काठमाडौं। वाणिज्य बैंकहरूले एक महिनामै १.३० प्रतिशतविन्दुसम्मले निक्षेपको ब्याजदर बढाएका छन्। उनीहरूले गत भदौमा दिएको निक्षेपको ब्याजदर असोजमा ०.०१ प्रतिशतदेखि १.३० प्रतिशतविन्दुसम्म असोजमा बढाएका हुन्।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये भदौभन्दा असोजमा लागू हुने निक्षेपको ब्याजदर सातवटाले बढाएका छन् भने सातले यथावत र ६ ले घटाएका छन्।
६ वाणिज्य बैंकले भदौमा दिएको ब्याजदरभन्दा ०.३९ देखि १.६ प्रतिशतविन्दुसम्म असोजमा घटाएर निक्षेपको ब्याजदर सार्वजनिक गरेका हुन्।
भदौमा दिएको ब्याजदरमा सबैभन्दा धेरै प्राइम बैंकले र सबैभन्दा कम नेपाल एसबिआई बैंकले असोजमा थप गर्दा भदौको ब्याजदरमा सबैभन्दा बढी नेपाल र सबैभन्दा कम ग्लोबल आइएमई बैंकले घटाएर असोजको ब्याजदर सार्वजनिक गरेका छन्।
असोजमा सर्वाधिक ब्याज दिने बैंक
असोज महिनामा वाणिज्य बैंकहरूले निक्षेपमा ९.२९ देखि ११.३५ प्रतिशतसम्म ब्याजदर दिने भएका छन्। जसमा प्राइम बैंकले सर्वाधिक धेरै व्यक्तिगत मुद्दती निक्षेपमा ११.३५ प्रतिशतसम्म दिने भएको छ।
प्राइमले भदौमा दिएको ब्याजभन्दा १.३० प्रतिशतविन्दुले असोजमा थप गरेको हो। साथै, असोजमा निक्षेप राख्दा नेपाल बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ९.२९ प्रतिशत ब्याज दिन्छन्। स्ट्यान्डर्डले भदौमा ८.९२ प्रतिशत र नेपाल बैंकले १०.८९ प्रतिशत निक्षेपमा ब्याज दिएका थिए
असोजमा पाँच बैंकले ११ प्रतिशतमाथि, नौले १० प्रतिशतमाथि, ११ प्रतिशतसम्म र ६ ले ९ प्रतिशतमाथि ९.९९ प्रतिशतसम्म निक्षेपको ब्याजदर दिने घोषणा गरेका छन्।