काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले नेपालको ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन पहल थालेको छ।
बुधवार डच बैंक एफएमओका प्रतिनिधिहरुसँग काठमाडौंमा भएको छलफलमा इप्पान पदाधिकारीहरुले नेपालको ऊर्जा क्षेत्रमा खर्बौं डलर लगानी आवश्यक भएको भन्दै सस्तो दरमा दीर्घकालीन ऋण उपलब्ध गराइदिन एफएमओसँग आग्रह गरेका हुन्।
इप्पान अध्यक्ष गणेश कार्कीले वित्तीय व्यवस्थापन गर्न नसकेका कारण २ हजार ६ सय मेगावाट क्षमताका जलविद्युत आयोजनाको सरकारले विद्युत खरिद विक्री सम्झौता (पिपिए) नै खारेज गरेको स्मरण गराउँदै नेपालको ऊर्जा क्षेत्रमा अथाह लगानीको अवसर भएको बताए।
सरकारले हालै १२ वर्षमा ३५ हजार मेगावाट विद्युत उत्पादनको रणनीति लिएको छ। नेपाली बैंकहरुले यी सबै आयोजनाको वित्तीय व्यवस्थापन गर्न नसकेको कार्कीले जानकारी गराए। उनले अहिले नै २ हजार ६ सय मेगावाट क्षमताका आयोजना वित्तीय व्यवस्थापन नभएका कारण सरकारले पिपिए खारेज गरेको बताए।
एफएमओका प्रमुख कार्यकारी अधिकृत (सिइओ) माइकल जोंजेनीलले नेपालमा जलविद्युत प्रवर्द्धकले वातावरण, सामाज र सरकारलाई केन्द्रमा राखेर काम गरेमा नेपालको ऊर्जा क्षेत्रमा एमएफओले ठूलो लगानी भित्र्याउन चाहेको बताए।
२०१९ देखि इप्पानसँग सहकार्य गर्दै आएको स्मरण गराउँदै उनले अन्तराष्ट्रिय वित्त निगम (आइएफसी) का मापदण्ड र इएसजीलाई केन्द्रमा राखेर काम गर्न इप्पानले ठूलो भूमिका खेल्न सक्ने पनि विश्वास व्यक्त गरे।
पीपीए गरेर निर्माणको पर्खाइमा रहेका १२९ आयोजनालाई ५ अर्ब र अध्ययन सकेर पीपीएको पर्खाइमा रहेका ९ हजार ४०० मेगावाट क्षमताका १८५ आयोजनालाई २० अर्ब डलर लगानी तत्कालै आवश्यक भएको इप्पानको भनाई छ।
त्यस्तै सरकारले ऊर्जा दशक घोषणा गरेर थप ३० हजार मेगावाट विद्युत उत्पादनको रणनीति बनाइरहेकाले त्यसका लागि थप ६० अर्ब डलर लगानी आवश्यक पर्ने देखिएको इप्पानले जानकारी गराएको छ।
इप्पान उपाध्यक्ष उत्तम भ्लोन लामाले नेपालको बैंकमार्फत वा सोझै विद्युत आयोजनामा सस्तो ब्याजदरको दीर्घकालिन ऋण लगानी गर्न एफएमओलाई आग्रह गरेका छन्।
एफएमओले एक्लै वा अन्य अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थासँग मिलेर संयुक्त रुपमा भए पनि नेपालको ऊर्जा क्षेत्रमा लगानीको नेतृव लिन लामाले आग्रह गरे।
एफएमओले नेपालमा एनएमबी बैंकमार्फत ५ करोड डलर (साढे ६ अर्ब रुपैयाँ) भन्दा बढी ऋण जलविद्युतमा लगानी गरेको छ। त्यस्तै ८२ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजनामा जर्मन विकास बैंक र ओपेक फण्ड सहितका संस्थाबाट भएको ८ अर्ब रुपैयाँ ऋणको नेतृत्व एफएमओले नै गरेको छ भने २ सय १६ मेगावाटको अपर त्रिशुली–१ जलविद्युत आयोजनामा २ अर्ब रुपैयाँ सिधै ऋण लगानी गरेको छ।
छलफलमा इप्पानका तर्फबाट अध्यक्ष कार्कीसहित वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी, उपाध्यक्षहरु आनन्द चौधरी र उत्तम भ्लोन लामा, महासचिव बलराम खतिवडा, सल्लाहकार मनोज गोयल र मोतीलाल दुगडलगायतको सहभागिता थियो।
एफएमओका तर्फबाट सिइओ माइकलसहित म्यानेजर जेसुन हान, वरिष्ठ लगानी अधिकृत आर्नो डे भेट्टे र एसिया क्षेत्रको ऊर्जा हेर्ने म्याथ्यू रिबेइरो नोर्ले छलफलमा सहभागी थिए।