काठमाडौं। अमेरिकी प्रविधि कम्पनी एप्पल इंकको बहुप्रक्षित आइफोन १५ को सिरिज सार्वजनिक भएको छ। एप्पलले आधिकारिक रूपमा सबै नयाँ आइफोन १५ को सिरिज मंगलबार कम्पनीको मुख्यालय क्यालिफोर्नियाको क्युपर्टिनोमा सार्वजनिक गरेको हो।
कम्पनीले मंगलबार आइफोन १५, आईफोन १५ प्लस, आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्सका साथै एप्पल वाच सिरिज ९, एप्पल वाच अल्ट्रा २ र यूएसबी–सी चार्जिङ पनि सार्वजनिक गरेको छ। त्यस्तै एयर पोड्स प्रोको चार नयाँ मोडलहरू पनि कम्पनीले मंगलबार नै सार्वजनिक गरेको छ।
सार्वजनिक भएका आइफोनका सबै मोडेलमा कम्पनीले टाइप–सी पोर्ट प्रदान गरेको छ यूएसबी टु को तुलनामा २० गुणा तीव्र गतिमा डेटा ट्रान्सफर गर्नेछ। कम्पनीले आइफोन १४ प्रो र प्रो म्याक्स मोडेलमा मात्र उपलब्ध डाइनामिक आईल्यान्ड फिचर आईफोन १५ लाइनअपका सम्पूर्ण मोडेलमा उपलब्ध भएको छ। यी सबै मोडेल शुक्रबारदेखि एप्पलको आधिकारिक वेबसाइट र विभिन्न अनलाइन स्टोरबाट प्रि–अर्डर गर्न सकिनेछ।
आइफोन–१५ मा र आइफोन–१५ प्लसमा समान ४८ मेगापिक्सेलको मुख्य दिइएको छ। यी दुवैमा १२ मेगापिक्सेलको अल्ट्रावाइड एंगल लेन्स पनि उपलब्ध छ। आइफोन–१५ प्रोमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रावाइड एंगल र १२ मेगापिक्सेलको टेलिफोटो लेन्स हुनेछ।
यसको अर्को भेरिएन्ट आइफोन–१५ प्रो म्याक्समा ४८ मेगापिक्सेलको सोनी आइएमएक्स ९ सय ३ सेन्सर, १२ मेगापिक्सेलको अल्ट्रावाइड एंगल लेन्स र १२ मेगापिक्सेलको टेलिफोटो पेरिस्कोप लेन्स छ।
आइफोन–१५ र आइफोन–१५ प्लस मिडनाइट ब्ल्याक, स्टारलाइट ह्वाइट, रेड, लाइट ब्लु र लाइट पिंक रङमा उपलब्ध गराइएको छ भने आइफोन–१५ प्रो र प्रो म्याक्स मोडेल टाइटन ग्रे, डार्क ब्लु, सिल्भर र स्पेस ब्ल्याक रङमा अप्सन दिइएको छ।
आइफोन–१५ मा ३ हजार ८ सय ७७ एमएएच, आइफोन–१५ प्लसमा ४ हजार ९ सय १२ एमएएच, आइफोन–१५ प्रोमा ३ हजार ६ सय ५० एमएएच र आइफोन–१५ प्रो म्याक्समा ४ हजार ८ सय ५२ एमएएच क्षमताको ब्याट्री उपलब्ध छ।
एप्पलले आइफोन १५ (१२८ जीबी स्टोरेज) बेस मोडेलको सुरुवाती मूल्य ७ सय ९९ डलर (करिब १ लाख ५ हजार रुपैयाँ) तोकेको छ भने आइफोन प्लस (१२८ जीबी इन्टर्नल स्टोरेज) को सुरुवाती मूल्य ८ सय ९९ डलर (करिब एक लाख १९ हजार रुपैयाँ) तोकेको छ।
त्यस्तै आइफोन १५ प्रो (२५६ जीबी इन्टर्नल स्टोरेज) को सुरुवाती मूल्य ९ सय ९९ डलर (करिब एक लाख ३२ हजार रुपैयाँ) तोकिएको छ भने आइफोन प्रो म्याक्स (२५६ जीबी इन्टर्नल स्टोरेज)को सुरुवाती मूल्य १ हजार १ सय ९९ डलर (करिब १ लाख ५८ हजार रुपैयाँ) तोकिएको छ।
एप्पलले मंगलबार नयाँ आइफोन १५ सिरिज सार्वजनिक गरेपछि आइफोन १४ र आइफोन १४ प्लसको मूल्य घटाएको छ। गत वर्ष सेप्टेम्बरमा आइफोन १४ सिरिज बजारमा ल्याएको एप्पलले आइफोन १५ को सिरिज सार्वजनिक गरेसँगै सो को मूल्य घटाएको वेबसाइटमा देख्न सकिन्छ। कम्पनीले आइफोन १४ सिरिजको १२८ जीबीको आइफोन १४ र आइफोन १४ प्लसको मूल्यमा करिब १० हजार रुपयाँ मूल्य घटाएको छ।