काठमाडौं। नेपाल आइनपुग्दै विद्युतीय सवारी (इभी) ‘स्काइवेल’ को इटी–५ १९ वटा बुकिङ भएको छ। गत भदौ २१ गतेमात्र जी मोटर्स प्रालिले स्काइवेल ब्रान्ड नेपाल भित्र्याउने घोषणा गरेको थियो।
घोषणालगत्तै इन्क्वायरी र बुकिङ सुरु भएको कम्पनीका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले बताए।
‘१७ वटा पहिल्यै बुकिङ थियो र नाडा अटो शोको पहिलो दिन दुईवटा भयो। ग्राहकको विश्वासप्रति हामी कृतज्ञ छौं र त्यो विश्वास कायम गर्न हामी सदा प्रयत्न गर्नेछौं,’ उनले क्यापिटल नेपालसगँ भने।
स्काइवेलका विद्युतीय सवारी जर्मनी, इजरायल, टर्की र रसियालगायत ४८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ।
कम्पनीले पहिलो चरणमा उच्च प्रविधियुक्त र नेपालमा उपलब्धमध्ये सर्वाधिक रेन्ज दिने स्काइवेलको विद्युतीय एसयुभी इटी–५ भित्र्याएको हो। स्काइवेल इटी–५ ले एकपटकको फुलचार्जमा ६ सय २० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ।
स्काइवेल इटी–६ मा ८५.९ किलोवाट आवर ब्याट्री प्याक छ। त्यस्तै यो एसयुभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ।
स्काइवेल इटी–५ विशेष गरी इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर इभी प्ल्याटफर्ममा बनेको हो।
यी विशेषताले यो विद्युतीय एसयुभीलाई प्रिमियम क्याटागोरी प्रदान गरेको छ। यसको टप स्पिड १ सय ६० प्रतिघन्टाभन्दा बढी छ।
यसमा प्यानारोमिक सनरुफ पनि छ। जी मोटर्सले यसको मूल्य १ करोड ९ लाख रुपैयाँ निर्धारण गरेको छ।
२०७४ मा स्थापना भएको जी मोटर्सले यसअघि नेपाली बजारमा विभिन्न ब्रान्डका सवारी स्थानीय डिलरका रूपमा बिक्री गर्दै आएको थियो।
जी मोटर्सले काठमाडौं र इटहरीमा आठभन्दा बढी शोरुमबाट २ हजार उपभोक्तालाई सेवा उपलब्ध गराइसकेको छ।