काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गरेको १५औं संस्करणको ‘नाडा अटो शो २०२३’ काठमाडौं भृकुटीमण्डपमा चलिरहेको छ। करिब तीन वर्ष अन्तरालमा आयोजना भएको नाडा अटो शोले लामो समयपछि अटोमोबाइल क्षेत्र चलायमान बन्ने संकेत गरेको छ।
यसअघि २०१९ मा अर्थात तीन वर्षअघि अटो शो आयोजना भएको थियो। त्यसपछि विश्वव्यापी फैलिएको कोरोना महामारीको कारण २०२० र २०२१ मा अटो शो आयोजना हुन सकेन।
कोरोना महामारी केही सामान्य अवस्थामा फर्किएपछि ठप्प जस्तै अवस्थामा रहेको अटो मोबाइल क्षेत्रले गति लिने आशा गरिएको थियो। तर, सरकारले विदेशी मुद्रा सञ्चितिमा समस्या आएको भन्दै पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन आयातमा प्रतिबन्ध लगायो।
त्यही कारण नाडाले २०२२ मा पनि अटो शो आयोजना गर्न सकेन। यद्यपि, २०२२ मा पहिलोपटक ‘नाडा इभी एक्स्पो’ भने आयोजना भएको थियो।
नाडा अटो शो २०२३ लाई तीन वर्ष अगाडि २०१९ मा सम्पन्न भएको अटो शोसँग तुलना गरेर हेर्दा समग्र क्षेत्रमा व्यापक परिवर्तन आएको देखिन्छ। यसबीच दर्जनौं नयाँ मोडेलले नेपाली बजार प्रवेश गरेर आफ्नो पहिचान बनाउन सफल भएका छन् भने २०१९ मा चलेका केही मोडेल गुमनाम बनेका छन्।
तीन वर्ष अगाडिसम्म सामान्य उपस्थिति रहेको विद्युतीय सवारीसाधन (इभी) ले यो अवधिमा आइपुग्दा आफ्नो दबदबा नै कायम गरेको छ।
२०१९ को दाँजोमा २०२३ मा इभी वर्चश्व
नाडा अटो शो २०१९ मा पनि इभीप्रति मानिसको आकर्षण देखिएको थियो। तर, हालको जस्तो ‘क्रेज’ भने थिएन। यसपालि अटो शोमा राखिएका सवारीसाधन संख्या र अवलोकर्ताले रुचि देखाएको गाडीको कुरा गर्ने हो भने पनि इभीमा मानिसको ध्यान बढी गएको सहजै अनुमान लगाउन सकिन्छ। यस हिसाबमा यो तीन वर्ष अवधिमा सबैभन्दा बढी मानिसको आकर्षण इभीतर्फ मोडिएको स्पष्ट हुन्छ।
२०१९ को नाडा अटो शोमा हुन्डाईका लागि नेपालको आधिकारिक वितरक लक्ष्मी इन्टरनकन्टिनेन्टल्सले भित्र्याएको कोना इभी, टाटाको लागि नेपालको आधिकारिक वितरक सिप्रदी टे«डिङले भित्र्याएको टिगोर इभी, र बिवाइडीका लागि नेपालको आधिकारिक वितरक एमथ्री राखिएको थियो।
त्यस्तै एमजीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले भित्र्याएको एमजी जेडएस इभी र महिन्द्राको इलेक्ट्रिक कार इटुओ एवं इभेरिटोजस्ता केही सीमित गाडी २०१९ मा प्रदर्शनमा थिए।
हाल सीमितबाहेक अटो शो २०२३ मा इभीकै वर्चश्व छ। विगतमा पेट्रोलियम सवारीमार्फत अटोमोबाइल बजारमा स्थापित कम्पनीले नै हाल इभी प्रदर्शनमा राखेका छन्।
हाल चारपांग्रेमा मुख्यगरी बिवाइडी, एमजी, निटा भी, स्काइवेल, वुलिङले गाडी प्रदर्शनमा राखेका छन्। त्यस्तै दुईपांग्रेमा सेगवे, टिभिएस, बेनेलीलगायत ब्रान्ड प्रदर्शनीमा छन्। यसपालि किया, ग्रेटवाल, टाटा, हुन्डाई, निसानलगायत ब्रान्डले पेट्रोलियम र विद्युतीय गरी दुवैथरीका सवारीसाधन प्रदर्शनमा राखेका छन्।
नयाँ मोडेलतर्फको आकर्षण उच्च
नाडा अटो शोमा पछिल्लोपटक भित्रिएका नयाँ मोडेलका सवारीसाधन आकर्षणको केन्द्र बनेका छन्। शोमा सुजुकीका चार नयाँ मोडेलप्रति मानिसको ध्यान केन्द्रित भएको देखिन्छ।
सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सिजी होल्डिङ्सको सिजी मोटर्स र सिजी नेक्स्ट जेनेरेसनले भित्र्याएका जिम्नी, फ्रोंक्स, ग्रान्ड भिटारा र न्यु ब्रेजा गाडीले अवलोकर्ताको ध्यान तानेको देखिन्छ।
महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नि गु्रपअन्तर्गतको अग्नि इन्कर्पोरेटले भित्र्याएको नयाँ मोडेलको स्कोर्पियो क्लासिकमा पनि अवलोकर्ताले राम्रै इच्छा प्रकट गरेका छन्।
नाडा अटो शोमा टाटाका लागि नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले ल्याएको पन्च र टियागो इभी, बिवाइडीका लागि नेपालको आधिकारिक विक्रेता साइमेक्स इंकले ल्याएको डल्फिन, कियाका लागि नेपालको आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ प्रालिले भित्र्याएको स्पोर्टेज एक्स–लाइन २ डब्लुडी र सेरेसका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले सार्वजनिक गरेको सेरेस ३ तथा सेरेस इ१ मा पनि अवलोकनकर्ताको ध्यान केन्द्रित छ।
दुई पांग्रेतर्फ टिभिएसका लागि नेपालको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले भित्र्याएको टिभिएस रोनिन, होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङले भित्र्याएको डिओ १२५, नेपाल मोटर्स प्रालिले भित्र्याएको लेभनिङ एनसिई र अप्रिलियाको नेपालका लागि आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले भित्र्याएको अप्रिलिया एसआर १६० पनि अवलोकर्ताको रोजाइमा परेको देखिन्छ।
नयाँ मोडेल थप आकर्षक फिचरले भरिपूर्ण हुने भएकाले मानिसको ध्यान त्यसमा केन्द्रित हुने गरेको छ। जुन २०१९ को नाडा अटो शोमा पनि देखिएको थियो।
२०१९ को तुलनामा स्टल संख्या कम
नाडा अटो शो २०१९ भदौ १० देखि १६ सम्म ६ दिन भृकुटीमण्डपमा चलेको थियो। १४औं संस्करणको उक्त शो करिब ८१ हजारले अवलोकन गरेका थिए। २०१९ शोमा १ सय ६० स्टलहरु र ब्लकमा ९५ ब्रान्डका सवारीसाधन प्रदर्शन र बिक्री वितरणमा राखिएका थिए।
त्यसबेला २३ ब्रान्डका चारपांग्रे, १९ ब्रान्डका दुईपांग्रे, १२ ब्रान्डका लुब्रिकेन्ट, ९ ब्रान्डका टायर, ५ ब्रान्डका ब्याट्री, १४ ब्रान्डका पार्टपुर्जा एवं ग्यारेज उपकरण तथा १३ वित्तीय संस्थाका स्टल थिए।
यसपालि नाडा अटो शो २०२३ मा भने साना तथा ठूला गरी करिब १ सय २० स्टल तथा ब्लक छन्। यसमा १६ ब्रान्डका चारपांग्रे, २२ ब्रान्डका दुईपांग्रे, ७ ब्रान्डका लाइट कमर्सियल भेइकल, ९ वित्तीय संस्था तथा ३० लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीको सहभागिता छ। भदौ २६ बाट सुरु भएर ३१ सम्म चल्ने शोलाई करिब ७५ हजारले अवलोकन गर्ने अपेक्षा नाडाको छ।
नाडाले सन् १९९८ देखि नाडा अटो शो गर्दै आएको छ। सवारीसाधनको कुम्भ मेलाका रूपमा लिइने शोले अटोमोबाइल क्षेत्रको विकास र विस्तारमा सहयोग पुर्याउने नाडाले बताउँदै आएको छ।
प्रदर्शनीका लागि अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी हल बनाइनुपर्ने माग नाडाले लामो समयदेखि उठाउँदै आएको भए पनि भृकुटीमण्डपको सोही प्रदर्शनीहलमा अटो शो तथा अन्य प्रदर्शनी हुँदै आएका छन्।
तीन वर्षपछि भएको अटो शोले कोरोना महामारी र आयात प्रतिबन्धले पारेको असर कम गर्ने र अटोमोबाइल बजार चलायनमान बनाउने विश्वास व्यवसायीले लिएका छन्।