काठमाडौं। सानिमा बैंकले भोलि वा पर्सि सेयरधनीलाई लाभांश घोषणा गर्ने भएको छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १७.७३ प्रतिशतसम्म लाभांश घोषणा गर्न लागेको हो।
गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरणको लागि सानिमाले गत साता नै प्रक्रिया सुरु गरेको थियो। बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेस गरेको छ।
जसमा राष्ट्र बैंकको वाणिज्य बैंक सुपरीवेक्षण विभागले भदौ २६ गते बुधबार प्रारम्भिक स्वीकृति (प्रिलिमिनरी अप्रभुल) दिएको छ।
राष्ट्र बैंकले प्रारम्भिक स्वीकृति दिएको वित्तीय विवरणको नाफाबाट सानिमाले लाभांश घोषणा गर्न भोलि बिहान वा साँझसम्म सञ्चालक समिति बैठक राख्ने तयारी गरिरहेको छ।
बैंकको सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट दिन सक्ने अर्थात् क्षमताको सबै पैसा लाभांशमा खर्च गर्ने÷नगर्ने निर्णय गर्नेछ। सोहीअनुसार सञ्चालक समितिको निर्णयमा बैंकले भोली वा पर्सी बिहानसम्म गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गर्ने बैंक स्रोतले बताएको छ।
घोषित लाभांशमा राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएपछि बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएर लगानीकर्तामा वितरण हुन्छ।
सानिमा बैंकले गत आर्थिक वर्षमा २ अर्ब २० करोड ९६ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको थियो। बैंकको अहिले कायम चुक्ता पुँजी १२ अर्ब ४६ करोड १ लाख रुपैयाँ छ। जसअनुसार गत आर्थिक वर्षको नाफाबाट बैंकले १७.७३ प्रतिशत लाभांश दिने क्षमता राख्छ।
लाभांश घोषणा प्रक्रिया
कुनै पनि कम्पनी तथा संघसंस्थाले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र उक्त आर्थिक वर्षको साधारणसभा सम्पन्न गरिसक्नुपर्छ। बैंक तथा वित्तीय संस्थाले वार्षिक साधारणसभा सम्पन्न गर्न राष्ट्र बैंकमा सम्बन्धित आर्थिक वर्षको वित्तीय विवरण पेस गरी पारित गर्नुपर्ने व्यवस्था छ।
बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंक सम्बन्धित सुपरीवेक्षणमा अन्तिम लेखा परीक्षण गराएपछि वित्तीय विवरण पेस गर्नुपर्ने हुन्छ। जसमा सम्बन्धित सुपरीवेक्षणले निरीक्षण गरी प्रारम्भिक स्वीकृति दिन्छ। उक्त स्वीकृति पाएमात्र बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा गर्न पाउँछन्।
घोषित लाभांश राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएपछि मात्र साधारणसभाको मिति तय गरी लगानीकर्तालाई वितरण हुन्छ। राष्ट्र बैंकबाट पारित भएको वित्तीय विवरणको क्षमताअनुसार नै लाभांश घोषणा गर्ने वा नगर्ने भन्ने सम्बन्धित बैंकमा नै भर पर्छ। क्षमताअनुसार लाभांश वितरण नगरेर रिजर्भमा समेत बैंकले वितरणयोग्य नाफाको पैसा राख्छन्।