झापा। झापाको हल्दिबारी गाउँपालिकाले स्थानीयवासीलाई खानेपानी निःशुल्क वितरण गर्न थालेको छ। गाउँपालिकावासीमा शुद्ध खानेपानीको पहुँच पुर्याउने उद्देश्यले खानेपानी निःशुल्क वितरण गर्न थालिएको हो।
शुद्ध खानेपानीको अभाव हुँदा विभिन्न रोगको सङ्क्रमण हुने गरेकाले खानेपानीलाई प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले बताए। ‘१० युनिट (१० हजार लिटर) सम्म पानी निःशुल्क उपलब्ध गराएका छौँ,’ उनले भने।
यसअघि उपभोक्ताले मासिक १० युनिटसम्म खानेपानी खपत गर्दा १ सय २० रुपैयाँ तिर्दै आएका थिए। सोभन्दा बढी खपत भएमा खपतका आधारमा उपभोक्ताले महसुल तिर्नुपर्नेछ।
गाउँपालिकाले विपन्न स्थानीयवासीलाई धाराको मिटर निःशुल्क वितरण गरेको छ। गाउँपालिकाले ७ सय ५६ मिटर खरिद गरेर विपन्न परिवारलाई निःशुल्क वितरण गरेको गाउँँपालिकाका खानेपानी प्राविधिक पारस अधिकारीले जानकारी दिए।
हल्दिबारीमा हाल तीन खानेपानी आयोजना छन्। तीमध्ये गोलधाप खानेपानी आयोजना र जलथल खानेपानी आयोजना सञ्चालनमा छ भने हल्दिबारी खानेपानी आयोजनाअन्तर्गत पाइपलाइन विस्तारको काम भइरहेको छ। प्रदेश सरकारको लगानीमा हल्दिबारी–२ मा पाइपलाइन विस्तारको काम भइरहेको प्रविधिक अधिकारीले बताए।
हाल गोलधाप खानेपानी आयोजनाअन्तर्गत ७ सय ५६ उपभोक्ताले निःशुल्क खानेपानी उपभोग गर्दै आएका छन्। जलथल खानेपानी आयोजनाअन्तर्गत एक हजार ६ सय उपभोक्ता लाभान्वित भएका छन्।
खानेपानी निःशुल्क वितरणका लागि खानेपानी आयोजनाका कर्मचारीको तलब र विद्युत महसुल गाउँपालिकाले उपलब्ध गराउने गरेको छ।
गाउँपालिकाले जलथल खानेपानी आयोजनाका चार कर्मचारीको तलब मासिक १५ हजार रुपैयाँका दरले तथा विद्युत् महसुल सरदर मासिक ५५ हजार र गोलधाप खानेपानी आयोजनाको तीन कर्मचारीको मासिक १५ हजार रुपैयाँका दरले उपलब्ध गराउँदै आएको छ।
कर्मचारीको तलब र विद्युत महसुल तिरिदिएवापत ती खानेपानी आयोजनाले उपभोक्तालाई मासिक १० युनिटसम्म खानेपानी निःशुल्क उपलब्ध गराउँदै आएका छन्।