-२०८० असार १२ गते चीनका अर्बपति व्यापारी तथा संसारका ठूलामध्ये पर्ने अनलाइन सपिङ प्लेटफर्म ‘अलिबाबा’ का संस्थापक ज्याक मा तीन दिन नेपाल बसेर फर्किए। चार्टर जहाज लिएर आएका ज्याकले तीनै दिन काठमाडौंमा बिताए।
- २०७९ असोज २५ मा अमेरिकाका ७३ जना अर्बपति ‘निजी जहाज’ मा आई नेपाल घुमेर फर्किए। अमेरिकी अर्बपतिहरूको टोलीमा नेसनल जोग्राफिकल सोसाइटीका सञ्चालक समिति सदस्यहरू थिए।
अपवादै सही, यी सुखद घटनाले विश्वका धनाढ्यहरूको भ्रमण गन्तव्यका सूचीमा नेपाल पर्न थालेको महसुस गराउँछ। स्फूर्ति/ताजगी (रिफ्रेसमेन्ट) का लागि विश्वका धनाढ्यहरूको सूचीमा नेपाल पर्नु आफैंमा सुखद खबर हो। माथिका दुुई घटनालाई लिएर ठूलो आकर्षण छ भन्न कसरी सकिन्छ भन्ने प्रश्न पनि उठ्न सक्छ। तर, ती धनाढ्य नेपाल आएको कुरा अध्यागमन विभाग/कार्यालयको असावधानीका कारण ‘लिक’ भएको हो। धेरै धनाढ्य नेपाल आएर फर्किएको कसैले सुुइँकोसम्म पाउँदैनन्।
नेपालमा महँगा होटल/रिसोर्ट विस्तारमा भइरहेको प्रतिस्पर्धाले धनाढ्य आगमन बढ्दै गएको पुष्टि हुन्छ। खासगरी कोभिड–१९ महामारिपछि विदेशी धनाढ्य नेपाल आउने क्रम बढेको सरोकारवालाको भनाइ छ। प्रायः धनाढ्य महँगो शुल्क तिरेर होटल तथा रिसोर्टमा बस्ने गर्छन्।
आर्थिक सर्वेक्षण २०७९/८० अनुसार सन् २०२२ मा समग्र पर्यटक आगमन तथ्यांक हेर्दा कूल पर्यटकमध्ये ६४.७ प्रतिशत बिदा/मनोरञ्जन/यात्राका लागि नेपाल भ्रमण गरेको देखिन्छ। त्यसैगरी १२.९ प्रतिशत तीर्थयात्रा, १० प्रतिशत पर्वतारोहण/साहसिक यात्रा र १२.४ प्रतिशत अन्य उद्देश्यले नेपाल भ्रमण गरेकोे देखिन्छ।
यस अवधिमा नेपालमा पर्यटकको औसत बसाइ १३.१ दिन र प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४०.५ अमेरिकी डलरबराबर छ। तर, यो तथ्यांकले धनाढ्य पर्यटक आगमन र खर्च गर्ने प्रवृत्ति भने देखाउँदैन। तर, पछिल्ला वर्ष पर्यटक आगमनमात्र होइन, विदेशी मुद्रा संकलनमा पनि उच्च वृद्धि भएको छ।
२०२१ मा १ लाख ५१ हजार पर्यटक आगमन भएकोमा २०२२ मा ६ लाख १५ हजार पुुगेको छ। पर्यटकसँगै उक्त अवधिमा संकलित विदेशी मुद्रामा पनि व्यापक वृद्धि भएको छ। आर्थिक सर्वेक्षण २०७९/८० मा पर्यटकबाट संकलन भएको विदेशी मुद्रा १ सय ९० प्रतिशतले बढेर ४६ अर्ब ४६ करोड रुपैयाँ पुुगेको उल्लेख छ।
सामान्यतया धनाढ्यले घुम्न निस्किँदा आफ्नो परिचय सकभर खुलाउन चाहँदैनन्। नेपालमा रहेका ट्राभल एजेन्सीसँग पनि आफूहरूको परिचय नखुलाउन र प्रचार नगर्न प्रतिबद्धता गराएको पाइन्छ। खासगरी पर्यटकले सुरक्षाका कारण आफ्नो यात्रा गोप्य राखेका हुन्छन्।
चिनियाँ अर्बपति ज्याक माले पनि आफ्नो परिचय नखुलाउन सम्बन्धित एजेन्सीलाई भनेका थिए। तर, अध्यागमन स्रोतबाट उनी आएको खबर बाहिरियो। यद्यपि, माले सरकारको सुरक्षा भने लिएनन्। निजी जहाजमामा आएका अमेरिकी अर्बपतिहरूले पनि नेपालमा घुम्न आएको खबर सार्वजनिक गर्न चाहेका थिएनन्। विमानस्थलमा पार्किङ गरेको जहाज देखेपछि सोधखोज गर्दा घटना बाहिरिएको थियो।
कोरा टुर्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विजय अमात्यका अनुसार पछिल्ला वर्ष खर्चालु पर्यटकको रोजाइमा नेपाल पर्ने गरेको छ। हरेक महिनाजस्तो विभिन्न देशका धनाढ्य नेपालमा बिदा मनाउन आउने गर्छन्। पर्यटककै आग्रहअनुसार को किन नेपाल आए भनेर सार्वजनिक गरिँदैन। कोरा टुरले लामो समयदेखि नेपालमा महँगा पर्यटक (धनाढ्य) ल्याउँदै आएको छ।
प्रकृतिसँग नजिकबाट साक्षात्कार गरेर रमाउन धनाढ्य नेपाल आउने गर्छन्। धनाढ्य आउने क्रम बढेसँगै मुलुकभरि उनीहरूले खोजेजस्तो सुविधासम्पन्न होटल तथा रिसोर्ट निर्माणको क्रम पनि बढिरहेको छ। त्यसो त १९६४ मा चितवनमा टाइगर टप्स रिसोर्ट खोलेदेखि नेपालमा लक्जरी रिसोर्टको चलन सुरु भएको मानिन्छ।
पर्यटनका पायोनियर बेलायती नागरिक जिम एडवर्ड्स, अमेरिकी नागरिक वान्ना र केलिनले ‘टाइगर टप्स हन्टिङ’ नामक कम्पनी खोलेर चार कोठाबाट टाइगर टप्स सुरु गरेका थिए। पर्यटन क्षेत्रका विज्ञका अनुसार टाइगर टप्स नै नेपालको पहिलो लक्जरी रिसोर्ट हो। विडम्बना, हाल उक्त रिसोर्ट पूर्णरूपमा बन्द भएको छ। टाइगर टप्स बन्द भए पनि लक्जरी रिसोर्टहरू बिस्तारै खुल्ने क्रम भने जारी नै रह्यो।
टाइगर टप्स बन्द भएपछि पर्यटक मोडिएको गन्तव्यलाई काठमाडौंको द्वारिकाज होटल एन्ड रिसोर्टले पक्रन थाल्यो। अहिले नेपाल आउने अधिकांश धनाढ्यको बसाइँ काठमाडौंमा रहँदा द्वारिकाज हुने गरेको छ। चितवनमै मेघौली सेराइको प्रवेशले लक्जरी रिसोर्ट आगमनलाई प्रश्रय दिएको भान हुन्छ।
कोभिडपछि हिमाल आरोहणका लागि धनाढ्य र धेरै महत्वपूर्ण व्यक्ति (भिआइपी) पनि नेपाल आउने गरेको सेभेन समिट ट्रेकका अध्यक्ष मिङ्मा शेर्पा बताउँछन्। शेर्पाका अनुसार विभिन्न देशका राजकुमार, राजकुमारीसहितका धनाढ्य स–साना हिमाल आरोहण गरी सगरमाथा आरोहणको बाटो खोलेर फर्किने गर्छन्। हिमाल आरोहणका लागि समेत ठूलो रकम खर्च गर्न तयार हुने उनीहरूलाई ट्रेकिङ कम्पनीले यात्राका क्रममा पनि पाँचतारे होटलको सुविधा उपलब्ध गराउँदै आएका छन्।
लक्जरी रिसोर्ट तथा होटल आफैंमा महँगो हुन्छ। यस्ता होटल तथा रिसोर्टमा बस्न आउनेको संख्या पनि सानो हुन्छ। तर, खर्चको हिसाबमा हेर्ने हो भने लक्जरी रिसोर्टमा एकजना पर्यटक बस्नुबराबर अन्य होटलमा १० जना बसेबराबर हुन्छ। टाइगर टप्सले ३०÷३५ वर्षअघि नै प्रतिपर्यटक एक रातको ३ सयदेखि ५ सय डलरसम्म शुल्क लिने गरेको थियो।
अमात्यका अनुसार त्यतिबेला टाइगर टप्स बन्द भए पनि महँगा पर्यटक भारत र अफ्रिकी देशतर्फ ‘डाइभर्ट’ भए। त्यसो त अहिले पनि लक्जरी रिसोर्टमा बस्दा प्रतिव्यक्ति प्रतिकोठा न्यूनतम ३ सय देखि ५ सय डलरसम्म पर्छ। लक्जरी रिसोर्ट तथा होटल प्रयोग गर्ने पर्यटकले सवारीसाधन पनि त्यही किसिमको सुविधासम्पन्न खोज्ने गर्छन्। तर, महँगा गाडी ल्याउँदा उच्च कर तिर्नुपर्ने कारण व्यवसायीहरू हच्किने गरेका छन्।
एक दिन एउटा मर्सिडिज गाडी भाडामा लिनुप¥यो भने ६० देखि ७५ हजार रुपैयाँसम्म भाडा तिर्नुपर्छ। यस्ता गाडीहरू सीमित रहेकाले महँगो भाडा तिरेर पर्यटकलाई सुविधा दिन व्यवसायीहरू चुकिरहेका छन्। लक्जरियस सवारी प्रयोग गर्न सडक पनि त्यही किसिमको हुनुुपर्छ। त्यतिमात्रै होइन, खानपान र मदिरा पनि उही प्रकृतिको (विश्वस्तरीय) हुनुु आवश्यक छ।
पछिल्लो समय सरकारले वस्तुु तथा सेवा आयात र पर्यटन क्षेत्रमा विभिन्न किसिमका कर थोपर्दा बामे सर्दै गरेको पर्यटन क्षेत्रमा ठूलो धक्का लाग्ने सिइओ अमात्य बताउँछन्। धेरै खर्च गर्ने गरी आउने महँगा पर्यटक नेपालमा सामान्यतया ७ दिनदेखि ३ सातासम्म बस्ने गरेको सम्बद्ध पक्षको भनाइ छ।
एकसाथ चार लक्जरी होटल तथा रिसोर्ट सञ्चालन गर्न लागेका सांग्रिला होटल एन्ड रिसोर्ट ग्रुप प्रबन्ध निर्देशक प्रविण पाण्डेले लक्जरीको परिभाषामा केही फरक हुन लागेको बताए। ‘विश्व र नेपालको लक्जरी फरक छ,’ पाण्डेले भने, ‘विदेशीका लागि नेपाल आउँदा प्रकृतिलाई नजिकबाट साक्षात्कार गर्ने अवसर मिल्नु नै लक्जरी हो। त्यस खालका होटल तथा रिसोर्टहरू निर्माण हुँदा सकारात्मक प्रभाव पर्छ।’
समयको मागअनुसार सांग्रिला विदेशी व्यवस्थापनमा सञ्चालन हुन लागेको हो। संसारका अधिकांश मानिसहरू घुम्न निस्किँदा ब्रान्ड होटलको खोजीमा रहने भएकाले आफूहरू पनि त्यसलाई शिरोपर गर्दै चारवटै होटल तथा रिसोर्ट व्यवस्थापन गर्न विश्वप्रसिद्ध होटल व्यवस्थापन कम्पनी ‘आइएचजी होटल्स एन्ड रिसोर्ट’ भित्र्याइएको पाण्डेले बताए। आइएचजीले काठमाडौं लाजिम्पाटमा ‘इन्टरकन्टिनेन्टल काठमाडौं लाजिम्पाट’, पोखरा घारीपाटनमा ‘होटल इन्डिगो पोखरा’, पोखरा बेगनास तालमा ‘इन्टरकन्टिनेन्टल पोखरा बेगनास लेक’ र चितवन मेघौलीमा ‘इन्टरकन्टिनेन्टल रिसोर्ट चितवन’ निर्माण गर्ने छ।
लक्जरी रिसोर्टमा बढ्दै नेपाली पर्यटक
विदेशी पर्यटकलाई लक्षित गरेर निर्माण गरिएका महँगा रिसोर्टहरूमा नेपाली पर्यटकसमेत बास बस्न थालेका छन्। दैनन्दिन बढिरहेको आन्तरिक पर्यटक संख्याका कारण कतिपय होटल तथा रिसोर्टले मूल्यसमेत विदेशी पर्यटकभन्दा कममा नेपालीलाई उपलब्ध गराउन थालेका छन्। महँगा होटल तथा रिसोर्ट आन्तरिक पर्यटकको रोजाइमा पर्नु पर्यटकीय हिसाबले राम्रो मानिएको छ।
नेपालमा पनि धेरै धनाढ्य रहेकाले बिदा मनाउन र आन्तरिक पर्यटनका लागि निस्किँदा लक्जरी रिसोर्ट प्रयोग गर्ने क्रम बढ्दो छ। कोभिडपछि पैसा जोगाएरमात्र नहुने भएकाले घुमफिर पनि गर्नुपर्छ भन्ने भाष्य नेपालीमा बन्दै गएकाले आन्तरिक पर्यटन फस्टाउँदै आएको छ।
महँगो शुल्क तिर्ने पर्यटकको औसत बसाइ कति?
सामान्यतया महँगो शुल्क तिर्ने पर्यटकको बसाइ अवधि छोटो हुने गरेको छ। कतिपय पर्यटक चार्टर उडानमार्फत आउने भएकाले तीन÷चार दिनमै पनि फर्किने गर्छन्। चार्टर उडानमा आउने पर्यटक नेपाललाई ‘ट्रान्जिट’ बनाएर भुटानलगायत देशमा जाने गरेको पनि पाइन्छ। नियमित उडानमा आउने पर्यटकको बसाइँ भने १३ देखि १५ रातसम्म हुने गरेको छ। हिमाल आरोहण र ‘ट्रेकिङ’ (पदयात्रा) का लागि आउने भने तीन महिनासम्म बस्ने गर्छन्।
पर्यटनमा नयाँ ट्रेन्ड– ‘स्लो टुरिस्ट’ सुरु
पछिल्लो समय विश्वभरि पर्यटन प्रवृत्ति फेरिएको छ। सामान्यतया घुम्न निस्किँदा निश्चित समय र ठाउँ तोकेर हिँड्ने गरिन्छ। तर, अहिले धेरै यस्ता पर्यटक नेपाल पनि आउन थालेका छन्, उनीहरूलाई कुनै हतार नै हुँदैन। पर्यटक गएको ठाउँ मन प¥यो भने दुई÷तिन दिनमात्र होइन एक साता पनि बिताइदिन सक्छ।
ती पर्यटक आउँदा नै स्थान विशेष तोकेर आउने तर समयसिमा उल्लेख गरेका हुँदैनन्। होटल तथा रिसोर्टमा बस्दा पनि उनीहरू नयाँ ठाउँ घुम्न जाँदैनन्। रिसोर्टमै घन्टौंसम्म बस्ने र रमाइलो गर्ने गर्छन्। यो पर्यटनमा सुुरु भएको नयाँ ‘ट्रेन्ड’ हो। जहाँ बसाइको कुनै सीमा हुँदैन।
अधिकांश नयाँ रिसोर्ट तथा होटल हेर्न पुग्छन् अमात्य
विजय अमात्य उनै हुन्, जो नेपालमा खुलेका अधिकांश लक्जरी रिसोर्ट तथा होटल पुगेकै हुन्छन्। पछिल्लो समय त नयाँ खुल्नेबित्तिकै एकपटक भ्रमणका लागि आइदिनुप¥यो भनेर अनुरोधसमेत आउन थालेको छ। ‘किन घुम्छन् त अमात्य?’ उनी भन्छन्, ‘आफ्ना ग्राहक (पर्यटक) लाई रिसोर्ट तथा होटलले दिने सुविधामा कुनै कमी नहोस् भनेर आफैं पहिला ग्राहक भएर जाने गरेको छु। म ती रिसोर्ट तथा होटलका सेवाबाट सन्तुष्ट भए भनेँ आफ्नो एजेन्सीमार्फत आउने ग्राहकलाई त्यहाँ बस्न सिफारिस गर्छु।’
उनले आफ्नो एजेन्सी (कोरा टुर्स) मार्फत मात्र नभई कसैले नेपालको रिसोर्ट तथा होटलबारे जानकारी लिन खोजे पनि आफू गएको ठाउँको मात्र जानकारी गराउँछन्। त्यतिमात्र होइन, ती रिसोर्ट तथा होटलले दिने सेवासुविधामा केही कमी भए सुधार गर्न सुझावसमेत दिएर आउँछन्। रिसोर्ट तथा होटलमा बस्दा उनी आफ््नो लागेको खर्च भने आफैंले तिर्ने गरेका छन्।
नेपालका केही लक्जरी रिसोर्टहरु
सिन्तामणी मुस्ताङ
मुस्ताङमा सञ्चालित मोक्ष रिसोर्ट व्यवस्थापन सिन्तामणी होटल एन्ड रिसोर्टले लिएसँगै नेपालको सबैभन्दा महँगो लक्जरी रिसोर्ट बनेको छ। अगष्ट १३( साउन २८) गतेदेखि सञ्चालनमा आएको रिसोर्ट शेर्पा हस्पिलाटिली ग्रुपअन्तर्गत सञ्चालन भइरहेको छ।
समुद्र सतहबाट २ हजार ८ सय मिटर उचाइ तथा कालिगण्डकी नदीछेउ जोमसोममा रहेको होटलमा २९ कोठा छन्।सञ्चालनमा आएको सिन्तामणीमा बस्न न्यूनतम ५ दिनको बुकिङ गर्नुपर्छ। नेपाली वा विदेशी जो भए पनि होटलमा बस्न चाहनेले अनिवार्य कम्तीमा ५ दिनको बुकिङ गर्नुपर्ने छ।
होटलमा बस्न प्रतिरात १ हजार ८ सय अमेरिकी डलर तिर्नुपर्छ। यो प्याकेज दुईजनाका लागि हुनेछ। यही रकममा कोठा, वेलनेश प्रोगाम, खाना र पेयपदार्थ पाइने छ।
होटलका कोठा अमेरिकी आर्किटेक्ट कम्पनी बेन्सलेकै डिजाइनअनुसार पुनर्निर्माण गरिएको छ।होटलले आतिथ्यतासाथै हर्स राइडिङ, साइक्लिङ, रक क्लाइम्बिङ, आर्चरी, हाइकिङ, ट्रेकिङ, योगालगायत सुविधा उपलब्ध गराउँदै आएको छ। होटलमा बस्ने पाहुनालाई पैसामात्र होइन, उनीहरूलाई कुनै पनि सुविधामा अपुग नहोस् भन्ने सोचसाथ प्रत्येक पर्यटकलाई एक÷एक गाइडसमेत उपलब्ध गराउने र पृथक महसुस दिलाउने लक्ष्य राखेको छ।
मेघौली सेराइ चितवन
उद्यमी विनोद चौधरीको लगानी रहेको ‘मेघौली सेराइ’ लक्जरी रिसोर्टले पछिल्लो समय महँगा पर्यटक भित्र्याइरहेको छ। राप्ती महल, राप्ती भिल्ला र मेघौली रुम रहेको रिसोर्टमा ३० कोठा छ। टाइगर टप्स बन्द भएपछि लक्जरी रिसोर्ट खोजीमा आउने विदेशीका लागि उत्तम गन्तव्य मेघौली सेराइ बनेको छ। राप्ती नदी किनारमा रहेको सफारी लजमा ३ सयदेखि १ हजार ५ सय डलरसम्मका कोठा छन्।
राप्ती महल (पि भिल्ला) नाम दिइएको कोठा मूल्य पर्यटकीय सिजनमा १ हजार ८ सय डलरसम्म पर्छ। भिल्लामा प्रयोग गरिएका सामान इन्डोनेसिया बालीबाट ल्याइएको र लजमा सुविधासम्पन्न १६ भिल्ला छ। प्रत्येक भिल्ला एउटा घरजस्तै छ भने प्रत्येक भिल्लाको अगाडि स्विमिङ पुल छ। लजले जंगल सफारीका लागि हात्ती पालेको छ।
जंगलका दृश्य हेर्न पाइने १२ कोठा छन्। १६ निजी स्विमिङ पुल भएका भिल्ला र आलिशान राप्ती महल प्रेसिडेन्सियल स्विटलगायतमा स्थानीय कलाकृतिको सजावट देख्न पाइन्छ। नेवारी र थारु संस्कृति झल्काउने ढोका र प्राकृतिक रङ प्रयोगले लजको शोभा बढाएका छन्।
जिप र जंगल सफारीले अतिथिलाई प्राकृतिक सौन्दर्यको अनुभूति लिने मौका दिन्छ। स्थानीय थारु गाउँको पदयात्राले परम्परागत जीवनशैली बुझ्न सघाउँछ। साथै, अतिथिले स्थानीय पेयपदार्थ र घरेलु अचारकोे स्वाद पनि लिन पाउँछन्। राप्ती खोलामा क्यानोइङ वा हिमालयन फेदमा ट्रेकिङ पनि गर्न सकिन्छ।
द्वारिकाज रिसोर्ट धुलिखेल
काभ्रे धुलिखेलमा सञ्चालित द्वारिकाज रिसोर्ट काठमाडौं उपत्यका नजिकको गन्तव्यमा छ। लक्जरी रिसोर्ट खोजीमा आउनेको प्रमुख गन्तव्य बनेको द्वारिकाजमा ४० कोठा छन्।
रिसोर्टमा रोयल सुइट, हेरिटेज एक्जिक्युटिभ सुइट, हेरिटेज जुनियर सुइट, हेरिटेज डिलक्स रुम छन्। रमणीय स्थानमा रहेको रिसोर्ट सधैं भरिभराउ हुने गर्छ। रिसोर्टमा जाने पर्यटकले प्रतिरात २ सय डलरदेखि ५ सय डलरसम्म खर्च गर्ने गरेका छन्।
काब्या रिसोर्ट
भक्तपुर नगरकोटमा सञ्चालित काब्या रिसोर्ट खर्च क्षमता उच्च भएका स्वदेशी एवं विदेशी पर्यटक लक्षित छ। विभिन्नस्तरका २० भिल्ला रहेको यो लक्जरी रिसोर्टमा एक रात बस्न विदेशीलाई डबल बेड भएको सुइट रुमको ३ सय ५३ डलर, एउटा बेड रुम भएको भिल्लाको ४ सय ४० र दुई बेडरुमवाला भिल्लाको ६ सय २० डलर तिर्नुपर्छ। यो रुममा भने चारजनासम्म बस्न सकिन्छ।
नेपालीका लागि भने सुइट रुममा ३५ हजार, एउटा बेडरुम भएको भिल्लामा ४५ हजार, दुई बेडरुम भएको भिल्लामा ८० हजार रुपैयाँ पर्छ। यो रकम करबाहेक हो। रिसोर्टले १ सय ७५ रोपनी क्षेत्रफल ओगटको छ। यसमा योगा क्षेत्र छुट्टै छ।
काठमाडौं द्वारिकाज
काठमाडौंको बत्तीसपुतलीमा सञ्चालित द्वारिकाज पाँचतारेस्तरको लक्जरी रिसोर्ट हो। यसमा बस्न पर्यटकले एक रातको २ सय ७० डलरदेखि ४ सय डलरसम्म खर्च गर्नुपर्छ। पूर्णरूपमा बुटिक रिसोर्टमा ६ सुइट, ८१ सुइट डिलक्स र स्ट्यान्र्डड कोठा छन्। रिसोर्टमा खासगरी युरोप र अमेरिकाबाट आएका खर्चालु पर्यटक बस्ने गरेका छन्।
बबरमहल भिल्ला
हेरिटेज रिसोर्ट तथा होटलका रूपमा रहेको बबरमहल भिल्ला राणाकालीन दरबारमा सञ्चालित छ। काठमाडौं उपत्यकालाई केन्द्रमा राखेर ऐतिहासिक र सांस्कृतिकरूपमा महत्वपूर्ण वातावरणमा विलासिता र सेवा प्रदान गर्दै आएको भिल्लामा नेवार, मुस्ताङ र तराई संस्कृतिको मौलिक वास्तुकला सम्पदासँग मिसिएको राणायुगको भव्य जीवनशैली चित्रण गरिएको छ।
बबरमहल रिभिजिटेड कम्प्लेक्समा सञ्चालित रिसोर्टमा ३३ कोठा छन्। रिसोर्टमा ट्रेडिसनल रुम, ट्रेडिसनल सुइट, हेरिटेज सुइट र रोयल सुइट छन्। यी कोठामा बस्न प्रतिरात २ सय ८० र दुईजनाका लागि ३ सय डलर पर्छ।
द टेरेसेस
ललितपुर लाकुरीभञ्ज्याङमा सञ्चालित द टेरेसेस रिसोर्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ किलोमिटर र ठमेलबाट २३ किलोमिटर दुरीमा छ। रिसोर्टबाट काठमाडौं उपत्यका नजिकबाट नियाल्न सकिन्छ। त्यतिमात्र होइन, त्यहाँबाट माछापुच्छ्रेसहित विभिन्न हिमाल देख्न सकिन्छ।
४० रोपनी क्षेत्रफल ओगटेको रिसोर्टका हरेक कोठाबाट काठमाडौं उपत्यका र हरियाली देख्न सकिन्छ। रिसोर्टमा १६ डिलक्स, दुई सुइट र २८ स्ट्यान्डर्ड गरी ४६ कोठा छन्।
ती कोठामध्ये नेपालीलाई अहिले प्याकेजका रूपमा स्ट्यान्डर्डमा एक जोडीका लागि प्रतिरात २५ हजार र सुइटमा ५९ हजार रुपैयाँ शुल्क तोकिएको छ। सुइट रुममा भने ज्याकुजीको समेत सुविधा छ। विदेशीका लागि कोठा शुल्क न्यूनतम २ सय ८० डलर तोकिएको छ।
गोर्कर्ण फरेस्ट गल्फ रिसोर्ट
काठमाडौं गोकर्णेश्वर नगरपालिकामा रहेको गोकर्ण फरेस्ट रिसोर्ट विदेशी पर्यटकको उच्च रोजाइमा पर्ने गरेको छ। सहरी क्षेत्रमा भए पनि रिसोर्टमा ठूलो जंगलसमेत छ।
रिसोर्टमा १ सय कोठा छन्। तीमध्ये ८४ प्रिमियम, १० क्लब, ५ प्रिमियम सुइट र एक गोकर्ण सुइट छन्। रिसोर्टमा विदेशीका लागि १ सय ५० देखि ३ सय ५० डलरसम्म मूल्य तोकिएको छ। यस्तै नेपालीलाई १५ हजारदेखि ३५ हजारसम्म निर्धारण गरिएको छ।
यो रकममा नेपाली र विदेशी दुवैलाई बिहानको नास्ताको व्यवस्था पनि गरिएको छ। ४ सय ५० हेक्टरमा फैलिएको रिसोर्टमा नेपालमै पहिलो र सुविधासम्पन्न गल्फ रिसोर्ट कोर्ससमेत रिसोर्टमा छ।
तायो इको रिसोर्ट
परम्परा र प्रविधि मिश्रणमा आधुनिक सेवा सुविधासहित नेवारी आर्किटेक्चर प्रयोग गरी भक्तपुर नगरकोटमा तायो इको रिसोर्ट सञ्चालनमा आएको छ। रिसोर्टमा नेपाली शैलीका १० कटेजसहित कूल १८ संरचना छन्। प्रत्येक कटेजमा चार बेडरुम छन्। रिसोर्टमा ४० डिलक्स रुम छ भने सुइट रुम छन्।
रिसोर्टमा नेपालीका लागि अधिकतम १८ हजार र विदेशीका लागि न्यूनतम २ सयदेखि ३ सय ५० डलर निर्धारण गरिएको छ। यो रकममा बेलुकाको खाना र बिहानको खाजा समावेश गरिएको हुन्छ। ३० रोपनी क्षेत्रफल ओगटेको यो रिसोर्टबाट हिमशृंखलासँगै साँखु, काठमाडौं, थानकोटको दृश्यावलोकन गर्न सकिने छ।
चन्द्रागिरि हिल्स रिसोर्ट
चन्द्रागिरि केबुलकारसँगै सञ्चालनमा रहेको चन्द्रागिरि हिल्स रिसोर्ट लक्जरी रिसोर्ट हो। १ सय कोठा रहेको रिसोर्टमा सुइट, डिलक्स र एक्जिक्युटिभ रुम छन्। त्यसबाहेक नेपालीपन झल्कने र विश्वस्तरीय सेवा उपलब्ध हुने कफी सप र फुडकोर्टसमेत छ।
रिसोर्टमा नेपालीका लागि प्रतिरात दुईजनाको १३ देखि १७ हजार रुपैयाँ र विदेशीका लागि १ सय २० देखि १ सय ५० डलरसम्म पर्छ। रिसोर्टमा एउटा बार, एउटा बोर्डरुम र तीनवटा कन्फ्रेन्स हल छन्। यस्तै स्विमिङ पुल, स्पा र हेल्थ क्लब पनि छ।
क्लब हिमालय
२५ वर्षदेखि भक्तपुर नगरकोटमा सञ्चालित क्लब हिमालय रिसोर्टमा ६८ कोठा छन्। रिसोर्टमा स्टान्डर्ड, डिलक्स र डिलक्स प्रिमियम रुम छन्। नेपालीका लागि स्टान्डर्ड १३, डिलक्स १४ र डिलक्स प्रिमियम भने १६ हजार रुपैयाँ पर्छ। यहाँ बेलुकाको खाना र बिहानको खाजा समावेश गरिएको हुन्छ। विदेशीका लागि १ सय ५० देखि २ सय १० डलरसम्मका कोठा छन्।
पार्क भिलेज होटल रिसोर्ट एन्ड अपार्टमेन्ट
काठमाडौं बूढानीलकण्ठस्थित पार्क भिलेज होटल रिसोर्ट एन्ड अपार्टमेन्ट ४३ डिलक्स कटेज, १४ अपार्टमेन्ट, ३५ स्ट्यान्डर्ड, २४ सुइट डिलक्स र तीन भिल्ला रुम छन्। रिसोर्टमा प्रतिरात एक पर्यटकले ६० देखि १ सय ४० डलरसम्म तिर्नुपर्छ। त्यस्तैगरी अपार्टमेन्टमा भने प्रतिमहिना ९ सयदेखि १ हजार ८ सय डलरसम्म तिर्नुपर्छ।
टेम्पल टाइगर ग्रिन जंगल रिसोर्ट
चितवन राष्ट्रिय निकुञ्ज नजिकै नवलपरासीमा सञ्चालित टेम्पल टाइगर ग्रिन जंगल रिसोर्ट विदेशी एवं स्वदेशी पर्यटकका लागि आकर्षण बनिरहेको छ। खासगरी जंगल सफारीका लागि परिचित रिसोर्टमा २० लक्जरी भिल्ला छन्। रिसोर्टमा एक रात बस्न नेपालीलाई न्यूनतम १५ हजार र विदेशीलाई २ सय ५० अमेरिकी डलर तिर्नुपर्छ। नेपालमा खर्चालु पर्यटक ल्याउने रिसोर्टभित्र यो रिसोर्ट पनि अग्रस्थानमा रहँदै आएको छ।
दुसित थानी हिमालय रिसोर्ट
काभ्रे धुलिखेलमा रहेको दुसित थानी हिमालय रिसोर्ट थाइल्यान्डको चर्चित चेन होटल हो। रिसोर्टमा रहेको कोठा प्रतिदिन प्रतिकोठा न्यूनतम ३ सय डलर निर्धारण गरिएको छ। योसँगै तीन बेडरुमको १ हजार ५ सय डलर तोकिएको छ। ६३ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा लक्जरी भिल्लासहित ८५ कोठा छन्। खासगरी विदेशी पर्यटक लक्ष्य गरी सञ्चालित रिसोर्टबाट देखिने मनमोहक दृश्यले पर्यटकको मन लोभ्याउँछ।
अन्नपूर्ण भ्यु रिसोर्ट
पोखरा सराङकोटमा सञ्चालित अन्नपूर्ण भ्यु रिसोर्टबाट अन्नपूर्ण हिमाल नजिकबाट नियाल्न सकिन्छ। समुद्र सतहबाट १ हजार ६ सय मिटर उचाइमा बनेको अन्नपूर्ण भ्युमा २४ डिलक्स, ६ सुइट र दुई डिलक्स सुइ रुम छन्। डिलक्स रुमको आकार ५० वर्गमिटर, सुइटको ७५ र डिलक्स सुइटको ८० वर्गमिटरको छ। रिसोर्टमा बस्नेले न्यूनतम प्रतिदिन प्रतिकोठा १ सय ५० देखि ३ सय डलरसम्म तिर्नुपर्छ।
आगन्तुक रिसोर्ट
काभ्रे बनेपामा सञ्चालित आगन्तुक रिसोर्ट झट्ट हेर्दा माटोले बनेको ढिस्कोजस्तै देखिन्छ। जग्गा बनावटअनुसार नै संरचना निर्माण गरिएकाले बाहिरबाट आउनेबित्तिकै हेर्नेलाई लाग्न सक्छ यो त पुरानै घर हो। तर, त्यो घरभित्र रहेका कोठा भने आधुनिक शैलीमा सजिसजावटसहित ‘लक्जरियस’ छन्।
७२ रोपनी क्षेत्रफल ओगटेको रिसोर्टमा ६८ कोठा छन्। रिसोर्टमा ४ सुइट, ४० प्रिमियम, आठ डिलक्स र १६ स्ट्यान्डर्ड कोठा छन्। १ सय ८० डिग्रीको ‘एंगल’ मा हिमालय शृंखला अवलोकन गर्न सकिन्छ।
रिसोर्टमा नेपालीका लागि प्रतिरात साढे १२ हजारदेखि २० हजार रुपैयाँसम्मका कोठा पाइन्छ भने विदेशीका लागि ८५ देखि १ सय २० डलरसम्म निर्धारण गरिएको छ।