काठमाडौं। राजधानीको सुकेधारामा निर्माणाधीन पाँचतारे स्तरको द मेट्रोपोलिटन होटल प्रालि आगामी माघ अन्तिम साता (फेब्रुअरी) बाट सञ्चालनमा आउने भएको छ। माघ अन्तिममा होटलको ‘सफ्ट लन्च' गर्ने तयारी छ। होटल सञ्चालनका लागि आवश्यक इजाजतपत्र र स्वीकृति प्राप्त भइसकेको छ।
मेट्रोपोलिटनले होटल संरचना निर्माण र स्वामित्व लिए पनि व्यवस्थापनको जिम्मा एएपिसी इन्डिया होटल म्यानेजमेन्ट प्रालि (एकोर होटल) ले लिने भएको छ। एकोरले ‘मेक्योर काठमाडौं’ ब्रान्डमा होटल सञ्चालन गर्ने भएको छ। निर्माणाधीन होटलमा १ सय ६ कोठा हुने छन्। यसबाहेक ब्यांक्वेट हल, रेस्टुरेन्ट, स्पा, फिट्नेस सेन्टर स्विमिङ पुललगायत सुविधा जोडिने छन्।
होटलको सिभिल संरचनालगायत ९८ प्रतिशत काम सकिएको छ। हाल इन्टेरियर डिजाइन तथा फर्निसिङ, मेकानिकल, विद्युतीय, प्लम्बिङका काम जारी छन्। १० तला अग्लो मेट्रोपोलिटनमा रेस्टुरेन्ट, कन्फ्रेन्स हल, जिम, सौना, स्विमिङ पुल, ब्यांक्वेट हललगायत सबै सुविधा उपलब्ध हुनेछ।
होटल बनाउन ३ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। यसअघि होटल बनाउन १ अर्ब ५६ करोड ३० लाख रुपैयाँ लागत अनुमान गरिएको थियो। तारेस्तरको मेक्योर ब्रान्ड समावेशका साथै होटलको संरचनामा भएको परिवर्तन, टेरेस बार, क्यासिनो र अन्य सुविधा थप्दा परियोजना लागत ४५ प्रतिशत बढेको छ। द मेट्रोपोलिटनले १ अर्ब ९७ करोड ५० लाख रुपैयाँ बैंक ऋणको रेटिङ गराएको छ।
कम्पनीले होटल दुई चरणमा बनाएको छ। पहिलो चरणमा होटल भवन निर्माणमा ८४ प्रतिशत खर्च भएको छ। दोस्रो चरण क्यासिनो संरचना निर्माणको छ। २०२४ जुलाइदेखि क्यासिनो पनि सञ्चालनमा ल्याउने तयारी होटलको छ। गत असारसम्म १ अर्ब २ करोड ९० लाख रुपैयाँ खर्च भइसकेको छ। अझै कूल ऋणको ४१ र स्वपुँजी (इक्विटी) ५९ प्रतिशत खर्च हुन बाँकी छ। बाँकी ४१ प्रतिशत ऋण बैंकबाट स्वीकृतिको चरणमा रहेको होटलले जनाएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा द्विराष्ट्रिय समिति सभापति देशबन्धु बस्नेतले एकोर ग्रुपलाई नेपाल ल्याएका हुन्। अध्यक्ष बस्नेत मुख्य लगानीकर्ता हुन्। उनले द मेट्रोपोलिटनमा ४५ प्रतिशत स्वामित्व ग्रहण गरेका छन्।
बस्नेतको मेट्रोपोलिटनलाई एकोरले मेक्योर ब्रान्डमा सञ्चालन गर्ने सम्झौता भएको छ। यससम्बन्धमा भारत नयाँदिल्लीमा दुई कम्पनीबीच सम्झौता भएको छ। होटल स्वामित्वका सम्बन्धमा सबै आम्दानी, खर्च, सम्पत्ति, दायित्व, अधिकार र दायित्व मेट्रोपोलिटनको हुनेछ। होटल सञ्चालन र व्यवस्थापन गरेवापत मेक्योर होटललाई भुक्तानी गरिने भएको छ।
होटल बनाउन ३ अर्ब रुपैयाँ लगानी गरेको होटलका अध्यक्षसमेत रहेका बस्नेतले क्यापिटल नेपाललाई २०७९ पुसमा बताएका थिए।
सन् १९६७ मा स्थापना भएको होटल व्यवस्थापन समूह एकोरले हाल संसारका १ सयभन्दा बढी देशमा ५ हजार ३ सयभन्दा धेरै होटल व्यवस्थापन हेरिरहेको छ। एकोरले लक्जरी, प्रिमियम, मिडस्केल र इकोनोमी गरी चार वर्गमा होटल व्यवस्थापन गर्दै आएको छ।
बस्नेतको द मेट्रोपोलिटनमा भने एकोरको मिडस्केल वर्गको मेक्योर ब्रान्ड प्रवेश गरेको हो। मिडस्केल वर्गमा मेक्योरसहित मन्त्र, नोभोटेल, एडागियो, मामा सेल्टर र ट्राइब ब्रान्ड पर्छन्। एकोरले व्यवस्थापन हेरिरहेका होटलमा हालसम्म २ लाख ३० हजारभन्दा बढीले रोजगारी पाएका छन्। एकोरले २०२१ मा २ अर्ब २० करोड युरो आम्दानी गरेको थियो।