काठमाडौं। नयाँ सवारीसाधन खरिद गर्ने सोच बनाएकाले प्रायः चाडपर्व कुर्ने गर्छन्। यही कारण सवारीसाधन बिक्री गर्ने विभिन्न कम्पनीले दसैं, तिहार तथा छठ पर्वसम्मका लागि विशेष अफर सार्वजनिक गर्ने गर्छन्।
यस्तै अवसर ध्यानमा राखेर नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले राजधानीको भृकुटीमण्डपमा गाडीको ६ दिने मेला सञ्चालन गरिरहेको छ। ‘नाडा अटो शो २०२३’ नामक मेलालाई सवारीसाधनको ‘कुम्भमेला’ मानिन्छ।
नाडा अटो शोमा ग्राहकलाई आकर्षक छुट तथा अफरका विकल्पमा सवारीसाधनका ‘भेराइटी’ मात्रै नभएर बैंक फाइनान्सको पनि उस्तै छुटसहितका सुविधा पाउन सकिन्छ। नाडामा ६ वाणिज्य बैंक, दुई विकास बैंक र नौ हायर पर्चेज कम्पनीले स्टल राखेर विशेष छुटमा सवारी कर्जा दिइरहेका छन्।
शोमा चारपांग्रेका १९ विक्रेता कम्पनीले स्टल राखेका छन् भने दुईपांग्रे सवारी बिक्रीका लागि २४ कम्पनीले स्टल राखेका छन्। ती कम्पनीले सुजुकी, एमजी, निसान, टाटा, महिन्द्रा, फोर्ड, बिवाइडी, किया, निटा भीलगायत कम्पनीका विद्युतीय र प्रेटोलका चारपांग्रे गाडी बिक्रीमा राखेका छन्।
त्यसैगरी बजाज, टिभिएस, केटिम, रोयल इन्फिल्ड, होन्डा, ई–भोक, कोमाकी, भेस्पा/अप्रिलिया, बेनेली, सुजुकी, सेगवे, निउ, याडियालगायत कम्पनीका दुईपांग्रे सवारी बिक्रीमा राखिएका छन्। यी सवारी खरिद गर्न शोमा आएका बैंक तथा वित्त कम्पनीले ब्याजदर, सेवा शुल्कलगायत ग्राहकलाई दिने अन्य प्रकारका सेवामा समेत बिशेष छुट दिइरहेका छन्।
सवारी खरिद गर्न अहिले बैंक तथा वित्त कम्पनीबाट कर्जा लिनुपर्दा न्यूनतम ९.५२ प्रतिशतदेखि २०.७७ प्रतिशतसम्म ब्याज तिर्नुपर्छ। त्यसमा सेवा शुल्कसमेत छुट्टै बुझाउँदा ग्राहकलाई ब्याजको भार थप हुन्छ। ६ दिनसम्म सञ्चालन हुने नाडा अटो शोमा न्यूनतम १०.४९ प्रतिशतदेखि अधिकतम १२.९९ प्रतिशत ब्याजदरमा १० वर्षसम्मका लागि सवारी कर्जा लिएर नाडामा राखिएका गाडी खरिद गर्न सकिन्छ।
नाडामा सवारी कर्जा दिन आएका बैंक तथा वित्त कम्पनीले ब्याजदरमात्रै नभएर सेवा शुल्कसमेत ०.२५ प्रतिशतले घटाएका छन्।
नाडा अटो शोमा वाणिज्य बैंकतर्फ हिमालयन, लक्ष्मी सनराइज, सानिमा, नबिल, प्रभु र ग्लोबल आइएमईले स्टल राखेका छन्। साथै, विकास बैंकमा महालक्ष्मी र कामना सेवा छन्। ती बैंकले विभिन्न सवारीसाधन बिक्री कम्पनीसँग सम्झौता नै गरेर कर्जा दिइरहेका छन्।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई ०.७५ प्रतिशत र विकास बैंकलाई १ प्रतिशतसम्म सेवा शुल्क लिन पाउने व्यवस्था गरेको छ। तर, अटो शोमा स्टल राखेर सवारी कर्जा दिने बैंकले ०.२५ प्रतिशतसम्म सेवा शुल्क घटाएर कर्जा दिइरहेका छन्।
नबिल बैंक
नाडा अटो शोको ६ दिनमा नबिल बैंकले राखेको स्टलमा पुगेर सवारी कर्जा लिने ग्राहकले गाडी खरिद गर्दा ८० प्रतिशतसम्म कर्जा पाउँछन्। जसमा बैंकले शेवा शुल्क र प्रिमियम समेत घटाएर न्यूनतम ब्याजदर निर्धारण गरेको छ।
बैंकले विद्युतीय गाडी (इभी) खरिद गर्न ८० प्रतिशतसम्म र पेट्रोलियम गाडी खरिद गर्न ७५ प्रतिशत कर्जा दिन्छ। बैंकले पेट्रोलियम गाडीमा संस्थागतलाई ७५ प्रतिशत र व्यक्तिगतलाई ५० प्रतिशतसम्म कर्जा दिइरहेको छ।
जसमा स्थिर ब्याजदरमा पाँच वर्षका लागि विद्युतीय र पेट्रोलियम सवारी खरिद गर्ने ग्राहकले १०.४९ प्रतिशत ब्याजदरमा कर्जा पाउँछन्। साथै, सात वर्षका लागि कर्जामा बैंकले १०.९९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। जसमा बैंकले ०.५० प्रतिशतमात्रै सेवा शुल्क लिइरहेको छ।
नबिलले २ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराउने जनाएको छ। शोमा आएर कर्जा प्रक्रिया सुरु गर्ने ग्राहकले आगामी नेभेम्बर ३० सम्म बैंकको सेवा उपयोग गर्न पाउँछन्। शोमार्फत बैंकले चारपांग्रे सवारीका लागि मात्रै फाइनान्स गरिरहेको छ।
बैंकले बिवाइडी, सिजी, निसान, एमजी, सिप्रदी, हुन्डाई, एमजीलगायत कम्पनीसँग सम्झौता नै गरेर सवारी कर्जा दिइरहेको छ। अन्य कम्पनीका सवारी खरिद गर्ने ग्राहकलाई पनि कर्जा दिइरहेको छ। नाडा अटो शोभन्दा बाहिरबाट सवारी कर्जा लिन आउने ग्राहकलाई बैंकले १२.९२ प्रतिशत ब्याजदर र ०.७५ प्रतिशत सेवा शुल्क लिन्छ।
हिमालयन बैंक
नाडा अटो शोको ६ दिनमा हिमालयन बैंकले राखेको स्टल पुगेर कर्जा लिने ग्राहकले गाडी मूल्यको ८० प्रतिशतसम्म ११.९९ प्रतिशत ब्याजदर आठ वर्षसम्मका लागि सवारी कर्जा उपयोग गर्न पाउँछन्।
बैंकले इभी खरिद गर्नेलाई ०.५० प्रतिशत सेवा शुल्क लिएर कर्जा दिइरहेको छ। बैंकले यस्तो अफरमा सवारी कर्जा चारपांग्रे गाडीका लागि मात्रै ल्याएको हो। बैंकले इभीमा मूल्यको ८० प्रतिशत र पेट्रोलियम गाडीमा व्यक्तिगततर्फ ५० प्रतिशत र संस्थागतमा ७५ प्रतिशतसम्म कर्जा दिने उल्लेख गरेको छ।
बैंकले सिप्रदी र बतास कम्पनीसँग सम्झौता गरेर सवारी कर्जा दिइरहेको छ भने अन्य कम्पनीका सवारी खरिद गर्नेलाई पनि कर्जा दिने जनाएको छ। बैंकको ‘सवारी साधन कर्जा योजना’ आगामी नोभेम्बर ३० सम्म चल्ने छ।
बैंकले यसअघि सवारी कर्जा बेसरेटमा ३.५ प्रतिशत प्रिमियम जोडेर १४.३७ प्रतिशतसम्म ब्याजदर लिइरहेको थियो भने ०.७५ प्रतिशत सेवा शुल्क लिने गरेको छ। नाडा अटो शोमार्फत सवारी कर्जा लिनेले भने परिवर्तित ब्याजदरको बेसरेटमा १.१२ प्रतिशत प्रिमियम थप गरेर ११.९९ प्रतिशत ब्याजदरमै कर्जा पाउने बैंकले जनाएको छ।
सानिमा बैंक
सानिमा बैंकले चारपांग्रे गाडीका लागि अफरमा सवारी कर्जा दिइरहेको छ। अधिकतम सात वर्षका लागि बैंकले १०.९९ प्रतिशत ब्याजदरमा इभी खरिद गर्नेलाई ८० प्रतिशतसम्म कर्जा दिइरहेको छ।
बैंकले सेवा शुल्कवापत कर्जाको ०.५० प्रतिशत लिएर ‘चाडपर्वको आगमनसँगै सानिमाको सस्तो अनि स्थिर ब्याजदर योजना’ नामक कर्जा योजना ल्याएको हो। तीन महिनाका लागि ल्याइएको उक्त कर्जा योजनाबाहेक पनि बैंकले नाडामार्फत परिवर्तित ब्याजदरमा सवारी कर्जा लिनेलाई १० वर्षसम्म बेसरेटमा २ प्रतिशत प्रिमियम थप गरेर ११.९० प्रतिशत ब्याजदरमा कर्जा दिने उल्लेख गरेको छ।
नाडा अटो शोमा बैंकले रेनो, बिवाइडी, किया, जिएम कम्पनीसँग सवारी कर्जा सम्झौता गरेको छ भने अन्य कम्पनीका गाडी खरिद गर्ने ग्राहकलाई पनि सोही अफरमा कर्जा दिने बैंकले जनाएको छ। बैंकले २५ लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्म सवारी कर्जा दिइरहेको छ।
ग्लोबल आइएमई बैंक
नाडा अटो शोमार्फत सवारी कर्जा लिनेले ग्लोबल आइएमई बैंकबाट १०.४९ प्रतिशतदेखि १२.४९ प्रतिशतसम्म ब्याजदरमा सवारी कर्जा पाउँछन्। बैंकले ०.५० प्रतिशत सेवा शुल्क लिएर स्थिर र परिवर्तित दुवै ब्याजदरमा कर्जा दिइरहेको छ।
जसमध्ये व्यक्तिगत कर्जातर्फ इभीमा मूल्यको ८० प्रतिशतसम्म ०.५० प्रतिशत सेवा शुल्क लिएर १०.४९ प्रतिशत ब्याजदर र पेट्रोलियम गाडीमा मूल्यको ५० प्रतिशतसम्म ०.७५ प्रतिशत सेवा शुल्क लिएर १०.९९ प्रतिशत ब्याजदरमा कर्जा दिइरहेको छ।
संस्थागततर्फ भने इभीमा मूल्यको ८० प्रतिशतसम्म ०.५० प्रतिशत सेवा शुल्क लिएर ११.४९ प्रतिशत ब्याजदर र पेट्रोलियम गाडीमा मूल्यको ७५ प्रतिशतसम्म ०.७५ प्रतिशत सेवा शुल्क लिएर १२.४९ प्रतिशत ब्याजदरमा कर्जा दिइरहेको छ। बैंकले नाडा अटो शोमा चारपांग्रे गाडी खरिद गर्नेलाई मात्रै फाइनान्स गर्ने उल्लेख गरेको छ।
प्रभु बैंक
प्रभु बैंकले चारपांग्रे गाडीका लागि अफरमा सवारी कर्जा दिइरहेको छ। बैंकले इभी खरिद गर्नेलाई मूल्यको ८० प्रतिशतसम्म, पेट्रोलियमतर्फ व्यक्तिगतमा ५० र संस्थागतमा ७५ प्रतिशतसम्म कर्जा दिइरहेको छ।
नाडा अटो शोमार्फत आउनेलाई बैंकले बेसरेटमा १ प्रतिशत प्रिमियम जोडर ११.१५ प्रतिशत ब्याजदरमा स्थिर र परिवर्तित ब्याजदरमा कर्जा दिइइरहेको छ।
बैंकले शोमा सवारी कर्जा प्रक्रिया अघि बढाउने ग्राहकलाई एक महिनासम्म उल्लेखित अफरमै कर्जा दिने जनाएको छ। बैंकले यसअघि बेसरेटमा २ प्रतिशत प्रिमियम जोडेर १२.१५ प्रतिशत ब्याजदरमा सवारी कर्जा दिइरहेको थियो।
लक्ष्मी सनराइज बैंक
लक्ष्मी सनराइज बैंकले नाडा अटो शोको ६ दिनमा चारपांग्रे गाडीका लागि अफरमा सवारी कर्जा दिइरहेको छ। अधिकतम पाँच वर्षका लागि बैंकले १२.५० प्रतिशत ब्याजदरमा इभी गाडी खरिद गर्नेलाई ८० प्रतिशतसम्म कर्जा दिइरहेको छ।
बैंकले सेवा शुल्कवापत कर्जाको ०.५० प्रतिशत लिएर सस्तो सवारी कर्जा योजना ल्याएको हो। बैंकले पेट्रोलियम सवारीसाधनमा भने व्यक्तिगततर्फ मूल्यको ५० प्रतिशत र संस्थागतमा ७५ प्रतिशतसम्म कर्जा दिइरहेको छ।
यसअघि बैंकले पेट्रोलियम गाडीमा बेसरेटमा ३ प्रतिशतसम्म प्रिमियम जोडेर र इभीमा बेसरेटमा २.५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा दिने गरेको थियो। बैंकको बेसरेट १०.८५ प्रतिशत छ। अटो शो भनेर बैंकले १ प्रतिशतमात्रै प्रिमियम जोडर ०.५० प्रतिशत सेवा शुल्क लिएर सस्तो सवारी कर्जा योजना ल्याएको हो। शोमार्फत सवारी कर्जा बुक गर्ने ग्राहकलाई बैंकले एक वर्षका लागि क्रेडिट कार्य निःशुल्क उपलब्ध गराउने छ।
यस्तै विकास बैंकतर्फ कामनाले सात वर्षसम्मका लागि ११.९५ प्रतिशत ब्याजदरमा न्यूनतम ४ लाख रुपैयाँदेखि सवारी कर्जा दिइरहेको छ। बैंकले ०.७५ प्रतिशतमात्रै सेवा शुल्क लिएर इभीमा ८० प्रतिशतसम्म कर्जा दिइरहेको छ।
नाडा अटो शोमा बैंकको स्टल आउनेलाई ‘प्रि–एप्रुभल’ नै दिएर दसैं अघिसम्म सोही दर र सेवा शुल्कमा सवारी कर्जा दिने उल्लेख गरेको छ। बैंकले सिजीका इभी खरिद गर्नेलाई कर्जा दिने सम्झौता पनि गरेको छ।
यस्तै महालक्ष्मी विकास बैंकले नाडा अटो शोमा आकर्षक ब्याजदरमा सस्तो सवारी कर्जा योजना ल्याएको छ। इभी खरिद गर्नेलाई बैंकले तीन वर्षसम्मका लागि १२.९९ प्रतिशत ब्याजदरमा न्यूनतम ५ लाखदेखि अधिकतम ३ करोड रुपैयाँसम्म सवारी कर्जा उपलब्ध गराइरहेको छ।
बैंकले पेट्रोलियम सवारी खरिद गर्नेलाई मूल्यको ७५ प्रतिशतसम्म कर्जा दिने छ। बैंकले तीन वर्षपछि स्थिर ब्याजदरमा लिएको कर्जा परिवर्तितमा परिणत गर्ने छ। जसको कर्जा अवधि इभीलाई पाँच वर्ष र पेट्रोलियमलाई आठ वर्ष तोकेको छ। जसवापत बैंकले ०.७५ प्रतिशतमात्रै सेवा शुल्क लिइरहेको छ। बैंकले सम्पूर्ण कागजात पूरा गरेर आएको तीन कार्यदिनमै कर्जा उपलब्ध गराउने प्रतिबद्धता गरेको छ।
हायर पर्चेज कम्पनीमा एमएडब्लु, सिजी मोटर्स, जिओ अटोमोबाइल्स, इको इन्फिनिटी, आयाम इन्टरनेसनल र पूजा कन्स्ट्रक्सन छन्। यी कम्पनीले राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीका लागि तोकेको ब्याजदरमा केही मार्जिन राखेर हायर पर्चेज कर्जा दिन्छन्।