काठमाडौं। नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले नेपालको अर्थतन्त्र हल्ला फिँजाएजस्तो कमजोर नभएको बताएका छन्।
शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘आर्थिक मन्दिमा पुँजीबजार : सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष हमालले यस्तो बताएका हुन्।
‘नेपालमा पछिल्लो केही समययता अर्थतन्त्र कमजोर भएको, बिग्रेको र खत्तम भएको प्रचार हुँदै आएको छ,’ अध्यक्ष हमालले भने, ‘हामी नेपालीको बानी छिट्टै आत्तिने छ। तर, अधिकांस सूचकले नेपालको अर्थतन्त्र हल्ला गरेजस्तो कमजोर छैन।’ उनले सबै तथ्यांकलाई हेर्दा अर्थतन्त्र कमजोर अवस्थामा नभए पनि केही समस्यामा भने भएको बताए।
‘हिजोसम्म हामी पैसा भएन पैसा भएन भनिरहेका थियौं। तर, आज फेरि पैसा थुप्रियो चलायमान भएन भनिरहेका छौं,’ उनले भने, ‘हामी सानो कुरामा आत्तिने र हल्लाको पछाडि लाग्ने गर्छौं। यो देख्दा हामी नेपालीले कम्तीमा एक साता मेडिटेसन गर्नुपर्ने देखिन्छ।’ उनले सरकार, मन्त्रालय, धितोपत्र बोर्ड र राष्ट्र बैंकमाथि अर्थतन्त्र कमजोर भएको गलत प्रचार गर्दै प्रश्न उठाउनु उचित नभएको बताए।
‘मैले बजारको बाटोमा नेपालले अर्थतन्त्रमा लिएको नीति गलत छ भनेर भन्दै आएको छु। तर, समग्रमा यी नीति र कुरा सही ठाउँमा हुनुपर्छ,’ अध्यक्ष ढकालले भने, ‘नेपालको अर्थतन्त्र बिग्रेको अवस्थामा नभए पनि लगानी गर्ने आत्मबल भने कमजोर भएको पक्कै हो। उनले यो अवस्थामा भने सुधार ल्याउन आवश्यक भएको बताए।