काठमाडौं। मुलुककै सबैभन्दा ठूलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना सञ्चालन गरिरहेको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले रोल्वालिङ खोला जलविद्युत आयोजना बनाउन दुई वित्तीय संस्थाले ऋण लगानी प्रस्ताव गरेका छन्।
नबिल बैंक र सरकारको समेत बहुमत लगानी रहेको हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले निर्माण सुरु हुन लागेको माथिल्लो तामाकोसीको रोल्वालिङ डाइभर्सनमा लगानी प्रस्ताव गरेका हुन्।
नबिलले आयोजनामा ऋण लगानी गर्न इच्छुक रहेको जानकारी गराँउदै २०२१ अगस्ट ३ मा अपर तामाकोसीलाई पत्राचार गरेकाे थियो। यस्तै एचआइडिसिएलले पनि २०२१ अक्टुबरमा ऋण लगानी आशय पत्र पेस गरेको अपर तामाकोसीले जनाएको छ।
दुई वित्तीय संस्था ऋण दिन तयार भएकाले रोल्वालिङ परियोजनालाई लगानी समस्या नहुने अपर तामाकोसीले जानकारी दिएको छ। ऋण लगानी आशय पत्र प्राप्त भए पनि नबिल बैंक र एचआइडिसिएलसँग थप छलफल हुन बाँकी रहेको अपर तामाकोसीले जनाएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मोहनप्रसाद गौतमले हकप्रद सेयर निष्कासनबाट प्राप्त हुने रकम माथिल्लो तामाकोसी निर्माण गर्दा लिइएको अल्कालीन ऋणको साँवाब्याज चुक्ता गर्न र २२ मेगावाट रोल्वालिङ खोला आयोजना निर्माणमा खर्च गरिने बताएका छन्। कम्पनीले माथिल्लो तामाकोसी निर्माण गर्दा ६ अर्ब रुपैयाँ अल्पकालीन ऋण लिएको थियो।
हकप्रद सेयरबाट प्राप्त हुने १० अर्ब ५९ करोड रुपैयाँ छ। त्यसमध्ये माथिल्लो तामाकोसीको बाँकी रकम चुक्ता गरी ३ अर्ब ४५ करोड रुपैयाँ बचत हुनेछ। त्यसबाट अपुग हुने रकममात्र व्यवस्थापन गर्न आवश्यक देखिएको छ। रोल्वालिङ आयोजना बनाउन झन्डै साढे ४ अर्ब रुपैयाँ अपुग हुने देखिएको छ। आयोजनाको लागत मूल्यअभिवृद्धि कर (भ्याट) सहित ७ अर्ब ९२ करोड ८५ लाख रुपैयाँ अनुमान गरिएको छ।
सञ्चालनमा रहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत बिक्रीबाट प्राप्त आयमध्ये ऋण प्रदायक संस्थालाई त्रैमासिकरूपमा भुक्तानी गर्नुपर्ने दीर्घकालीन ऋणको साँवाब्याज भुक्तानीपश्चात बचत हुने रकमबाट खर्च व्यहोरिने र त्यसबाट पनि अपुग भएमा अन्य बैंक तथा वित्तिय संस्थाबाट ऋण लिनुपर्ने अवस्था देखिएको कम्पनीले हकप्रद सेयर जारी गर्नका लागि सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
रोल्वालिङ खोला जलविद्युत आयोजनाको २२ मेगावाटबाट वार्षिक १० करोड ५३ लाख युनिट र सोही पानीबाट माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा थप भएपछि २१ करोड २० लाखसमेत गरी कूल ३१ करोड ७० लाख युनिट विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ।
रोल्बालिङको समेत थप भएपछि माथिल्लो तामाकोसी आयोजनाबाट वार्षिक २ अर्ब ६० करोड युनिट बिजुली उत्पादन हुनेछ। अहिले तामाकोसीबाट २ अर्ब २८ करोड १० लाख युनिट बिजुली उत्पादन भइरहेको छ।
अपर तामाकोसीद्वारा प्रस्तावित इन्जिनियरिङ, प्रोक्युमेन्ट एन्ड कन्स्ट्रक्सन (इपिसी) खाकामा एकल प्याकेजमा निर्माण गरिने भएको छ। रोल्वालिङ खोला जलविद्युत आयोजना निर्माण गर्न निर्माण व्यवसायी एसएससिइ हाइहिमालय जेभीसँग खरिद सम्झौता भैसकेको कम्पनीले जनाएको छ।
हाल उक्त ठेकेदारबाट प्रारम्भिक चरणका कार्य तथा डिजाइन कार्य प्रारम्भ भैरहेको छ। चालू आर्थिक वर्षदेखि निर्माण कार्य प्रारम्भ गरी आगामी २०८४ को असार (जुन २०२७) भित्र निर्माण सम्पन्न गर्ने योजना रहेको कम्पनीले जनाएको छ।
नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) को क्रममा छ। आयोजनाबाट उत्पादित विद्युत प्रसारणको लागि लामाबगरदेखि गोंगरस्थित माथिल्लो तामाकोसी जलविद्युत केन्द्रसम्म ८.३५ किलोमिटर लामो ३३ केभी प्रसारण लाइन निर्माण गरी राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गर्ने योजना छ।
दोलखा गौरीशंकर हिमालको फेदीमा रहेको च्छो रोल्पा हिमतालबाट निस्कने पानीबाट बग्ने खोलालाई रोल्वालिङ खोला भनिन्छ। यो खोला माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका लागि निर्माण भएको बाँध रहेको स्थान भन्दा करिब ५ किलोमिटर तल पुगेर तामाकोसी नदीमा मिसिन्छ।
माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइनले भूमिगत संरचनाहरू प्रथम चरणमा नै निर्माण गर्ने र सुक्खायाममा थप ऊर्जा उत्पादन गर्न सहयोग पुग्ने देखिएकोले रोल्वालिङ खोलाको पानीलाई सुरुङमार्फत डाइभर्सन गरी लामाबगरस्थित बाँधमा खसाल्ने कार्य दोश्रो चरणमा गर्ने योजना रहेअनुसार उक्त सुरुङ निर्माण गर्न परामर्शदातामार्फत विस्तृत इन्जिनियरिङ डिजाइन गरिएको थियो।
आयोजनाको भूमिगत मुख्य सुरुङको लम्बाई ६.२ किलोमिटर हुनेछ। रोल्वालिङ खोला जलविद्युत आयोजनाको विद्युत गृहमा दुई पेल्ट्रन टाइपको मेसिन जडान हुनेछ। भुमिगत विद्युतगृहको उचाई २२ मिटर, लम्बाइ ३५.० मिटर र चौडाइ ११.८५ मिटर हुनेछ।