काठमाडौं। सानिमा ग्रुपले स्थापना गरेको अकामा होटल लिमिटेडको व्यापारमा उछाल आएको छ। सन् २०२३ मा होटलको व्यापार ७५ प्रतिशत बढेर १७ करोड ६० लाख रुपैयाँ पुगेको छ।
२०२२ मा होटलले १० करोड रुपैयाँ आम्दानी गरेको थियो। एक वर्ष अवधिमा होटलको सञ्चालन आम्दानी ७ अर्ब ६० करोड रुपैयाँ बढेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ।
मिटिङ, कन्फरेन्स र कोठा बिक्रीबाट उक्त आम्दानी गरेको होटलले जनाएको छ। जसअनुसार मिटिङ र कन्फरेन्स बिक्रीबाट हुने आम्दानीको योगदान ६१ प्रतिशत छ।
यस्तै ३६ प्रतिशत आम्दानी कोठा बिक्रीबाट भएको छ। पर्यटक बढेका कारण होटलको अकपुेन्सी दर ३० प्रतिशत बढेको अकामाले जनाएको छ। आम्दानी बढेपछि होटलको मार्जिन पनि ३९.५३ प्रतिशत पुगेको छ। २०२२ मा १०.३३ प्रतिशत थियो।
सुरुवाती वर्ष २०२१ मा होटलको आम्दानी २ करोड रुपैयाँ थियो। होटल २०१९ देखि सञ्चालनमा आएको हो। होटलको चुक्ता पुँजी बढेर ९३ करोड रुपैयाँ पुगेको छ। यसअघि अकामाको चुक्ता पुँजी ५० करोड रुपैयाँ थियो।
होटलमा १ सय ८ काेठा छ। अकामाले १ अर्ब ३४ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ।
सानिमा ग्रुपको जलविद्युत, बैंकिङ, बिमाका साथै हस्पिटालिटी क्षेत्रमा बलियो उपस्थिति छ। अकामाका अध्यक्ष विनयकुमार श्रेष्ठ हुन्। उनी मिडिल तमोर हाइड्रोपावर लिमिटेडका पनि अध्यक्ष हुन्। अकामाको महाप्रबन्धकमा भरतकुमार जोशी छन्।
होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलोमिटर दुरीमा धुम्बाराहीमा छ। नगरकोटबाट होटल २८ किलोमिटर दुरीमा छ।
अकामा २०१४ मे ६ मा स्थापना भएको थियाे।
२०२२ जुलाइ ३ मा पब्लिक लिमिटेडमा रूपान्तरण भएको हो। होटल १.१३ एकड जमिनमा फैलिएको छ। अकामा ब्रान्डमा होटल सञ्चालनमा छ।