काठमाडौं। संघीय राजधानी कालिमाटी र सोल्टीमोडको बीचमा छ– स्वीटकेभ। कालिमाटी सोल्टीमोड क्षेत्रका जोकोही त्यसबारे जानकार हुने भइहाले। त्यसबाहिरका मानिस पनि स्वीटकेभबारे जानकारी राख्न थालेका छन्।
५० वर्षदेखि सञ्चालित स्वीटकेभ अभियान्ता तथा राजनीतिज्ञ सुमन सायमीका बुबा जीवन मानन्धरले स्थापना गरेका हुन्। सुमन पढ्नमा कमजोर भएपछि भविष्यमा दुःख नपाओस् भनेर चिया पसल खोलिएको सुमनकै भनाइ छ। बुबाले खोलिदिएको पसलमा सुमन कक्षा ७ देखि नै दैनिक एक/डेढ घन्टा काम गर्थे।
त्यतिबेला ललितपुर पश्चिम भेगका मानिस स्वीटकेभ आउँथे। काठमाडौं आउनेका लागि राजनीतिक गफ गर्ने र चिया खाने अड्डा नै बनेको थियो, स्वीटकेभ।
भूमिगत बेलामा कम्युनिस्ट नेताहरूलाई आफ्नो पसलभित्र राखेर संगठन विस्तारका काम गराउँथे जीवन मानन्धर। कम्युनिस्ट पार्टीको छैठौं महाधिवेशनसमेत मानन्धरकै चिया पसलमा भएको धेरैको बुझाइ छ। पश्चिम भेगबाट काठमाडौं आउने र काठमाडौंबाट फर्किनेहरूले सस्तो, मिठो र राम्रो खाजा पाइन्छ भनेर चिया पसलमा पस्ने गरेका कारण पनि बिस्तारै चर्चा बटुल्दै थियो।
र, बिस्तारै सुमनले पूर्णरूपमा स्वीटकेभ हेर्न थाले। ५० वर्ष पूर्णरूपमा व्यवस्थापन हेरेपछि सामाजिक सेवामा लाग्ने भन्दै सात वर्षदेखि भने सायमीका काका श्याम मानन्धरले जिम्मेवारी लिएका छन्। तर, सुमनले बाहिर बसेरै स्वीटकेभको व्यवस्थापन हेर्दै आएका छन्।
चिया, जेरी, स्वारीमात्र बेचेर नपुग्ने भन्दै पसललाई केही विस्तार गर्नेतर्फ लागे सायमी। बिस्तारै शुद्ध घिउमा मिठाइ बनाउन थाले। नेवारी संस्कृतिमा विवाहदेखि मृत्यु संस्कारमा समेत मिठाइ चाहिन्छ।
नेवारी समुदायमा हुने हरेक भोजमा मिठाइ दिने चलन छ। धेरैले स्वीटकेभबाट मिठाइ लग्ने प्रक्रिया आज पर्यन्त कायम छ। मिठाइको व्यापार विस्तार गर्न सुमनले व्यावसायिक घराना ज्योति ग्रुपका अध्यक्ष रूप ज्योतिसँग समन्वय गरेर काम गरे। सुमन रूप ज्योतिलाई ‘गडफादर’ का रूपमा लिन्छन्।
अहिले विभिन्न रेस्टुरेन्टले सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिरहे पनि स्वीटकेभ भने त्यसबाट बाहिरै छ। स्वीटकेभमा आउनेहरूले मिठाइ राम्रो पाइन्छ भनेकै भरमा अहिलेसम्म राम्रैगरी चलेको छ। पारिवारिक रूपमा चलिरहेको व्यवसाय विस्तार गर्ने सोच बनाएर केही समयअघि एउटा ‘आउटलेट’ खोले पनि लामो समय जान सकेन र त्यसलाई बन्द गरिदिए।
स्वीटकेभमा विशेष गरेर शुद्ध घिउमा बनेको मिठाइ, डेरीका उत्पादन, भारतीय मिठाइ, केकसहित विवाहमा आवश्यक पर्ने सामाग्री पाइने गर्छ। समय अनुकूलताअनुसार व्यवसाय विस्तार गर्न सकेकै कारण ५० वर्षदेखि टिक्न सफल भएको सुमनको भनाइ छ।
बिस्तारै काठमाडौंमा मिठाइ पसलको संख्या थपिँदै जाँदा विभिन्न नाममा मिठाइ पसल खुल्ने क्रमले पनि तीव्रता पायो। सबै ठाउँमा एकै स्वादको नहुने भएपछि मानिस झुक्किन थाले। स्वीटकेभ त्यो बेला सुमनको बुबाको नामले प्रख्यात थियो।
बुबा बितेको २५ वर्ष भयो। समयक्रममा मानिस झुक्किएर अन्य पसलबाट मिठाइ लगेको तर गाली आफूले खानुपर्ने परिस्थिति निर्माण हुँदै गएपछि सुमनले अरू मानिस नझुक्किउन् र बुबाको सम्झना पनि रहिरहोस् भनेर ‘स्वीट केभ–जीवन दाइया पसः’ नामक बोर्ड राखे।
पछिल्लो समय स्वीटकेभमा बनेको मिठाइ विदेशसमेत निर्यात हुने गरेको छ। विदेश बस्ने नेपालीलाई कोसेलीका रूपमा स्वीटकेभको मिठाइ पठाउन थालेका छन्। शुद्ध घिउमा बन्ने भएकाले स्वीटकेभको मिठाइ एक वर्षसम्म पनि नबिग्रिने भएकाले सबैको रोजाइमा पर्न थालेको सुमनको भनाइ छ। विगतमा गुँदपाक नेपालबाट धेरै विदेश जाने गरेकोमा पछिल्लो समय मिठाइ रोजाइमा पर्न थालेको छ।