काठमाडौं। टाटाको विद्युतीय गाडी (इभी) `टियागो´ सर्ट रेन्जका गाडी सोल्ड आउट भएको छ।
नाडा अटो शोमा सार्वजनिक भएको टिगोर इभीको सर्ट रेन्जका एमआर एक्सई र एमआर एक्सटी तीन दिनमै सकिएको कम्पनीका एक कर्मचारीले बताए।
‘नाडा अटो शोको तीन दिनमा टाटाका करिब ४ सय गाडी बुकिङ भए, तीमध्ये ९५ प्रतिशत सर्ट रेन्जका टियागो बुकिङ भए,’ उनले क्यापिटल नेपालसँग भने, `टाटा मोटर्सले हामीलाई दसैं-तिहारसम्म उपलब्ध गराउने भनेको जति सर्ट रेन्जका टियागो बुकिङ भइसकेकाले हामी अहिले लङ रेन्जका गाडी बुकिङ गर्नमा फोकस गरिरहेका छौं।’
टाटाका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नाडा अटो शोको अवसरमा टियागो इभी, नेक्सन इभी एक्स जेट प्लस र पन्च सार्वजनिक गरेको थियो। टियागो इभी पाँच भेरिएन्टमा सार्वजनिक भएको थियो।
टियागोको सर्ट रेन्जको एमआर एक्सई र एमआर एक्सटी भेरिएन्टमा ९२.२ किलोवाट आवरको ब्याट्री दिइएको छ जसले ४५ किलोवाट पावर र ११० एनएम टर्क जेनेरेट गर्छ।
त्यस्तै टियागोको एलआर एक्सटी, एलआर एक्स जेड प्लस, एलआर एक्सजेड प्लस टेक एलयुएक्समा २४ किलोवाटको ब्याट्री दिइएको छ जसले ४९.०२ किलोवाट पावर र ११४ एनएम टर्क जेनेरेट गर्छ।
कम्पनीले टाटा टियागो एमआर एक्सईको २१ लाख ९९ हजार, एमआर एक्सटीको २२ लाख ९९ हजार, एलआर एक्सटी २५ लाख ४९ हजार, एलआर एक्स जेड प्लस २६ लाख ९९ हजार र एलआर एक्सजेड प्लस टेक एलयुएक्स २७ लाख ९९ हजार निर्धारण गरेको छ।
अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभीमा पाँच मुख्य विशेषता छन। जसमा कार्य कुशलता, प्रविधि, विश्वास, चार्जिङ र आरामदायिता छन्।
क्रुज कन्ट्रोलसहितको टियागो इभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रास्ट रुफ, पूर्णस्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्पलगायत विशेषता छन्। यो गाडीको इन्टेरिएर आरामदायी तथा एक्स्टेरिएर आकर्षक छ।