काठमाडौं। राष्ट्रिय गौरवको सुनकोसी मरिण डाइभर्सन आयोजनाले मरिण खोला नियन्त्रणका लागि जय माँ स्वर्गद्वारी’ जेभीसँग ठेक्का सम्झौता गर्न लागेको छ। आयोजनाले गत जेठ ७ गते गरेको ठेक्का आह्वानमा पाँच कम्पनीले प्रतिस्पर्धा गरेका थिए।
खोला नियन्त्रण गर्न उमा एन्ड कम्पनी प्रालि, पृथ्वी इन्जिनियर्स एन्ड बिल्डर्स प्रालि, रेग्मी निर्माण सेवा, ओस्नाप–दहल–गौरीमाई वख र जय माँ स्वर्गद्वारी–सिद्धिकाली–कालिका भगवतीको जोइन्ट भेन्चर पार्टनर प्रतिस्पर्धामा थिए।
जसमध्ये जय माँ स्वर्गद्वारी–सिद्धिकाली–कालिका भगवतीको जोइन्ट भेन्चर पार्टनर (जेभी) ले उपयुक्त देखिएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) अशोकराज गौतम बताउँछन्।
उनका अनुसार दुई किलोमिटर खोला नियन्त्रणका लागि १० करोड ५१ लाख ७२ हजार रुपैयाँ लाग्ने अनुमान आयोजनाको थियो। तर, कम्पनीहरु बीचको प्रतिस्पर्धाले ७ करोड १३ लाख ४७ हजार ३ सय १९ रुपैयाँमा ठेक्का सम्झौता हुँदैछ।
अन्य सबै प्रक्रिया पूरा भएर निर्माण कम्पनी र आयोजनाबीच सम्झौतापत्रमा हस्ताक्षर हुनमात्रै बाँकी छ। जसका करण केही दिनमै सम्झौता भएर खोला नियन्त्रणको काम अघि बढ्ने छ। निर्माण कम्पनीले सम्झौता भएको मितिबाट एक वर्षभित्र दुई किलोमिटर खोला नियन्त्रण गर्ने छ।
आयोजना सुरक्षित राख्न ४४ किलोमिटर खोला नियन्त्रण गर्नुपर्ने छ। जसमध्ये पहिलो चरणमा दुई किलोमिटर र बाँकी ४२ किलोमिटरलाई दोस्रो चरणमा ठेक्का आह्वान हुने बताइएको छ।
‘खोला नियन्त्रण दोस्रो चरणका लागि हामी अझै काम गरिरहेका छौं। लागत अनुमान र ठेक्का आह्वानको समय निश्चित भएको छैन’ सिडिई गौतमले क्यापिटल नेपालसँग भने, ‘बाँकी खोला नियन्त्रण पनि आगामी चार वर्षभित्र सम्पन्न गर्ने योजना छ।’
यसबाहेक इलेक्ट्रोमेकानिकल निर्माणका लागि विशेषज्ञसँग छलफल भइरहेको आयोजना निर्देशक मित्र बरालले बताए। इलेक्ट्रोमेकानिकलका लागि अन्तर्राष्ट्रिय (ग्लोबल) टेन्डर हुनेछ। विज्ञको सुझावपछि मात्रै ठेक्का अह्वान प्रक्रिया अगाडि बढाउने योजना छ।
जसले गर्दा दसैंपछि मात्रै ठेक्का आह्वान गर्न सकिने निर्देशक बरालले बताए। त्यस्तै प्रसारण लाइनका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रक्रियामा रहेको आयोजनाले जनाएको छ।
आयोजनाको मुख्य उद्देश्य सुनकोसी नदीको पानी मधेस प्रदेशमा लगेर सिँचाइ सुविधा पुर्याउनु हो। जसका लागि १३.३०० किलोमिटर लामो सुरुङमार्गबाट पानी पठाइने छ।
२०७९ असोज २८ गतेबाट अमेरिकन प्रविधिको टनेल बोरिङ मेसिन (टिबिएम) ले सुरुङ खन्दै छ। टिबिएमले बुधबारसम्म ८.६४९ किमि (६५.०३ प्रतिशत) सुरुङ खनेको छ। सम्झौताअनुसार २२ महिनामा निर्माण कम्पनी चाइना ओभरसिरिज कम्पनी (कोभेक) ले सुरुङको काम गर्नुपर्ने हुन्छ। तर, कामको तीव्रता हेर्दा म्यादअघि नै काम सकिने आयोजनाले जनाएको छ।
साथै, आयोजनाबाट ३१ मेगावाट बिजुली पनि बल्ने छ। आयोजनाले जग्गा अधिग्रहणको काम पनि अन्तिम चरणमा पुगेको जनाएको छ। केही विवादित जग्गाबाहेक ९९ हजार ५५ रोपनी जग्गा अधिग्रहणको काम सकिएको आयोजनाको भनाइ छ।
आयोजना २०७७ फागुन २० मा शिलान्यास भएको थियो। आयोजनाको कूल लागत ४६ अर्ब १९ करोड रुपैयाँ हुने अनुमान छ। सुनकोसी र तामाकोसीको पानीलाई १३.३ किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी सिन्धुली कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसाल्ने योजना छ।
त्यस्तै सोही आयोजनामा सिँचाइसँगै ६६ मिटर उचाइबाट पानी खसालेर ३१.०७ मेगावाट विद्युत उत्पादन गर्ने योजना छ। सिन्धुली र रामेछापमा निर्माण हुने उक्त आयोजनाले बागमती र मधेस प्रदेशलाई जोड्ने छ। आयोजनमा निर्माण हुने सुरुङको चौडाइ ५ मिटर हुनेछ।
डाइभर्सनले तराईको ७७ हजार हेक्टर जमिनमा थप सिँचाइ पुग्ने छ। यसअघि नै बागमती सिँचाइ आयोजनाले तराईको ४५ हजार हेक्टर जमिनमा सिँचाइ पुर्याइसकेको छ।
बागमती सिँचाइ आयोजना र सुनकोसी–मरिण डाइभर्सन आयोजनाबाट बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ पुग्ने छ।