काठमाडौं। टाटाको विद्युतीय गाडी ‘टियोगो इभी २१ लाखमै पाइने भएको छ। टाटाका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टियागो इभीको बेस भेरिएन्टको मूल्य २१ लाख ९९ हजार निर्धारण गरेको हो।
नाडा अटो शोको अवसरमा सिप्रदीले टियागो इभी, नेक्सन इभी एक्स जेट प्लस र पन्च सार्वजनिक गरेको थियो। पाँच भेरिएन्ट सार्वजनिक गरेको हो।
टियागोको एमआर एक्सई र एमआर एक्सटी भेरिएन्टमा ९२.२ किलोवाट आवरको ब्याट्री दिइएको छ जसले ४५ किलोवाट पावर र ११० एनएम टर्क जेनेरेट गर्छ।
त्यस्तै टियागोको एलआर एक्सटी, एलआर एक्स जेड प्लस, एलआर एक्सजेड प्लस टेक एलयुएक्समा २४ किलोवाटको ब्याट्री दिइएको छ जसले ४९.०२ किलोवाट पावर र ११४ एनएम टर्क जेनेरेट गर्छ।
कम्पनीले टाटा टियागो एमआर एक्सईको २१ लाख ९९ हजार, एमआर एक्सटीको २२ लाख ९९ हजार, एलआर एक्सटी २५ लाख ४९ हजार, एलआर एक्स जेड प्लस २६ लाख ९९ हजार र एलआर एक्सजेड प्लस टेक एलयुएक्स २७ लाख ९९ हजार निर्धारण गरेको छ।
अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभीमा पाँचवटा मुख्य विशेषता छन। जसमा कार्य कुशलता, प्रविधि, विश्वास, चार्जिङ र आरामदायीता छन।
क्रुज कन्ट्रोलसहितको टियागो इभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्णस्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्पलगायत विशेषता छन्। यो गाडीको इन्टेरिएर आरामदायी तथा एक्स्टेरिएर आकर्षक छ।
यस्तै, अर्को गाडी नेक्सन इभी एक्स जेट प्लस को ब्याट्री क्षमता ४०.५ किलोवाट र रेन्ज ४५३ किलोमिटर छ। टियागो इभीजस्ता अत्याधुनिक जिपट्रन प्रविधि भएको यस एसयुभीको बनावट आकर्षक छ।
आरामको लागि पावर विन्डो र पूर्णस्वचालित क्लाइमेट कन्ट्रोललगायत अन्य विशेषता भएको नेक्सन इभी एक्स जेट प्लसले अन्यभन्दा उत्कृष्ट सुरक्षा प्रत्याभूति गर्छ।
सुरक्षाका लागि यसमा एन्टी–लक ब्रेकिङ सिस्टम, चाइल्ड सेफ्टी लक, ट्रयाक्सनजस्ता व्यवस्था छन्। नेक्सन इभी म्याक्स एक्स जेड प्लसको सुरुवाती मूल्य ४५.९९ लाख राखिएको छ।
त्यसैगरी, नाडा अटो शोकै अवसर पारेर सिप्रदीले टाटा पन्च पनि नेपाली बजारमा ल्याएको छ। आकर्षक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्णसुरक्षा रहेको यस गाडीले नेपाली ग्राहकको मन जित्ने कम्पनीको विश्वास छ।
टाटा पन्च हाल भारतीय बजारमा सबैभन्दा बढी बिक्री भइरहेको सब कम्प्याक्ट एसयुभीका रूपमा पनि परिचित छ।
चार भेरिएन्टमा उपलब्ध पन्चको मूल्य प्योरको ३३ लाख ९९ हजार, एड्भेन्चर म्यान्यूअल ट्रान्समिसनको ३७ लाख ४९ हजार, अकोम्प्लिस्ड म्यान्यूअल ट्रान्समिसनको ४० लाख ४९ हजार र म्यान्यूअल ट्रान्समिसनको ४३ लाख ४९ हजार निर्धारण गरिएको छ।