काठमाडौं। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उक्त प्रकरणमा प्रत्यक्षरूपमा ४२ जनाको टोलीले ३५ दिनसम्म अनुसन्धान गरेको जनाएको छ।
सिआइबी प्रमुख किरण बज्राचार्यले प्राविधिक पाटोसहित हेरेर अझै वैज्ञानिक बनाउने काम गरिएको बताइन्।
उनका अनुसार विशेषज्ञ टोलीलाई समेत राखेर वैज्ञानिक तरिकाले अनुसन्धान गरिएको छ। त्यसपछि अपरेसनल टोलीले विभिन्न ठाउँमा पक्राउ तथा बरामद गर्ने, लोकेसन भेरिफाई गर्नेलगायत काम गरेको, अर्को डकुमेन्टेसन टोलीले अभियोजनलगायत कामलाई कानुनसम्मत बनाएको र आन्तरिक तथा वाह्य समन्वय टोलीले समेत सहयोग पुर्याएको थियाे।
उक्त सुन प्रकरण अनुसन्धान टोली संयोजक प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले तस्करहरूले सुरुमा ट्रायल गरेर परीक्षण गरेपछि मात्रै सुन तस्करी गरेको पाइएको बताए।
विभिन्न सात कम्पनीबाट सुन तस्करी भएको र अहिले रेडी ट्रेडका नाममा आएको सुनको मात्रै अनुसन्धान सकिएको तर बाँकी अनुसन्धान जारी रहने उनको भनाइ थियो।
तहगतरूपमा मान्छे तयार पारेर तस्करी गरेको पनि पाइएको चर्चा गर्दै संयोजक थापाले ती कम्पनीले अटो पार्ट्समा सुन ल्याएको, हङकङमा रहेको कार्गो कम्पनीले सुन पठाएको र लाजिम्पाट तथा टोखामा लगेर गाल्ने गरिएको तथ्य पनि फेला परेको बताए।
भन्सारको भौतिक मूल्यांकन र जाँचपासका सबै प्रक्रियामा जोखिम व्यवस्थापन शाखाले मनिटरिङ गर्ने गर्छ। तर, त्यहाँ संलग्न कर्मचारीहरू पनि अनुसन्धानको दायरमा छन्।
उक्त सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन रायसहितको प्रतिवेदन सिआइबीले तयार पारेको छ। उनीहरूमाथि विभिन्न सातवटा कसुर लगाउन सिफारिस गरिएको छ।
सिआइबीले अब केही बेरमा उक्त रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिललाई बुझाउने पत्रकार सम्मेलनमा जानकारी दिएको थियो। गत साउन ३ गते राजस्व अनुसन्धान विभाग टोलीले हङकङबाट ब्रेक सुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो।
विभागले आवश्यक अनुसन्धान सकेर १८ दिनपछि सुन प्रकरण अनुसन्धान जिम्मा सिआइबीलाई दिएको थियो। ब्रेक सुसहितको सुन १ सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो ७ सय १६ ग्राम पुगेको थियो। उक्त सुन अहिले राष्ट्र बैंकको संरक्षणमा छ।