लक्जरी रिसोर्ट वा होटलमा बस्नेको ‘लेभल’ सामान्य व्यक्तिभन्दा धेरै माथि हुन्छ। त्यहाँ बस्न, सुत्न र खानेकुरा अत्यन्त राम्रो र सहज बनाइएको हुन्छ। र, त्यहाँ प्रयोग हुने हरेक सामान र ग्राहकले प्रयोग गर्ने सामान उच्च गुणस्तरीय रहन्छ। जुन सामान्य व्यक्तिले प्रयोग गर्नेभन्दा उच्च गुणस्तरको हुन्छ।
सामान्य मान्छेले खर्च गर्ने, हिँड्ने र खानेभन्दा माथि अर्थात एकदम आरामदायी रहेका रिसोर्ट तथा होटललाई लक्जरी भनिन्छ। पछिल्लो समय मानिसमा खर्च गर्न सक्ने क्षमता बढेपछि विश्वभरि नै घुम्न निस्किनेको संख्या बढेको छ। लामो समय कडा परिश्रम गरेपछि केही समय आराम गर्न विश्वका धनाढ्यहरू घुम्न निस्किन थालेका छन्।
नेपालमा पछिल्लो समय लक्जरी रिसोर्ट तथा होटलमा बस्न आउनेको संख्या बढिरहेको छ। पर्यटक संख्या बढेसँगै बुटिक र लक्जरी होटल तथा रिसोर्ट खुल्ने क्रम पनि बढ्न थालेको छ। सामान्यतया बुटिक होटल तथा रिसोर्टमा ९० भन्दा कम कोठा हुन्छ। कुनै पनि अन्तर्राष्ट्रिय चेन होटलसँग आबद्ध नहुने र ‘क्वालिटी अफ सर्भिस’ अरूभन्दा एकदमै उच्च हुन्छ।
हामीकहाँ अहिले लक्जरी होटल तथा रिसोर्ट निर्माण हुने क्रम बढ्दो छ। लक्जरी बनाउन महँगा सामान प्रयोग हुने गर्छ। सामान्यतया एउटा कोठा बनाउन १ करोडभन्दा बढी खर्च गर्ने गरेका छन्। जति धेरै खर्च बढ्यो त्यति नै लगानी बढ्ने भएकाले त्यसको लगानी उठाउन पनि बढी शुल्क लिने गरेका हुन्छन्।
र, त्यो कोठाको स्याहारसुसारमा पनि त्यस्तै खालको लगानी गरेको हुन्छ। त्यतिमात्र होइन, जुन रिसोर्टमा एउटा कोठाको ३ देखि ५ सय डलर प्रतिरात तिर्नुपर्छ, त्यसलाई लक्जरी भन्न मिल्छ। किनकि, जति धेरै महँगो शुल्क तोक्यो, त्यहाँ राम्रै चिज र उच्च गुणस्तर छ भन्न सकिन्छ।
कोभिडपछि धेरैजसो मानिसले ‘जुनसुकै बेला ठूलो महामारी आउने रहेछ, अब जति बाँचिन्छ रमाएर बाचौं’ र त्यसका लागि धेरैभन्दा धेरै प्रकृतिसँग नजिक भएर बस्न मिल्ने ठाउँ जहाँ धेरै मान्छे हुँदैनन्, त्यस्ता ठाउँमा भएका रिसोर्टमा बस्न चाहनेको संख्या बढिरहेको छ। र, राम्रो ठाउँमा बस्न जति पनि रकम खर्च गर्न तयार हुने पर्यटक नेपालमा बिस्तारै आउन थालेका छन्।
यो संख्या बढ्नुमा पहिलो कुरा मान्छेमा खर्च गर्न सक्ने क्षमता बढ्दै जानु र दोस्रो भनेको पहिला–पहिला त्यो खालको संरचना (रिसोर्ट तथा होटल) नै थिएन। अहिले भने लक्जरी रिसोर्ट तथा होटल निर्माण भएकाले महँगो रकम खर्च गर्नेका लागि पनि बोलाउन सक्ने अवस्थामा नेपाल पुगिसकेको छ।
अहिले जोमसोममा तयार भइरहेको सिन्तामणी रिसोर्टले प्रतिव्यक्ति प्रतिदिन १ हजार ७ सय डलर तिर्नुपर्ने र न्यूनतम पाँच दिन बस्नुपर्ने हुन्छ। यो खालका रिसोर्टले विश्वभरि नेपालमा लक्जरी रिसोर्ट छ भन्ने प्रचार भइरहेको छ। नोभेम्बरबाट रिसोर्ट सञ्चालनमा आउने छ। र, यसअघि नेपाल नआएकालाई पनि आउने बाटो खोलिदिन्छ।
लक्जरी खोज्ने पर्यटक सबैभन्दा बढी अमेरिकी हुन्छन्। उनीहरूको मानसिकतामै जति महँगो शुल्क उति नै गुणस्तरीय हुन्छ र राम्रो सेवा सुविधा हुन्छ भन्ने बुझाइ छ।