मी स्टिल्सको स्वामित्वमा रहेको टिएमटी मिलको पछाडि छ।
लक्ष्मी समूहका सञ्चालकमा गणेशबहादुर श्रेष्ठ,अञ्जन श्रेष्ठ, निराकार श्रेष्ठ, निरञ्जन श्रेष्ठ र सुनील श्रेष्ठ छन्। उद्योग नवलपरासी रामग्राम नगरपालिकास्थित सिद्धिलक्ष्मी स्टिल प्लान्ट छेउमा छ।
लक्ष्मी ग्रुप सन् १९७३ मा स्थापना भएको थियाे। ग्रुप हुन्डाइ गाडीको नेपालको वितरक हो। यस्तै ग्रुपले स्टिल, डेरी, प्लास्टिक प्याकेजिङ, कन्फेक्सनरी उत्पादन गर्दै आएको छ।
सरकारले नेपालमै बिलेट उत्पादन गर्न यसको आयातमा कर बढाएपछि उद्योगीले धमाधम मेल्टिङ प्लान्ट स्थापना गरिरहेका छन्। अधिकांश ठूला उद्योगले प्लान्ट सञ्चालनमा ल्याइसकेका छन्।