काठमाडौं। टिभिएसको विद्युतीय स्कुटर आइक्युब नेपाली बजारमा भित्रिएको छ।
टिभिएसका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘नाडा अटो शो २०२३’ का अवसरमा आइक्युबलाई नेपाली बजारमा ल्याएको हो।
४.६ किलोवाट हब माउन्टेड मोटरद्वारा सञ्चालित टिभिएस आइक्युबले ७८ किलोमिटर प्रतिघनटा टप स्पिड दिनुका साथै मात्र ४.२ सेकेन्डमा शून्यदेखि ४० किलोमिटर प्रतिघन्टासम्म एक्सेलेरेसन दिन्छ।
टिभिएस आइक्युबमा कूल ३.४ किलोवाट आवर क्षमताको एडभान्सड लिथियम–आयन रसायनको दुई ब्याट्री प्याक छन्।
यो एक इन्टेलिजेन्ट इन–हाउस बिएमएस (ब्याट्री व्यवस्थापन प्रणाली) सँग आउँछ जसले सिंगल चार्जमा १ सय किलोमिटर रेन्ज प्रदान गर्छ। ४.५ घन्टामा ०–८० प्रतिशतसम्म चार्जिङ टाइम रहेको टिभिएस आइक्युब ६ सय ५० वाट पोर्टेबल क्यारी चार्जरका साथ आउँछ।
साथै, कुनै पनि ५ यम्पियर घरेलु सकेटका साथ प्रयोग गर्न सकिने यस स्कुटरको ब्याट्री घरमै चार्ज गर्न धेरै किफायती हुनेछ। पावर र इको मोडले राइडरलाई रेन्ज अथवा परफर्मेन्स रोज्ने विकल्प प्रदान गर्छ। रियरमा हाइड्रोलिक ट्वीन ट्युब सक एब्जर्बर र अगाडि टेलिस्कोपिक सस्पेन्सनले कुनै पनि भूभागमा सन्तुलन सुनिश्चित गर्ने कम्पनीको भनाइ छ ।
पाँच आकर्षक रङमा उपलब्ध आइक्युबमा भिजिबिलिटी र सुरक्षाका लागि एलइडी हेडल्याम्पहरू डिजाइन गरिएका छन्। सहज ५–वे जोइस्टिकका साथमा ७ इन्चको टिएफटी क्लस्टरले इन्ट¥याकसन, म्युजिक कन्ट्रोल, थिम परसनलाइजेसनलगायत सुविधाहरु प्रदान गरेको छ।
३२ लिटरको अन्डर सिट स्टोरेज, फराकिलो फ्लोरबोर्ड र ब्यागेज हुकले यात्रामा पर्याप्त सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ।
यसमा टिभिएस स्मार्ट एक्स कनेक्ट प्लेटफर्ममा नेभिगेसन प्रणाली, टेलिमेटिक्स युनिट, एन्टी–थेफ्ट, जियोफेन्सिङ सुविधा, क्र्यास÷फल अलर्ट जस्ता सुविधा छन्। कुनै पनि स्मार्ट फोनलाई टिभिएस आइक्युब एपसँग कनेक्ट गरेर स्कुटरको ब्याट्री स्टाटस, र अन्य अवस्था जाँच गर्नुका साथै म्युजिक कन्ट्रोलको सुविधा पनि छ। एलेक्सा स्किलसेटमार्फत जानकारी लिन भ्वाइस एसिस्टको प्रयोग गर्न सकिन्छ। प्लेटफर्मले ड्यासबोर्डमा दिइएका एक्टिभ समयमै सर्भिस अलर्टले सवारीसाधन अवस्थाबारे जानकारी दिन्छ।
यस स्कुटरले आगमन कल र एसएमएस अलर्टमात्र होइन, सामाजिक सञ्जालका एपका नोटिफिकेसनसमेत दिन्छ। कम्पनीले यसको मूल्य पहिलो १ हजार ग्राहकका लागि .४ लाख २९ हजार ९ सय निर्धारण गरेको छ।
टिभिएस मोटर्स सँधै नयाँ प्रविधिहरू अपनाउन अगाडि रहँदै आएकाले अटोमोबाइल उद्योगमा नयाँ बेन्चमार्क खडा गर्न सकिएको टिभिएस मोटर कम्पनीका डिरेक्टर र सिइओ केएन राधाकृष्णनले बताए।
‘टिभिएस मोटर्सले विद्युतीय सवारीसाधनको प्रविधिमा १० वर्षभन्दा बढी समयदेखि लगानी गर्दै आएको छ र नेपालमा विद्युतीय दुईपांग्रे सवारीसाधन (स्कुटर) लन्च गर्ने भारतबाट पहिलो ओइएम भएकोमा हामी गर्व गर्दछौं। टिभिएस नेपालको अग्रणी कम्पनी हो। हामीले हाम्रो पोर्टफोलियोमा इभीहरू थपेर नेपालमा हाम्रो नेतृत्वको स्थितिलाई अझ बलियो बनाउने लक्ष्य राखेका छौं। जगदम्बा मोटर्स प्रालिले टिभिएस आइक्युबका ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्नेछ,’ उनले भने।
नेपालमा टिभिएस आइक्युब लन्च गर्न पाउँदा कम्पनी निकै उत्साहित भएको टिभिएस मोटर कम्पनीका इलेक्ट्रिक भेहिकलका सिनियर भाइस प्रेसिडेन्ट मनु सक्सेनाले बताए।
‘विभिन्न स्कुटर ग्राहकसँग हाम्रो विगतको अन्तरक्रियाका क्रममा टिभिएसजस्ता विश्वसनीय ब्रान्डबाट स्मार्ट प्रिमियम इलेक्ट्रिक स्कुटर आवश्यकतालाई हाइलाइट गरिएको थियो र हामी अहिले त्यो आवश्यकता पूरा गर्न पाउँदा अत्यन्तै उत्साहित छौं,’ उनले भने।